जुम्ला । कुरो १४औं शताब्दी तिरको हो।जुम्लाको हालको तातोपानी गाउँपालिकाको जर्मी भन्ने गाउँमा कुच्या बुढा भन्ने एकजना वृद्ध र उनकी श्रीमती थिइन।उनी निसन्तानी थिए।बुढी एकदिन दाउरा लिन जंगल गएको बेला निगालाको झारमा एउटा बालक रोएको आवाज सुनिन।हेर्न जादा नवजात शिशु देखिन ।
एक छिन त डराइन पनि,पछि त्यो बालकलाई घरमा ल्याएर पालन पोषण गरिसकेपछि उसले अरु भन्दा अलि पृथक र साहसी काम गर्न थाल्यो।अलि ठुलो भएपछि गोठिथाप्ला भन्ने ठाउमा दरवार बनाएर बस्न थाल्यो ।
त्यतिबेला लाछुको पुरै फाँटमा झाडि मात्रै थियो रे । एकदिन उसले काठको धनुष बनाइ दरवार बाट निगालाको तिर तल फाँटमा हान्दा त्यो तिर ज्याब्लिङ थ्रो रोपिएझैं रोपियो।अनि उसले सोच्यो कि पक्कै पनि यो समथर जमिनमा खेती हुन्छ भन्ने सोचेर झाडि पन्छाइ खेत बनाउन थाल्यो।हालको ‘गुरुफोक्टो’ नामको खेत नजिकै खनिरहेको बेला भिक्षुको रूपमा बाबा गुरु चन्दननाथ त्यहीँ पुग्नुभएको रहेछ।यत्रो झाडि पन्छाएर के गर्छौ बालक ?
भनेर सोधपुछ गर्दा यो ठाउमा खेती हुन सक्छ भन्दै आफुले हानेको तिर रोपिएको चार पाँच इन्ची जति टुप्पोमा सिमसिमेनी हिलो लागेको बताएछ। कुरा सुनिसकेपछी बाबा चन्दननाथले भोलि छिनासिम मन्दिरमा आएर मलाई भेट्नु भन्नू भएछ ।
भोलि पल्ट खलंगा मन्दिरमा बाबा संग भेट गर्दा यो धानको बीउ परिक्षण गर्नु भनी एकनाली( आठमाना) धान दिनु भएछ।बीउ ल्याएर फर्किदा लाम्रामा ढुँड्या र भरुन्या भन्ने दुई भाइलाई खेत जोतिरहेको देख्दा यहाँ के खेतिगर्नु हुन्छ ?
भनी सोधपुछ गरेपछी कोदो,जौंको खेती हुन्छ भन्दा मैले धानको बीउ ल्याएको छु यहाँ पनि परिक्षण गर्नु म पनि गर्छु एक ठाउँ बिग्रे पनि एक ठाउँ सप्रला भनेर बाबा चन्दननाथले भने बमोजिम चैत्रको १२ गते पानीमा भिजाउनु १६ गते उतारेर एक छिन घाममा थोरै सुकाइसकेपछी घरभित्र टुसा आउन्जेल सम्म राख्नु र हिलो ब्याडमा छर्नु भन्दा ९९% बीउ दुबै ठाउँमा २० गते छर्ने खालको भएछ र सोही दिनलाई बिस्सुवाँ पर्वको रुपमा मनाउन थालिएको हो।साहसीक काम गरेकोले पछि उसलाई ‘लछालकृती पैकेलो’ नामले चिनिन थालियो ।
धानको बीउ दुबै ठाउँ सफल भैसकेपछी मार्सी धानको नामले जिल्ला भरी फैलियो र हाल जुम्ला विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँको रूपमा परिचीत पनि छ । कुनैकुनै बुढापाका बाट यो पनि सुनिन्छ कि आधा बीउ लाम्रा दिएकोले सह लाम्रा तिरै सर्यो भन्ने पनि गर्छन।लाम्रा सह भएको बर्ष लाछु हुन्न लाछु सह भएको बर्ष लाम्रा हुन्न भन्ने भनाइ पनि छ ।
कार्तिकमा धान दाँई हाल्दा गोरु घुमाउने क्रममा खुट्टाले माडिदे बाबा कानले बताइदे बाबा सिङले खोर्सिदे बाबा दाँङ देउखुरीको सह ल्याइदे बाबा लाछु लाम्राको सह ल्याइदे बाबा भनेर रिउला हाल्ने चलन पनि छ ।



