बजेट वक्तव्यमा ‘रारा’ नसमेटिएको भन्दै मन्त्रीलाई प्रवेश निषेध गरिने

जुम्ला । साविक कर्णालीको मुगु जिल्लाको रारा छायाँनाथ नगरपालिकामा अवस्थित देशकै ठूलो ताल हो, रारा । यो ताललाई स्वर्गको अप्सराको उपनामले पनि चिन्ने गरिन्छ । कर्णालीको मुटुको रूपमा चिनिने रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्रविन्दु पनि हो । जहाँ प्रकृतिको प्यास मेटाउन पर्यटक राराको छालसम्म पुग्छन् । मनोरम दृष्य हेर्न र रमाउन हजारौँ पर्यटक आउँछन् ।

यो ताल दुर्गम हिमाली जिल्लामा अवस्थित भएकाले साहसिक पर्यटन गन्तव्यको रूपमा पनि लिइन्छ । सडकको स्तरोन्नति देखि पूर्वाधार निर्माण नहुनु नै यसको मूल समस्या हो । जसले गर्दा पर्यटक प्रर्वद्धन गर्न केही सकस पर्ने गरेको छ । नेपालकै ठूलो तालको रूपमा स्थापित भएपनि राज्यले उचित प्रबर्धन गर्न ध्यान दिएको खासै देखिएको छैन । जसले गर्दा कर्णालीलाई राज्यले हेर्ने नजर कस्तो छ भन्ने प्रस्ट हुन्छ।

रारा छायाँनाथ नगरपालिकाका मेयर विष्णु कुमार भामले बजेट वक्तव्य २०८१/८२ मा कर्णालीलाई अपहेलना गरेको र राराको नाम नसमेटिएको भन्दै दुख लागेको बताए । वजेट वक्तव्यमा रारालाई पर्यटक प्रवर्धनमा कसरी युवालाई रोजगारमा जोड्नतर्फ संघीय सरकारले नबोलेको दुखेसो पोखे । विभिन्न ठाउँको स- साना धार्मिक स्थलको नाम समेटेको तर देशकै गौरव ठूलो तालको रूपमा स्थापित रारालाई उपेक्षामा पारेको गुनासो गर्दै आन्तरिक तथा बाह्य पर्यटनको प्रबर्धन गर्ने यस ताललाई राज्यले पछि पारेको भन्दै खेद प्रकट समेत गरेका छन् ।

मेयर विष्णु कुमार भामले यो भन्दा पहिले जुन सुकै मन्त्री रारा आएमा नगरपालिकाको समन्वय र अथिति सत्कार गरिन्थ्यो तर अबदेखि नगरपालिकाको तर्फबाट रारा आउने मन्त्रीलाई समन्वय तथा स्वागत सत्कार नगरिने बताएका छन् । यसको लागि पालिकाको आफ्नै नीति तथा कार्यक्रम समावेश गर्ने छ । जो मन्त्रीले खाली आश्वाशन मात्रै दिने र व्यवहारमा लागू नगर्ने भन्दै अबबाट यहाँ कुनै पनि मन्त्रीलाई अथिति सत्कार तथा स्वागत नगरिने बताएका हुन् । उनका अनुसार,’ केही वर्ष अघि केही मन्त्री तथा प्रधानमन्त्री समेतले राराका विषयमा रारामा केबुलकार,पर्यटक बासस्थानको लागि थ्री स्टार होटल सञ्चालन, रारासम्म पुग्ने बाटो ग्रावेल सहित पिच गर्ने सम्म कुरा कुरामै अलपत्र पारे।’

राज्यले देशकै ठूलो ताल रारा भएको ठाउँमा विशेष मध्यनजर गर्नुपर्ने मेयर भामको भनाई छ । उनका अनुसार, ‘रारा पुग्ने सडक सञ्जाल नेपालगन्ज – सुर्खेत -दैलख-कालिकोट र राराको मुख्य प्रबेसद्वार नाग्मा-गमगढी सडकको स्तरोन्नति गर्नुपर्नेमा राज्यले चाँसो देखाएको छैन जसले गर्दा रारामा पर्यटक भित्राउन केही कठिन परेको छ ।’

रारालाई पर्यटन प्रवर्धनमा जोड्न राष्ट्रिय एजेण्डा आवश्यक

मेयर विष्णु कुमार भामले रारालाई पर्यटन प्रवर्धनमा जोडन एउटा पालिकाले केहि गर्न नसक्ने बताएका छन् । यसको लागि राष्ट्रिय एजेण्डा हुनुपर्ने उनको भनाइ छ । दुर्गम जिल्ला भएकाले पालिकाले शिक्षा, स्वस्थ्य, पूर्वाधार लगायत सबै क्षेत्रलाई समेटेर काम गर्नुपर्ने भएकाले समस्या हुन्छ । जसले गर्दा पालिकाको बजेट अपुग हुन जान्छ। त्यसैले राराको मुख्य प्रबंधनको लागि केन्द्रीय स्तरमै बलियो निगरानी हुन आवश्यक छ ।

‘नीति तथा विकासको कार्यक्रममा रारा भन्ने शब्द मन्त्रीको मुखमै आउँदैन अनि कसरी देशको पर्यटक प्रबर्धन हुन सक्छ’, मेयरले भने,’जुन ठाउँको मन्त्रीको पहुँच छ त्यहीँ ठाउँको स-साना धार्मिक स्थल,पर्यटन क्षेत्रमा मात्रै वजेट विनियोजन गर्ने गतिविधि भएकाले रारा उपेक्षामा परेको हो।’

पर्यटन प्रवर्धन क्षेत्रमा बजेट वक्तव्य २०८१/८२ मा आगामी आर्थिक वर्ष १६ लाख पर्यटन भित्राउनको पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिने भएको छ भने पूर्वाधार विकासका लागि रू. ५ अर्ब ४६ करोड रकम विनियोजन भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस