जुम्ला । तातोपानी गाउँपालिका वडा नं.१ राँका गाउँकी लग्नमाया दमाई गतसाता घरबाट गाडी चढेर विद्युतको महशुल बुझाउन सदरमुकाम पुगिन् । अटोमा २ सय भाडा तिरेर सदरमुकाम पुगेकि लग्नमायाले नेपाल विद्युत प्राधिकरणमा एक महिनाको ३० रुपैया महशुल बुझाईन् । ३० रुपैया महशुल बुझाउनका लागि करिब एक हजार रुपैया खर्च भएको भन्दै उनले गुनासो गरिन् ।
एक त त्यति टाढाबाट महंगो भाडा खर्च गरि बजार आउनु पर्ने झन्झट । ३० रुपैया शुल्क तिर्न महंगो खर्च गर्नुपर्ने बाध्यता उस्तै । यो सेवा भन्दा सास्ती भयो । उनले भनिन,‘बत्तीको महशुल गाउँघरमै बुझाउने ठाउँ होला भन्ने सोचेकी थिए । तर बजारमै पुगेर बुझाउनु पर्दो रहेछ । महिनाको ३०÷४० रुपैया महशुल तिर्न ८÷९ सय रुपैयाँ खर्च गर्नु पर्ने भयो । यसले ग्रामिण भेगका उपभोक्ताका लागि दोहोरो मारमा पर्यो । गाउँमै महशुल बुझाउने व्यवस्था हुनुपर्छ ।’
३० रुपैया बत्तीको महशुल तिर्न आउजाउ गर्नका लागि भाडामा मात्रै ४ सय र खाजा नास्ता २÷३ सय गरि करिब एकहजार रुपैया खर्च भएको लग्नमायाले बताईन् । महिनापिच्छे ३०÷४० रुपैया बुझाउन ८÷९ सय रुपैया गर्नुभन्दा भन्दा वर्षभरीकै ५ सय रुपैया अग्रिम तिरेको उल्लेख गरिन् ।
त्यस्तै तातोपानी वडा नं १ कै चन्द्रमाया दमाईले पनि ३० रुपैया बत्तीको महशुस तिर्न ७÷८ सय रुपैया खर्च गरी बजार आउनु परेको बताईन् । उनले भनिन,’आयस्रोत छैन् । कालापहाडकै भरमा घर खर्च चल्छ । सुविधा होला भनी राष्ट्यि प्रशारण लाईनको बत्ति जोड्यौ । बत्ती आउने जाने समस्या उस्तै छ । तर महिनाको ३०÷४० रुपैया महशुल बुझाउन पनि बजार आउनु पर्ने थाहा थिएन् । यो झन्झटले झै खर्चमात्रै बढायो । कमाई नहुने सर्वसाधारणका लागि निकै महंगो भयो । गाउँमै महशुल बुझाउने व्यवस्थापन हुनुपर्छ ।’
उनले पनि वर्षभरीकै पाँच सय रुपैया अग्रिम भुक्तानी गरेको सुनाईन् । लग्नमाया र चन्द्रमायाले एक महिनाको ३०÷३० गरि ६० रुपैया विद्युतको महशुल तिर्न करिब २ हजार रुपैया खर्च गरेकी छन् । उनी दुबै जनाको घर जुम्ला सदरमुकाम खलंगाबाट करिब १३ किमी टाढा छ । बजार आउन अटोमा प्रतिव्यक्ति २ सय भाडा लाग्छ । यसरी गाउँबाट बजार पुग्नु पर्ने बाध्यताले विद्युत महशुल भन्दा अन्य खर्चबाट नागरिक मारमा परेका छन् ।
लग्नमाया र चन्द्रमाया मात्र नभई राष्ट्यि प्रशारण लाईन विस्तार भएका जुम्लाका ५३ सय घरधुरी मध्य अधिकांश नागरिक गाउँमा महशुल बुझाउने काउन्टर नहुँदा दोहोरो मारमा परेका छन् ।
राष्ट्यि प्रशारण लाईन जिल्लाका विभिन्न दुर्गम बस्तिहरुमा पुराईएको छ । हाल राष्ट्यि प्रशारण लाईन जुम्लाका पाँच हजार तीन सय घरधुरीमा विस्तार भएको हो । यहाँका आठ स्थानीयतह मध्य चन्दननाथ नगरपालिका,तातोपानी,तिला,हिमा र सिञ्जाको नराकोट सम्म लाईन विस्तार भईसकेको छ ।
तातोपानी भन्दा तिला,हिमा र सिञ्जाका नागरिकलाई महशुल बुझाउन सदरमुकाम आउँदा १५ सयदेखि २ हजारसम्म खर्च हुने गरेको छ । लाईन विस्तार भएका पालिकाका ईन्टरनेटको पहूँचमा नभएका सबै नागरिक बजारमै पुगेर महशुल तिर्न बाध्य छन् । गाउँमै महशुल बुझाउने काउन्टर हुनुपर्ने उनिहरुको माग छ ।
राष्ट्यि प्रशारण लाईनको बत्ती प्रयोग गरीरहेका ५३ सय ग्राहक मध्य सदरमुकाम बस्ने र गाउँका केही ईन्टरनेटको पहुँचमा भएका बाहेक अधिकांश स्थानीय लग्नमाया र चन्द्रमाया जस्तै ३०÷४० रुपैया महशुल तिर्न एक हजार खर्च गरेर सदरमुकाम आउन बाध्य छन् ।
यदपी,अनलाईन प्रणालीबाट पनि भुक्तानि गर्न मिल्ने व्यवस्था छ । तर अनलाईन सेवाको पहुँचमा ग्रामिण भेगका नागरिक छैनन् । त्यसैले पनि ३० रुपैयाँ महशुल बुझाउन एक हजार खर्च गर्न स्थानीय विशस छन् । वडादेखि पालिकास्तरमै विद्युतको महशुल बुझाउने व्यवस्थापन गर्न विद्युत प्राधिरकणले ध्यान जरुरी छ ।
गाउँमा काउन्टर खोल्न असम्भव छैन्
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख राम आशिष शाहले तत्काल गाउँमा काउन्टर खोल्न सम्भव नरहेको बताए । भौतिक रुपमा महशुल तिर्न सदरमुकामनै आउनु पर्छ । उनले भने,‘हामीले अनलाईन प्रणालीबाट भुक्तानी गर्न जोड दिईरहेका छौ । तर अझै ईन्टरजनेट नागरिकको पहुँच कमजोर देखिन्छ । ३०÷४० रुपैया तिर्न ५÷७ सय खर्च गर्न गर्नुपर्ने नागरिकलाई बाध्यता छ । त्यो कुरा महशुस पनि गरेका छौ । तर जिल्लास्तरबाट काउन्टर स्थापना गर्न सम्भव छैन् । केन्द्रले अनुमति दिन्न ।’
काउन्टर स्थापना खर्चिलो भएकोले पनि स्थापना गर्न सम्भव नभएको हो । जनशक्ति व्यवस्थापन,कम्युटर,ईन्टरनेट सबै जोड्नु पर्ने र खर्चिलो हुने भएकोले गाउँमा काउन्टर खोल्न अनुमती नआएको प्रमुख शाहले उल्लेख गरे । अर्को महिनाबाट सबै वडा कार्यालय तथा गाउँहरुमा अनलाईन भुक्तानी कसरी गर्न सकिन्छ भन्नेबारे ठुला पोष्टर पम्पलेटहरु टाँस्ने तयारी गरेको जानकारी दिए ।
‘थोरै महसुश तिर्न धेरै खर्च गरेर आउनु पर्ने समस्याको हामी संग समधान छैन् । पम्पलेट टाँसेर अनलाईन भुक्तानीमा बृद्धि गर्न लागि परेका छौ । काउन्टर खोल्ने अनुमती पनि छैन् । यो हामीबाट सम्भवनै छैन् ।’ प्रमुख शाहले थपे । साथै महिना पिच्छे आउनु भन्दा अग्रिम भुक्तानीको समेत व्यवस्था रहेको उल्लेख गरे ।
यदपी नेपाल विद्युत प्राधिकरण काठमान्डौँले चाहेको खण्डमा लाईन विस्तार भएका ग्रामिण क्षेत्रका नागरिकलाई पाएक पर्ने गरी काउन्टर स्थापना गर्न सक्ने सम्भावना छ । त्यसका लागि पहल गर्न जरुरी रहेको नागरिक अगुवा राज बहादुर महतले बताए ।



