जुम्ला – गुठीचौर गाउँपालिका – ५ नम्बर वडालाई पोषणमैत्री घोषणा गर्नु पुर्व अन्तिम अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको संयोजनकत्वमा रहेको समितिले पोषणमैत्री वडा घोषणा पुर्व अनुगमन गरेको हो ।
स्वास्थ्य संस्था, शिक्षा, महिला बालबालिका, खानेपानी सरसफाई, कृषि विकास, पशुपक्ष विकास र शासकिय प्रवन्धलगायत क्षेत्रगत सुचक पुरा भए नभएको समितिले अनुगमन गरेको छ ।

पोषणमैत्री सुचक पुरा भए नभएको गाउँपालिकाको कार्यालय, वडापालिका, विद्यालय, स्वास्थ्य संस्था र समुदाय स्तरमा पनि अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बताए । उनले भने, धेरैजसो सुचक ९६ प्रतिशत भन्दा माथि रहेको देखिएको छ ।

स्थानीय स्तरमा उत्पादन हुने पोषण रैथाने बाली र बालअधिकारको विषय स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने अवस्था देखिएको जिल्ला समन्वय अधिकारी रोमबहादुर महतले बताए । उनले भने, यो विषय स्थानीय पाठ्यक्रममा समाबेश गर्ने सुझाएका छौँ । सामाजिक विकासमा क्षेत्रमा न्युन बजेट तथा कार्यक्रम देखिएकोले आगामी आर्थिक वर्षमा क्षेत्रमा पनि बजेट विनियोजन बृद्धि गर्न सुझाएका छौँ, उनले भने । सामाजिक विकास पनि समाजको महत्वपूर्ण पाटो हो ।

पोषणमैत्री वडा घोषणा पुर्व गाउँपालिकाको स्तरबाट र जिल्ला समितिको स्तरबाट पनि अन्तिम अनुगमन भएको छ । सवै सुचक ९६ प्रतिशत भन्दा माथि पुरा भएका छन् । अब निकट भविश्यमै यो ५ नम्बर वडालाई पोषणमैत्री वडा घोषणा गर्ने तयारी गरिएको वडाध्यक्ष कमलबहादुर महतले बताए ।
जिसस, प्रमुख गौरीनन्द आचार्य, उपप्रमुख जनक थकाली, समन्वय अधिकारी रोमबहादुर महत, गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, उपाध्यक्ष शान्ति मल्ल भण्डारी, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा, गैसस अध्यक्ष टेकबहादुर रावत, पत्रकार महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाई, महिला बालबालिका शाख प्रमुख सुस्मिता थापा, पोषण शाखा प्रमुख जग्गीप्रसाद धिताललगायतका व्यक्तिले पोषणमैत्री वडा घोषणा पुर्व अनुगमन गरेका छन् । यस अघि गुठीचौर गाउँपालिका – ४ नम्बर वडा बालमैत्री स्थानीय शासन वडा घोषणा भईसकेको महिला बालबालिका शाखाले जनाएको छ ।
२३ वडा बालविवाह मुक्त
जिल्लाका ८ स्थानीय तहका ६० वडामध्ये २३ वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । हिमा गाउँपालिका (१–७), कनकासुन्दरी – १, २, ३, ४, ५, पातारासी–५, तिला–४, ५, ६, ८, गुठीचौर–४, तातोपानी – ५ र सिंजा–२, ३, ४, ६ नम्बर वडा बालविवाहमुक्त घोषणा भएका छन् । गुठीचौर – ४, पातारासी – ५, तिला – ६ र ८, तातोपानी – ५ नम्बर वडा बालमैत्री तथा पोषणमैत्री घोषणासमेत भएका छन् ।
स्थानीय तहसँगको सहकार्यमा प्लान ईन्टरनेशनल नेपाल, वल्र्डभिजन, क्याड, पेस नेपाल, किर्डाक, सर्बाेदय नेपाल, क्याक्मालगायतका संघ संस्थाले बालविवाह न्यूनिकरणका क्षेत्रमा काम गर्दै आएका छन् । नेपालको मुलुकी देवानी सँहिता २०७४ अनुसार बिवाह गर्न उमेर २० बर्ष पुगेको हुनु पर्दछ । २० बर्षभन्दा कम उमेरमा गरिएको बिवाहलाई बालविवाह मानिन्छ । सोही कानून अनुसार बालविवाह गर्ने गराउनेलाई ३ बर्ष कैद र तीस हजार रुपैया जरिवानाको ब्यवस्था कानुनमा उल्लेख गरिएको छ ।



