विश्वासको मत फागुन ३० मा लिने प्रधानमन्त्रीको तयारी 

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन् । फागुन २२ गते कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायतका सत्ता साझेदार दलहरूसँग छलफल गर्ने बताएका छन् । दाहालले संसदीय दलको शनिबार बसेको बैठकमा फागुन ३० मा विश्वासको मत लिनका लागि साझेदार दलहरूसँग छलफल चलाइरहेको जानकारी दिएका थिए । दाहालले दलको बैठकमा भनेका थिए, ‘सरकारले विश्वासको मत लिने कार्यका लागि सबै सक्रियतापूर्वक लागौं ।’

माओवादीका एक सांसदका अनुसार फागुन ३० मा सांसदहरूलाई ह्वीप लगाउने विषयमा संसदीय दलमा छलफल भएको छ ।

सत्तारूढ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् ।

यसबीचमा सत्तारूढ गठबन्धनको प्रमुख घटक एमालेले अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ भने प्रधानमन्त्रीले पनि सरकार अन्य दलहरूलाई सहभागी गराउन छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस