मौलिक परम्परा जोगाउन लाम्रा संवाद गाउँगाउँका कुडा


मानदत्त रावल, जुम्ला ः कर्णाली क्षेत्रको विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो । लोपउन्मुख यहाँको फरक फरक रितिरिवाज र परम्परालाई संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाई गर्नका लागि लाम्रा संवाद ः गाउँगाउँका कुडा कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।
तातोपानी गाउँपालिका – ५ लाम्रा गाउँका अगुवा नागरिकले लाम्रा संवाद ः गाउँगाउँका कुडा कार्यक्रम कार्तिक १६, १७ र १८ गतेसम्म लाम्रा गाउँमा सञ्चालन हुने संयोजक नन्दप्रसाद चौलागाईले बताए । उनले भने यहाँको इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हुनाले भौगोलिक, सामाजिक र राजनीतिक रुपमा सदियौंसम्म अलग्गिए पनि यहाँका हरेक दरा र खोलाका बस्तीहरुमा सामान्य जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रकृयाहरु विकसित भएको पाइन्छ । यहाँ एककोश हिंड्दा भाषिका र चारकोश हिड्दा फरक रितिरिवाज भेटिन्छ । यी सबैको प्रवर्द्धनका लागि पनि लाम्रा संवादको निरन्तरता जरुरी छ ।’
आफ्नो इतिहासमा गर्व गर्न नसक्ने समाजको पहिचान संकटमा पर्ने भएको हुनाले ज्ञानको पुस्तान्तरण सही ढंगले नहुँदा मौलिकता हराउने, बिर्सिइने वा बिग्रिने सम्भावना बढी भएकाले पनि लाम्रा संवाद जरुरी भएको पहिलो संस्करणका संयोजक धनप्रसाद चौलागाईले बताए ।
हाम्रो अनुभव साट्ने आधिकारिक परिपाटी निर्माण भएको छैन । पुरानो र नयाँ पुस्ता बीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धतिमार्फत अभिलेखीकरण गर्न सकिन्छ,’ उनले भने, यसको पहल स्थानीय तवरबाटै गर्न सके अझ प्रभावकारी हुने तथ्यलाई मनन गर्दै सकारात्मक सन्दर्भ र विषयहरुको चर्चा र बहसमार्फत यस्ता विशेषताको उजागर गर्ने उद्देश्यले पनि लाम्रा संवाद गर्न थालिएको हो ।’
पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले यस्ता कार्यक्रमलाई निरन्त्रता दिनुपर्नेमा जोड दिए । उनले भने धेरै विषयबस्तु छुटेका छन् । आगामी कार्यक्रममा नयाँ विषय बस्तु उठान गर्न उनले सुझाए ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस