जुम्ला । दुईदिन देखी लगातार भईरहेको अविरल वर्षाले कर्णाली राजमार्ग अबरुद्ध भएको छ । वर्षातले कालिकोट जिल्लाको पिली सडक खण्डमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । बिहीबार बिहान खडाचक्र नगरपालिका–७ स्थित पिलि सडक खण्डको माथिबाट सुक्का ढुंगा माटो सहितको पहिरो आउँदा कर्णाली राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
बुधबार गएको पहिरो पन्छाए लगत्तै विहिबार विहान पुनःसोही क्षेत्रमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो । यातायात ठप्प छ । सयौ यात्रु अलपत्र अबस्थामा परेका छन् । जुम्लादेखि नेपालगन्ज जादै गरेका यात्रु लोकेन्द्र गिरीले भन्नुभयो,“जुम्ला खण्डको नाग्मदेखि रारालिहि र कालिको खण्डमा सडक स्तरबृद्धि भईकोले पहिरो आउने समस्या छ । दैलेख खण्डमा भने त्यति समस्या छैन् । यात्रालाई सहज गर्न पहिरो पन्छाउने कार्यलाई प्रभावकारी गर्नुपर्ने देखिन्छ ।”
यता सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले पिलिमा गएको पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“सडक खुलाउन मेसिन सहित जनशक्ति पिलि क्षेत्रमा खटिएको छ । सडक स्तरबृद्धि भईरहेकोले पहिरो आउने क्रम जारी छ । अबरुद्ध सडक खुलाउन मेसिन सहित जनशक्ति तैथान छन् । तर एकै पटक धेरै ठाउँमा पहिरो गएको खण्डमा केहि समय लाग्छ ।”
प्रमुख श्रेष्ठका अनुसार नाग्म–गमगडी सडक खण्डको केहि क्षेत्रमा सडक अबरुद्ध भएको छ । भने सडक अबरुद्ध खुलाउन कर्णाली राजमार्गको पिलि,मान्मा,रारालिहि र नाग्म–गमगडी सडकको बुलबुले क्षेत्रमा मेसिन सहित जनशक्ति तयारी अबस्थामा रहेको प्रमुख श्रेष्ठको भनाई छ ।
वर्षा जारी रहेको र एकै पटक धेरै ठाउँमा पहिरो आएमा नागरिकले भने र चाहेजस्तो छिटै सडक खोल्न मुस्किल हुने सडक भिडिजन जुम्लाले जनाएको छ । यदपी, निरन्तर सडक खुलाउन लागि परेको समेत प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
खोलाले बगाउँदा एकजना बेपत्ता
बिहीबार बिहान कालिकोट स्थित टिपघाट खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । खोलाले बगाउँदा पलाता गाउँपालिका– ७ का ४० वर्षिय धर्मदत्त जैसी रहेका छन् । खोला तर्ने क्रममा जैसीको मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता जैसीको प्रहरी तथा स्थानीयको संयुक्त टोलीको खोजी कार्य गरिरहेको छ ।



