जुम्लामा लागुऔषध सेवन गरेको आशंकामा ५ सवारी चालक पक्राउ, अनुसन्धान सुरु

जुम्ला — जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध सेवन नियन्त्रण अभियानअन्तर्गत सवारी चालकहरूको परीक्षण गर्दा पाँच जना चालकमा लागुऔषध सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार मिति २०८३ असार १८ गते दिउँसो ४:०० बजे चन्दननाथ नगरपालिका–७ महतगाउँ नजिक कर्णाली राजमार्गमा जिल्ला प्रहरी कार्यालय जुम्ला र जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले संयुक्त रूपमा सवारी चालकहरूको लागुऔषध सेवन परीक्षण गरेको थियो। प्रहरी निरीक्षक निर्देश बरालको कमाण्डमा खटिएको १६ सदस्यीय टोलीले किटमार्फत परीक्षण गर्दा पाँच जना चालकमा नतिजा पोजिटिभ देखिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका चालकहरूलाई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ। मिति २०८३ असार १९ गते जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गरी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेकामध्ये चन्दननाथ नगरपालिका–१० का बिर्ख विक, सम्पूर्ण नेपाली, दीपक बुढा, एकराज बुढा तथा तातोपानी गाउँपालिका–५ का लालचन्द्र परियार रहेका छन्।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस