मुगु । मनसुन सक्रिय भएर वर्षात सुरु भएसँगै मुगुको लाइफलाइन मानिने नाग्म–गमगढी सडकको यात्रा फेरी कष्टकर हुन थालेको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर ८ स्थित झ्m्यारी खोलादेखि ताल्च विमानस्थलसम्मको सडकखण्ड पूर्ण रूपमा हिलाम्मे बनेपछि यात्रा कष्टकर बनेको हो ।
वर्षात सुरु भएसंगै यो खण्डमा भएको हिलाम्मे सडकका कारण यात्रुहरूले चरम सास्ती भोग्नुपरेको छ । मालबाहक तथा यात्रु बाहक सवारी लगातारको वर्षाका कारण सडकमा ठूला–ठूला खाल्डाखुल्दी परेपछि फसेका छन् । त्यस्तै काठमाडौँ नेपालगञ्ज बुटवल र विभिन्न जिल्लाबाट मुगु रारा ताल घुम्न आउने साना तथा ठूला सवारी साधनहरू हिलोमा भासिँदा सडकमै घण्टौंसम्म जाम हुने गरेको छ ।
गाडीहरू हिलोबाट निस्कन नसकेपछि कर्णाली प्रदेशकै पर्यटकीय मुगुको राराताल हेर्ने आउने आन्तरिक बाह्य तथा विदेशी पर्यटकहरू सँगै वृद्धवृद्धा, बालबालिका र बिरामी यात्रुहरू बीच बाटोमै अलपत्र परेने गरेका छन ।

ताल्चा विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुहरू र गमगढी बजार आउजाउ गर्ने सर्वसाधारणको बिचल्ली भएको छ । हरेक वर्ष असार महिनामा बजेट सक्ने उद्देश्यले हतार–हतार सडक मर्मत र ‘असाढे विकास’का कामहरू बालुवामा पानी हालेजस्तै हुने गरेको यात्रुहरुको गुनासो छ ।
सडकको दुरावस्था सुधार गर्न बजेट विनियोजन भए पनि अपेक्षाकृत रुपमा सडकको सुधार हुन नसकेको पनि उत्तिकै गुनासो बढ्दै गएको छ । साथै वर्खामा उक्त सडक खण्डमा यात्रा गर्ने पर्यटक देखी स्थानीय यात्रुले सडक सुधार नहुँदा सडक डिभिजन कार्यालय जुम्लाप्रति समेत आक्रोस पोखीरहेका छन् । दैनिक रूपमा यात्रुहरूले सास्ती खेप्दा र गाडीहरू हिलोमा फसिरहँदा पनि सडक डिभिजन कार्यालयले सडक सुचारु गर्न वा हिलो पन्छाउन कुनै चासो नदेखाएको गुनासो छ ।




