
जुम्ला ः नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललिजंग शाहीको गड मानिदै आएको चन्दननाथ नगरपालिका – ५ वडामा नेकपा माओवादी केन्द्रले गड भत्काउने देखिएको छ ।
नेपाली काँग्रेसले ५ नम्बर वडामा टिकट दिएर वडाध्यक्ष लड्ने तयारी गरेका सक्रिय सदस्य बिर्खबहादुर कार्की नेकपा माओवादी केन्द्रमा प्रवेश गरी वडाध्यक्षमा उम्मेदवारी दिएपछि सभापति शाहीको गड भत्किने देखिएको हो ।
काँग्रेस पार्टी छोडेर माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवारी दिएका कार्कीले भने २५ वर्षदेखि काँग्रेस पार्टीमा सक्रिय भएर काम गरे । अघिल्लो ०७४ को स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष लड्ने तयारी गरिएको थियो । त्यतिबेला पनि वडाध्यक्षको टिकट पाएको हो उनले भने काँग्रेसभित्रकै क्रियाशिल कार्यकर्ताले टिकट नै लुकाई दिएपछि धोका दिने काम भयो । अहिले पनि काँग्रेस पार्टीका नेताले उस्तै गरेपछि पार्टी नै परित्याग गर्नु परेको हो ।
०७४ को स्थानीय तहको निर्वाचनमा धोका भएपछि दोस्रो पटक (अहिले) पार्टीले वडाध्यक्षको टिकटको आश्वासन पाएर तयारी गर्दापनि नदिएर अन्यायमा परेको उनले बताए । सधैजसो अन्याय खेप्नु भन्दा पनि अर्काे कुनै विकल्प रोज्नु पर्दछ भन्ने उद्देश्यका साथ माओवादी केन्द्र रोजिएको हो । नयाँ प्रवेशी भएपनि माओवादी पार्टीले टिकट दिएर वडाध्यक्षको उम्मेदवारी दिएको उनले बताए । उनले भने यो अवसर प्रदेश सदस्य मनोज बुढाथोकीले दिनु भएको हो र ४ जना आकांक्षी उम्मेदवारसहित माओवादीका केन्द्र सल्लाहकार डा. कलबहादुर रोकायालाई धन्यवाद चाहान्छु । अब जनताका विकास निर्माणमा लागी पर्नुका साथै पार्टी विस्तरमा मेरो जिम्मेवारी रहने छ ।
माओवादी केन्द्रमा पनि वडाध्यक्ष उम्मेदवार नभएका होइनन् । कर्णाली प्रदेश कमिटि सदस्य मनोज बुढाथोकीले भने हाम्रो पार्टीमा वडाध्यक्षका ४ जना उम्मेदवार थिए । तर क्रियाशिलता, सक्रियता र इमान्दार व्यक्तिलाई वडाध्यक्ष बनाउनु पर्छ भन्ने उद्देश्यले पार्टीमा नयाँ प्रबेशी भएपनि कार्कीलाई टिकट दिएर उम्मेदवार बनाएको हो । प्रदेश सदस्य बुढाथोकीले भने माओवादीको संगठन विस्तार तथा वडाध्यक्षका आकांक्षीहरु बीच समझदारी र समहति गरी कार्कीलाई अवसर दिएको हो ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिका – ५ वडाध्यक्षमा नेपाली काँग्रेस पार्टीका वर्तमान सचिव अर्जुनसिंह कठायतले (गोल्डेन) स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।



