जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।


मंगलबार साँझ करिब ५:३५ बजे एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय अन्दाजी १८/१९ वर्षीय रबिन्द्र रावतको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


उक्त घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र अन्दाजी ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको जनाइएको छ।


चट्याङका कारण केही भेडा–बाख्रा पनि मरेको प्रारम्भिक जानकारी प्राप्त भएको भए पनि कति संख्या मरेका हुन् भन्ने यकिन हुन सकेको छैन।


घटनाबारे स्थानीय रंगबहादुर रोकायाले साँझ करिब ८:३० बजे प्रहरी चौकी बड्की, जुम्लामा जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस