जुम्ला – तत्कालिन कर्णाली अञ्चलकै मुकाम जुम्लाको खलंगा एक पर्यटकिय नगरी हो नै । यहाँ एतिहायिक प्रसिद्ध धार्मिक स्थल चन्दननाथ मन्दिरदेखि थुर्पै मठमन्दिरहरु रहेका छन् ।
यस्तै यहाँको खलंगाकै छेउछाउमा पाँच भाई पाण्डव वन बास गएको अवस्थामा पञ्च देवलदेखि शैक्षिक पर्यटनको हव २०३७ सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालय रहेको छ ।
एमबीबीएसदेखि थुर्पै चिकित्सा शिक्षाका विषय अध्ययन अध्यापन र विशेषज्ञिय चिकित्सक मार्फत स्वास्थ्य उपचार गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि यही नगरीमा अवस्थित रहेको छ ।
यसै खलंगामै चन्दननाथ नगरपालिका – ४ स्थित विशाल पहाडको भित्तामा बौद्ध धर्मालम्वीहरुले डुडुल चैत्य गुम्बा निर्माण गरिएको छ । यो पनि एक धार्मिक पर्यटन क्षेत्र बनेको छ । खलंगामा पुग्ने जिल्ला बाहिर वा जिल्ला भित्रका आन्तिरिक पर्यटकदेखि देश बाहिरबाट आउने पर्यटक यस गुम्बामा पुग्ने गरेका छन् ।
यिनै पर्यटन क्षेत्रका अलवा यसै खलंगास्थित चन्ददननाथ नगरपालिका – १ आचार्य गाउँको शिरमाथि एक नयाँ पर्यटकिय गन्तव्य बनेको छ । चौतर्फी भ्यूदेखिने छत्तेलचौर र भगवतीमाईको मन्दिर नजिकै नेपालको विशाल झण्डा निर्माण गरिएको छ । त्यहाँ पहाडको टुप्पोबाट खलंगाको चारैतिर मनोरम दृश्य देखिने गरेको छ । त्यही दृश्य अवलोकन गर्नका लागि आन्तरिकदेखि बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् । सार्वजनिक विदाको दिनमा त्यहाँ पुग्नेको भिड नै देखिने गरेको छ
यस्तै त्यहाँ पहाडको टुप्पोसम्म पुग्ने पाँच सय ६७ फिट लामो रेलिङसहितको ४६५ वटा सिडि निर्माण गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० लाख र चन्दननाथ नगरपालिका – १ वडा कार्यालयको २० लाख गरी ७० लाख बजेटमा नयाँ पर्यटकिय गन्तव्य निर्माण भएको वडाध्यक्ष तिलक न्यौपानेले बताए । उनले भने दुई आर्थिक वर्षको अन्तरालमा यिनै पर्यटकिय संरचना निर्माण गरिएको हो । अझै संरचना निर्माण बाँकी रहेको छ । नेपाल झण्डा बनाएको ठाउँमा घेरबार, पार्क र पार्कसम्म पुग्ने सिडि निर्माण गर्न बाँकी रहेको छ । यसका लागि ५० लाख बजेट आवश्यक हुने देखिन्छ ।
आर्थिक वर्ष ०८१÷०८१ मा बाँकी संरचना निर्माण गर्ने योजना रहेको छ । बजेटका लागि कर्णाली प्रदेशदेखि संघीय सरकार पर्यटन मन्त्रालयसम्म पहल भई रहेको उनले बताए ।



