जुम्ला । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिएर एमालेलाई सरकार हस्तान्तरण गर्न अन्ततः तयार भएका छन् । नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेश एमालेका भागमा परेको थियो । त्यसपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री शर्मालाई राजीनामा दिन भनेका थिए । तर, शर्माले राजीनामा नदिने बरु प्रदेशसभामा विश्वासको मतको प्रस्ताव राख्ने बताएका थिए ।
यसरी केन्द्रको निर्देशन मुख्यमन्त्री शर्माले नमानेपछि पछिल्ला तीन दिन कर्णालीको राजनीतिमा तरंग नै आएको थियो । तीन दिनयता एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै बैठकहरू मात्र बसेका थिएनन्, एमाले र माओवादी केन्द्रबीच पनि वार्ताहरू भएका थिए । तर, बुधबार मुख्यमन्त्री शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबीच वार्ता भएपछि मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार भएका हुन् ।
त्यसो त मुख्यमन्त्री शर्मा सहज रूपमा सत्ता हस्तान्तरण नगर्न तयार नभएपछि प्रचण्डले पूर्वमुख्यमन्त्री महेन्द्र शाहीलाई सुर्खेत पठाएका थिए ।
प्रदेशसभामा दर्ता गरिएको विश्वासको मतको प्रस्तावलाई फिर्ता लिएर सभालाई सम्बोधन गरी मुख्यमन्त्री शर्माले राजीनामा दिने तयारी गरेको माओवादी सांसद दुर्गबहादुर रावतले बताएका छन् ।



