जुम्ला(ख)मा एमालेका पछाई निर्वाचितः‘विद्यार्थी नेतादेखि सांसद सम्म’

जुम्ला । जुम्ला प्रदेश सभा (ख) मा नेकपा (एमाले) पार्टीका टेकराज पछाई निर्वाचित भएका छन् । कुल खसेको मत मध्य ७ हजार ८ सय २७ मत प्राप्त गर्दै पछाई निर्वाचित भएका हुन । कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायालाई १ हजार ११२ मतान्तरले पछि पारेका छन् ।

प्रदेश (ख) मा कुल २० हजार ६ सय १६ मत खसेकोमा एमालेका पछाईँले ७ हजार ८ सय २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो । उनका अनुसार पराजित रोकायाले ६ हजार ७ सय १५ मत प्राप्त गरेका हुन् । एकीकृत समाजवादीको जुम्ला जिल्ला इन्चार्ज समेत रहेका रोकायालाई कांग्रेस–माओवादीको साथ रहँदा पनि पराजित भएका हुन् ।

विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका पछाई संसदीय निर्वाचनबाट पहिलो पटक कर्णाली प्रदेश सभाको सांसद बनेका हुन् । कनकासुन्दरी गाउँपालिका ६ निवासी पछाई २०५५ देखि ०५७ सम्म अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियू सदस्य,०५७ देखि ०६० सम्म अमृत साइन्स क्याम्पस (अस्कल)को सहसचिव तथा २०६० देखि ०६५ सम्म दुई कार्यकाल अमृत साइन्स क्याम्पस (अस्कल)को सभापति हुनु भएको थियो ।

त्यस्तै,काठ्मान्डौ क्याम्पसको जिल्ला कमिटीको कोषाध्यक्ष,बाग्मती अंचल कमिटी सदस्य,अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य,२०६४ मा स्ववियू काउन्सील संयोजक,२०६५ मा त्रिभुवन विश्वविद्यालय सिनेट सदस्य रहनु भएको थियो ।

साथै,२०६५ मा अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य,एमाले कर्णाली प्रदेश सदस्य सचिव,एमाले जिल्ला कमिटी जुम्लाको सचिवालय सदस्य सदस्य,आठौ देखि दशौ महाधिबेशन प्रतिनिधि र एमाले प्रदेश कमिटी उपसचिव हुदै हाल कर्णाली प्रदेश सभाको सांसदमा निर्वाचन भएका हुन् ।

मतदाताको विश्वास र भरोसाले आफुले जितेको भन्दै त्यो भरोसा नटुट्ने गरी दलीय स्वार्थ भन्दा माथि उठेर आम जनताको जीवन स्तर उकास्ने गरी काम गर्ने बताउनु भएको छ । प्रदेश (ख)को शिक्षा,स्वास्थ्य,पूर्वाधार विकास र सिंजा सभ्यता विकासका लागि नीतिगत विकासमा समेत जोड दिने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस