मुगु, ५ असार
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. १० मा रहेका दुर्गम बस्तीका दुई विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री (स्टेसनरी) वितरण गरिएको छ । सामाजिक क्षेत्रमा सक्रिय अक्कल कोपिला फाउन्डेसनले शुक्रबार एक विशेष कार्यक्रमका बीच विद्यार्थीहरूकै विद्यालयमा पुगेर सामग्री हस्तान्तरण गरेको हो ।
फाउन्डेसनले छायाँनाथ रारा नगरपालिका वडा नं. १० गाँडापानीमा रहेको श्री धर्मोदय आधारभूत विद्यालयका ६८ जना र सोही वडाको तल्लेकस्थित बाल कल्याण आधारभूत विद्यालयका ७५ जना गरी जम्मा १४३ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
दुर्गमका विद्यार्थीलाई घरदैलोमै राहत
जिल्ला सदरमुकाम गमगढीबाट निकै टाढा र भौगोलिक रूपमा विकट मानिने यी बस्तीका विद्यालयहरूमा फाउन्डेसनका प्रतिनिधिहरू आफैँ पुगेर सामग्री बाँडेका थिए । सदरमुकामबाट टाढा रहेका कारण यहाँका बालबालिकाहरू सहज रूपमा कापी, कलम जस्ता आधारभूत शैक्षिक सामग्री पाउनबाट वञ्चित हुने गरेका थिए । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमै आएर शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका छन् ।

अभिभावक र शिक्षकमा खुसीयाली
लामो र कठिन बाटो छिचोल्दै फाउन्डेसनका प्रतिनिधिहरू शैक्षिक सामग्री बोकेर गाउँमै पुगेपछि स्थानीय अभिभावकहरूले खुसी व्यक्त गरेका छन् । आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई यसले ठूलो राहत मिलेको स्थानीय अभिभावकहरूको भनाइ छ ।
सामग्री बुझ्दै धर्मोदय आधारभूत विद्यालयका एक शिक्षकले भने, “हाम्रो भूगोल सदरमुकामबाट निकै टाढा छ । यहाँका धेरै बालबालिका कापी-कलमको अभावमा नियमित विद्यालय आउन गाह्रो मानिरहेका हुन्थे । फाउन्डेसनले विद्यालयमै आएर सहयोग गरिदिँदा बालबालिकाको पढाइमा ठूलो सहयोग पुग्नेछ ।”

भौगोलिक रूपमा दुर्गम र पछाडि परेका क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच पुर्याउने र उनीहरूको हौसला बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको फाउन्डेसनले जनाएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।



