जुम्ला । जुम्लाका विभिन्न रमणीय तथा पर्यटकीय क्षेत्रमा छायांकन गरिएको नयाँ नेपाली देउडा गीत ‘तेरै माया लाउछ’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक विशोराज खत्री र इस्बल सञ्ज्यालको स्वरमा रहेको उक्त गीत आज शनिबार ‘Bishoraj Official’ नामक आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
जुम्लाको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति तथा स्थानीय परिवेशलाई समेटेर तयार पारिएको म्युजिक भिडियोमा यहाँका विभिन्न रमणीय दृश्यहरू प्रस्तुत गरिएको छ। देउडा संगीतको मौलिकता र जुम्लाको प्राकृतिक सुन्दरतालाई भिडियोमार्फत एकसाथ देखाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
नवराज भण्डारीको शब्द रहेको गीतमा विश्वराज खत्रीको संगीत, रमेश सेन्चुरीको संगीत संयोजन तथा कुमार रामाको मिक्सिङ/मास्टरिङ रहेको छ। गीतको रेकर्डिङ मरुनी स्टुडियोमा गरिएको हो।
म्युजिक भिडियोको निर्देशन तथा छायांकन दिनेश ठकुल्लाले गरेका छन्। जुम्लामै छायांकन गरिएको भिडियोमा राजेश बिशोकर्मा, मदन महत, रूपा बुढा र राधिका खत्रीको अभिनय रहेको छ। भिडियोको छायांकन अमृत उपाध्यायले गरेका हुन्।
त्यस्तै, भिडियोमा मेनुका साउदको मेकअप रहेको छ भने अनिल बिष्ट प्युठानीले सम्पादन तथा कलरको काम गरेका छन्। गीत तथा भिडियो विशोराज खत्रीको प्रस्तुतिमा तयार भएको हो।
प्रेमभावलाई मुख्य विषय बनाइएको ‘तेरै माया लाउछ’ गीतमा देउडा संगीतको मौलिक स्वादसँगै आधुनिक प्रस्तुतिको संयोजन गरिएको छ। पछिल्लो समय देउडा गीत–संगीतप्रति नयाँ पुस्ताको आकर्षण बढिरहेका बेला जुम्लाको मौलिक परिवेश र प्राकृतिक सौन्दर्यलाई समेटेर गीतको भिडियो तयार पारिएको निर्माण पक्षले जनाएको छ।
जुम्लामा छायांकन गरिएका गीत तथा म्युजिक भिडियोले स्थानीय कला, संस्कृति, पर्यटन र प्राकृतिक सौन्दर्यलाई देश–विदेशसम्म चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यही उद्देश्यले ‘तेरै माया लाउछ’को भिडियोमा जुम्लाका आकर्षक दृश्य तथा स्थानीय परिवेशलाई प्राथमिकता दिइएको निर्माण पक्षको भनाइ छ।
आज शनिबार सार्वजनिक भएको गीतको म्युजिक भिडियो Bishoraj Official युट्युब च्यानलमा हेर्न सकिनेछ। निर्माण पक्षले आधिकारिक युट्युब च्यानलबाट गीत तथा भिडियो हेरेर माया, साथ र प्रतिक्रिया दिन दर्शक तथा श्रोतासँग आग्रह गरेको छ।
साथै, निर्माण पक्षले म्युजिक भिडियो डाउनलोड गरी अन्य युट्युब च्यानल, फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमा पुनःअपलोड नगर्न आग्रह गरेको छ। अनुमति बिना गीत तथा भिडियो प्रतिलिपि वा पुनःप्रकाशन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ।




