कर्णालीमा एकिकृत मन्त्री क्वाटर बनाउन दुई मन्त्रीबिच छलफल

सुर्खेत-कर्णालीमा एकिकृत मन्त्री क्वाटर बनाउन संघ र प्रदेश शहरी विकास मन्त्रीबिच छलफल भएको छ । कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय अन्तर्गत मन्त्रीहरुका लागि आवश्यक क्वाटर एकिकृत रुपमा निर्माणका लागि दुई मन्त्रीबिच छलफल भएको हो ।
संघीय सरकारका शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कर्णाली सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदमबहादुर रोकायाबिच भएको छलफलले कर्णालीमा एकिकृत मन्त्री क्वाटर भवन निर्माण गर्ने टुंगो लागेको छ ।
यसअघि वीरेन्द्रनगर नगरपालिकाको सहमतिमा कर्णाली प्रदेश सरकारले एकिकृत मन्त्री क्वाटर भवन निर्माणका लागि संघीय सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागमा प्रस्ताव पेश गरेको थियो । तर उक्त प्रस्तावमाथि छलफल नहुदाँ आवश्यक प्रक्रिया अघि बढ्न सकेको थिएन ।
प्रस्ताव अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडीको वीरेन्द्रनगर नगरपालिकाको नाममा रहेको सरकारी खाली जग्गामा एकिकृत मन्त्री क्वाटर भवन निर्माण हुने भएको छ ।
कर्णालीमा मन्त्रालयका लागि काम चलाउ भवन उपलब्धता भएपनि मन्त्री क्वाटरका लागि भने भवन अपुग छन् ।
मन्त्री क्वाटरका लागि सरकारी भवन खोजाखोज गर्नुपर्ने तथा भाडाको घर खोज्नुपर्ने स्थीति कायमै भएपछि मन्त्री रोकायाले यस समस्याको दिर्घकालिन समाधानका लागि एकिकृत मन्त्री क्वाटर भवन निर्माणको प्रताव स्विकृतीका लागि पहलकदमि अघि बढाएका हुन् ।
मन्त्री रोकायाले संघीय शहरी विकास मन्त्री झाँक्रीलाई मन्त्रालयमै भेटेर एकिकृत मन्त्री क्वाटर भवन निर्माणको प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए । दुई मन्त्रीबिचको छलफलपछि शहरी विकास मन्त्री झाँक्रीले प्रस्ताव कार्यान्वयनका लागि तत्काल प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकी छन् ।
मन्त्री रोकायाका प्रमुख स्वकिय सचिव अमर रोकायाका अनुसार शहरी विकास मन्त्री झाँक्रीले कर्णालीमा एकिकृत मन्त्री क्वाटर निर्माण हुने आश्वासन दिदै त्यसको लागत स्टमेट निकाल्न विज्ञहरुसँगको छलफलसँगै प्राविधिक टोलीलाई निर्देशन दिने बताइन् ।
शहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्ने भएको छ । जसमा सुरक्षाका लागि बस्ने प्रहरीका ब्लक भवन लगाएतका भौतिक संरचना निर्माण गर्ने तयारी छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस