जुम्ला । जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले शिक्षा तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
जिल्लाबाट माध्यमिक तहका उत्कृष्ट शिक्षकका रूपमा छनोट भई कर्णाली प्रदेश सरकारद्वारा उत्कृष्ट शिक्षक पुरस्कारबाट सम्मानित ऋणमोक्ष माध्यमिक विद्यालय, पातारासी गाउँपालिका–डिल्लीचौरका शिक्षक हरिबहादुर बुढालाई स्ववियुले सम्मान तथा शुभकामना प्रदान गरेको हो।
त्यसैगरी, टिम नेपाल यू–२० का कप्तान तथा जुम्लाका प्रतिभाशाली खेलाडी धर्मेन्द्र कुँवरलाई पनि विशेष सम्मान गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेशस्तरीय प्रथम मेयर कपमा सहभागी भई जिल्लाको प्रतिनिधित्व गरेका जुम्लाका खेलाडीहरूलाई समेत हौसला र उत्साह प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको स्ववियुले जनाएको छ।
कार्यक्रममा बोल्दै स्ववियु पदाधिकारीहरूले शिक्षा र खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिहरूले समाजका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतिभाहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सम्मानित व्यक्तित्वहरूले प्राप्त सम्मानले अझ जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्।



