जुम्लामा फोटोसहितको मतदाता नामावली संकलन गरिँदै

जुम्ला– जिल्ला निर्वाचन कार्यालय जुम्लाले फोटोसहितको मतदाता नामावली संकलनको तयारी गरेको छ । आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन कार्यालयले यो काम थालेको हो ।

मतदाता नामावलीमा नाम नभएकाले निर्वाचनमा भोट हाल्न नपाउने भएपछि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई फोटोसहितको मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले निर्देशन गरेको छ ।

निर्वाचन कार्यालयले १८ वर्ष पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र लिएकालाई मतदाता नामावलीमा नाम लेखाउन पाउने बताएको छ । कार्यालयले १७ मंसिरदेखि जुम्लाका ८ वटै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको हो ।

निर्वाचन कार्यालयले १७ मंसिरदेखि २६ दिने अवधिमा मतदाता नामावली संकलनका लागि टोली खटाउने भएको छ । स्थानीय तहमा खटिएको टोलीले मतदाता नामावली संकलनको काम गर्नेछ । मतदाता नामावलीमा नाम हटाउन, सच्याउन, नयाँ अद्यावधिक गर्न र मतदान स्थल सार्न भने निर्वाचन कार्यालयमा स्वयं व्यक्ति आउनुपर्ने प्रावधान छ ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माले मतदाता नामावली दर्ता गराउन आउने नागरिक स्वयं उपस्थित हुनुपर्ने बताए । उनले भने, ‘सिंजा पालिकाका नागरिकले इलाका प्रशासन र चन्दननाथ नगरबासीले जिल्ला प्रशासनमार्फत मतदाता नामावली विवरण दर्ता गर्न गराउनेछन् ।

गुठीचौर, पातारासी, तातोपानी, तिला, हिमा र कनकासुन्दरी गाउँपालिकाको केन्द्रमा निर्वाचन कार्यालयको नेतृत्वमा नामावली संकलन टोली जानेछ । उक्त टोली एक स्थानीय तहमा १० दिन बस्नेछ । १० दिनभित्र मतदाता नामवली दर्ता गर्न छुटेका नागरिकले जिल्ला प्रशासनमा आउनुपर्नेछ । जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयले यसअघि नै मतदाता नामावली आद्यावधिकको काम गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस