जुम्ला । कर्णालीको दुःख, संघर्ष, अभाव र यहाँका नागरिकको दैनिक जीवनलाई मार्मिक ढंगले चित्रण गरिएको ‘कर्णाली तिर’ बोलको गीत सार्वजनिक भएको छ। गायक अर्जुन सुनार र समाना घतानेको स्वर रहेको उक्त गीत शनिबार औपचारिक रूपमा विमोचन गरिएको हो।
गीतले कर्णालीका गाउँबस्तीमा अझै पनि देखिने गरिबी, बेरोजगारी, विकासको असमान पहुँच तथा राम्रो भविष्यको खोजीमा घर छोड्न बाध्य युवाको कथा प्रस्तुत गरेको छ। गीतमार्फत कर्णालीको वास्तविक अवस्था र त्यहाँका नागरिकको भावना उजागर गर्ने प्रयास गरिएको छ।
गीतमा रविन भुसालको शब्द तथा संगीत रहेको छ भने पृष्ठभूमि स्वरमा रविन भुसाल र महेन्द्र विकको साथ रहेको छ। संगीत संयोजन पूर्ण सम्योगले गरेका छन्। तुलसी विश्वकर्माले भ्वाइस डबिङ, एचबीएन किस्मतले मिक्सिङ, मास्टरिङ तथा रेकर्डिङको काम गरेका छन्।
“कथाकार राजेश विश्वकर्माले कर्णालीका नागरिकले भोग्दै आएका दुःख, संघर्ष, अभाव र आशाका कथालाई ‘कर्णाली तिर’ मार्फत जीवन्त रूपमा प्रस्तुत गरेका छन्। उनको कथाले कर्णालीको सामाजिक यथार्थ, रोजगारीको खोजीमा हुने बसाइँसराइ तथा विकासको पर्खाइमा रहेका गाउँबस्तीको अवस्था उजागर गरेको छ। गीतको कथा मार्फत कर्णालीको मौलिक जीवनशैली र जनभावनालाई सशक्त रूपमा अभिव्यक्त गर्ने प्रयास गरिएको छ।”
गीतको भिडियोमा अर्जुन सुनार र राज्य लक्ष्मी नेपालीको मुख्य अभिनय रहेको छ। अतिथि कलाकारका रूपमा टिकाराम सुनार र कालिबहादुर सार्की तथा बाल कलाकार रोशनी सुनारको अभिनय रहेको छ । भिडियोको छायांकन प्रकाश विश्वकर्माले गरेका हुन् भने ड्रोन दृश्य प्रकाश उपाध्यायले खिचेका छन्।
गीत बिमिचन कार्यक्रममा सञ्चारकर्मी, साहित्यकार, सामाजिक अगुवा तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले ‘कर्णाली तिर’लाई साधारण सांगीतिक कृति भन्दा पनि कर्णालीको जनजीवन, संघर्ष र यथार्थलाई उजागर गर्ने सशक्त सिर्जनाका रूपमा व्याख्या गरेका थिए। उनीहरूका अनुसार यसले कर्णालीका नागरिकका आवाज, भावना र भोगाइलाई कलात्मक माध्यमबाट प्रस्तुत गरेको छ।



