जुम्ला । डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–५ अन्तर्गत पर्ने गैरीगाउँ (दलित बस्ती) नजिकको धुलाखोला तथा आसपासका खोल्सामा आइतबार बिहान निरन्तर वर्षापछि आएको लेदोसहितको भीषण बाढीले जनधनमा ठूलो क्षति पुर्याएको छ। आकस्मिक बाढी बस्तीमा पसेपछि एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायक निरीक्षक अनिल राजगिरीका अनुसार बाढीले केही घर, गोठ तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको छ। बाढीको बहावले बस्तीमा आतंक मच्चाउँदा स्थानीयवासी त्रसित भएका छन् भने प्रभावित परिवारहरू सुरक्षित स्थानतर्फ सरेका छन्।

बाढीमा गम्भीर घाइते भएकी जगदुल्ला गाउँपालिका–५ की ४४ वर्षीया रेउली विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार विकको शरीरको तल्लो भागमा गम्भीर चोट लागेको छ। गृहमन्त्रालयसँग समन्वय गरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएकी उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।

आइतबार बिहान धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी गाउँमा पसेपछि रेउली विकसहित ६ जना घाइते भएका थिए। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार गरिएको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल पठाइएको हो।
प्रहरी नायक निरीक्षक अनिल राजगिरीका अनुसार घटनालगत्तै नेपाल प्रहरी, स्थानीयवासी तथा अन्य सुरक्षा निकाय उद्धार र राहत कार्यमा परिचालित भएका छन्। प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन, राहत वितरण तथा पुनःस्थापनाको तयारीसमेत भइरहेको छ।




