जुम्ला । जुम्लामा आर्थिक गणना २०८२ को तथ्यांक संकलन लक्ष्य भन्दा बढी भएको छ । वैशाख २ गतेबाट संचालन भई असार ७ गतेसम्म संचालन हुने गणना अन्तर्गत जुम्लामा लक्ष्य भन्दा बढी तथ्यांक संकलन गरिएको हो ।
जिल्ला आर्थिक गणना कार्यालय जुम्ला तथ्यांक संकलनमा देशभरका ८४ वटा कार्यालय मध्यमै उत्कृष्ट समेत सावित भएको छ । कार्यालय प्रमुख दिपेन्द्रसिंह धामीको प्रत्यक्ष निगरानीमा जिल्लामा १८ गणक र ३ जना सुपरिवेक्षण निरन्तर फिल्डमै खटिएका छन । जसका कारण देशभरमै पहिलो बन्दै लक्ष्य भन्दा बढी तथ्यांक संकलन गरिएको छ।
जुम्लामा आर्थिक गणनाका २०८२ का लागि कुल ४ हजार ४११ आर्थिक प्रतिष्ठानहरुको विवरण संकलन गर्न लक्ष्य तोकिएको थियो । आर्थिक गणना सुरु भएको मितिले जेठ २४ गते सम्मको तथ्यांकअनुसार ११४ प्रतिशत लक्ष्य पूरा भएको जिल्ला आर्थिक गणना कार्यालय प्रमुख दिपेन्द्र सिंह धामीले बताए ।
उनका अनुसार २०७५ को आर्थिक गणनाको लक्ष्य जुम्लामा एक हजारले बृद्वी गरिदिएपनि निरन्तर खटाईले लक्ष्यभन्दा तथ्यांक संकलन भएको बताउँछन् । २०७५ को आर्थिक गणनामा जुम्लामा ३ हजार ७८ वटा आर्थिक प्रतिष्ठानको लक्ष्य दिइएको थियो । यदपी हालको जस्तो प्रगति हुन सकेन्।

जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रसिंह धामीका अनुसार तोकिएको कुल ४ हजार ४११ आर्थिक प्रतिष्ठानको लक्ष्यमा सोमवार सम्म ४ हजार ४१६ वटा प्रतिष्ठानको विवरण संकलन भईसकेको छ ।
आगामी असार ७ गतेसम्म संचालन हुने आर्थिक गणनाको समय सकिनै लाग्दा जुम्लामा लक्ष्य पुरा भईसकेको छ । अझै केही पालिकामा गणकहरु परिचालित छन ।
‘२०७५ सालको आर्थिक गणनाको तुलनामा यसपालीको गणनामा जुम्लामा लक्ष्यनै बढाएर दिइएको छ’,उनले भने‘२०७५ को आर्थिक गणनामा जुम्लामा ३ हजार ७८ प्रतिष्ठानको विवरण संकलन गर्ने लक्ष्य तोकिएको थियो । अहिले बढाएर लक्ष्य ४४ सय ११ पुराइएको छ । तर छोटो समयमा जुम्लामा व्यापार व्यवसाय, साना उद्योग कलकारखाना तथा आर्थिक प्रतिष्ठानहरु बढेको तथ्यांकले देखाउँछ ।’
पलिकागत रुपमा तथ्यांक हेर्दा सबैभन्द बढी आर्थिक प्रतिष्ठान चन्दननाथ नगरपालिकामा रहेका छन् । चन्दननाथमा रहेका १६ सय ४८ आर्थिक प्रतिष्ठानमध्य १४सय ८५प्रतिष्ठानको विवरण संकलन भईसकेको छ । भने तातोपानीका ३५९ प्रतिष्ठान मध्य ३३४ प्रतिष्ठानको विवरण संकलन हुदाँ कनकासून्दरीका ५५९ आर्थिक प्रतिष्ठान मध्य ४१४ प्रतिष्ठानको विवरण संकलन भईसकेको छ ।
तिलार सिंजा गाउँपालिकामा भने निर्धारित लक्ष्य भन्दा बढी आर्थिक प्रतिष्ठानको विवरण संकलन भएको छ । तिलामा ४७८ को लक्ष्य दिइएकोमा विवरण संकलन ५५७ प्रतिष्ठानको गरिएको छ । तिलामा लक्ष्यभन्दा बढी ७८ प्रतिष्ठान थपिएका छन् । सिंजामा ३८६ लक्ष्य दिइएकोमा विवरण संकलन ४२५ आर्थिक प्रतिष्ठान गरिएको छ ।

पातारासीमा ४३१ प्रतिष्ठान मध्य ३४३ वटा आर्थिक प्रतिष्ठान, हिमाका २९५ प्रतिष्ठानमध्य २६३, गुठिचौर ३०३ प्रतिष्ठानमध्य ११४ आर्थिक प्रतिष्ठानको विवरण संकलन भईसकेको छ ।
विगतको तुलनामा तथ्य र वास्तविक विवरण संकलनका लागि गणक तथा सर्वेक्षकलाई फिल्डमै खटाइएको छ । जुम्लाको व्यापारिक तथा आर्थिक गतिविधिको ठोस मार्गचित्र गणनाबाटै निस्कने भएकाले यसलाई तथ्यपरक बनाउन गम्भीर रुपमा तथ्यांक संकलन भईरहेको प्रमुख धामीको भनाई छ । गणक तथा सर्वेक्षक सहित २० जना बढी जनशक्ति फिल्डमा खटिएका छन् । बाँकी रहेका तथ्यांक संकलन स्थलमा गणक तथा सर्वेक्षक पुगी सकेका छन् । समय अगावै लक्ष्य पूरा गरेपनि असार ७ गते सम्म सकेजति आर्थिक प्रतिष्ठानको तथ्यांक संलनको काम निन्तर चलिहेकोछ ।



