निर्वाचनमा बालबालिका प्रयोग नगर्ने राजनीतिक दलहरुको प्रतिबद्धता

आगामी हुने निर्वाचनमा बालबालिका प्रयोग नगर्ने जुम्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले प्रतिबद्धता जनाउका छन् । इन्सेकसहित ४० सामाजिक संघ संस्था आवद्ध रहेको बाल अधिकारका लागि साझा अभियान, कर्णाली प्रदेशले आयोजना गरेको निर्वाचन आचारसंहिता, बालअधिकार संरक्षण, प्रर्वद्वनका लागि राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि बीच अन्तरक्रियात्मक छलफल कार्यक्रम यस्तो प्रतिवद्धता जनाएका हुन् ।


नेपाली कम्यूनिष्ट पार्टीकी केन्द्रीय सदस्य पुर्वराज्य मन्त्री गोमा गौतम कुवँर अनुसार नियतले बालबालिका प्रयोग भएको पाईदैनन् । तर छिटपुट रुपमा यस्ता घटना भएका पनि हुनसक्छन् । तर बालबालिकालाई निर्वाचनमा प्रयोग गर्नु हुदैन भनेर हामी राजनीतिक दल प्रतिवद्ध छौँ । उनले भनिन्, ०६४ साल देखिका निर्वाचनमा सहभागी हुदैँ आएको छु । पहिला निर्वाचन भन्दा पछिल्ला निर्वाचनमा बालबालिका न्युन रुपमा प्रयोग भएका देखिन्छन् । विगत भन्दा धेरै रुपान्तन्ण भएको देखिन्छ ।

बालबालिकालाई असर पर्ने गरी निर्वाचन होस वा अरु बेलामा पनि राजनीतिक क्रियाकलापमा नगर्ने प्रतिवद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाका सभापति मक्कर बहादुर भण्डारीले बताए ।


निर्वाचनमा बालबालिका प्रयोग नगर्नेमा हामी प्रतिवद्ध रहेको नेपाली काँग्रेस पार्टी जुम्लाका प्रवक्ता मेघराज गिरीले बताए । उनले भने, कतिपय घटनाहरु पनि देखिन्छन् । तर बालबालिकाले पनि निर्वाचनका सामग्री खेलौँनाको रुपमा प्रयोग गरेको फोटो भिडियो सामाजिक सञ्चालनमा देख्न सकिन्छ । यसमा कानुन र आचारसंहिता पालना गर्न लगाउने निकाय भने बलियो हुनु पर्दछ ।


निर्वाचनमा बालबालिका प्रयोग गर्ने कानुन र आचारसंहिता भएपनि पालना गराउने निकाय कमजोर भएको महसुस हुने गरेको नेकपा एमाले पार्टीका प्रतिनिधि धिरज जैसीले बताए । उनले भने देश नै बालबालिका प्रयोग गरेर जलाएको कुरा सुनिन्छ । तर त्यसको नियामक निकायले कार्यन्वयन गरेको देखिदैन । हाम्रो दल निर्वाचनमा बालबालिका प्रयोग नगर्ने विषयमा प्रतिवद्ध छ ।


बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टिकाराम आचार्यले निर्वाचन वा अरु राजनीतिक दलहरुको प्रयोजनका लागि बालबालिका प्रयोग गर्न नहुने बताए । उनले भने, यस राजनीतिक दल सचेत हुनु नै पर्दछ । अझ यो क्षेत्रमा काम गर्ने नागरिक समाज, सामाजिक संघ संस्था सक्रिय हुने र नियमन गर्ने निकायलाई खबरदारी गर्नु पर्दछ ।


निर्वाचनमा आचारसंहिता पालना गराउने र कार्यन्वयन गर्ने गराउने विषयमा निर्वाचन आयोग प्रतिवद्ध रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र कडेलले बताए । उनले भने, यसमा आयोगको स्रोत साधन जनशक्तिले भ्याएसम्म काम गरेका छौँ । निर्वाचन बालबालिका प्रयोग गर्ने उम्मेदवार र सम्वन्धित राजनीतिक दललाई सचेत गर्ने काम यस अघिका निर्वाचनमा भएका छन् ।


बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका निर्देशक टेकराज आचार्यले सहजीकरण गरेको अन्तरक्रियात्मक कार्यक्रममा बाल अधिकार राष्ट्रिय अन्र्तराष्ट्रिय दस्तावेज, कानुन, सन्धी महासन्धी, निर्वाचन आचारसंहिताको विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस