जुम्ला । चन्दननाथ नगरपालिका ४ की टोमा छिरिङ लामाले तीन वर्षअघि १७÷१८ प्रतिशत ब्याज पाउने आशामा दियालो बहुउदेश्यीय सहकारी संस्थामा १२ लाख रकम बचत गरिन् । आफ्नै राजिखुसीले भन्दा सहकारीकै कर्मचारीको करकापमा १२ लाख बचत गरेकी टोमालाई एक वर्षमै ब्याज सहित बचत फिर्ता पाउने आश्वासन दिइएको थियो । तर बचत गरेको तीन वर्ष र बचत फिर्ताको माग गरेको ९ महिना बित्दा पनि हाल सम्म उनले बचत फिर्ता पाउन सकेकी छैनन् ।
साथमा श्रीमान छैनन् । २०७७ मै श्रीमान बिते । तीन छोरीको लालनपालनमा मुस्किल छ । ब्याज त परै जावस आफ्नै साँवा मात्रै फिर्ता पाउने स्थिती नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको दुखेसो पोखिन् । सहकारी प्रबन्धकले हुन्छ भन्दा भन्दै ९ महिना बितिसक्दा पनि वास्ता नगरेको उनको गुनासो छ ।
पातारासी–१ गडीगाउँका दत्त बुढाले पनि १६ प्रतिशत ब्याज पाउने लोभमा १० लाख रकम मुद्धतीमा बचत गरेका थिए । तोकिएको ब्याज र साँवा भनेकै समयमा दिने समेत सहकारीले आश्वासन दिएको थियो । तर आज सम्म सुक्को पैसा नपाएको उनले बताए ।

त्यस्तै गुठिचौर–५ का धर्मनन्द धितालले २०७६ साल बैशाख ८ गते ५ लाख रुपैया बचत गरे । उनले ५ लाख बचतको पाँच वर्षपछि १० लाख दोब्बर पाउने योजना अन्तरर्गत बचत गरेका थिए । डबल रकम (१० लाख) ०८० चैतमा पाउनु पर्ने हो । तर ९ महिनादेखि निरन्तर साँवा मात्रै फिर्ताको माग गरेपनि सुनुवाई नहुँदा आन्दोलन गर्नुपरेको धितालले जानकारी दिए ।
बचत पिडित संघर्ष समितिका अध्यक्ष समेत रहेका धर्मनन्द धितालका अनुसार हाल दियालो बहुउदेश्यीय सहकारी संस्थामा ५१ जना बचत कर्ताले बचत फिर्ताको माग सहित निवेदन दिएको बताए । यदपी सहकारीको तथ्यांकनुसार बचत कर्ता करिब चार हजार ५ सय जना रहेका छन् । ती मध्य हाल ५१ जना मात्रै बचत फिर्ताको माग गरी आन्दोलनमा छन् ।
शनिवार पत्रकार महासंघ जुम्लामा आयोजित पत्रकार सम्मेलनमा सहकारी पिडितहरुले हाल आन्दोलित ५१ जनाको एक करोड २२ लाख १९ हजार रुपैया बचत फिर्ता पाउनु पर्ने बताएका छन् ।
बचत फिर्ता गर्नुपर्ने करोडौ भएपनि हाल ५१ जनाले मात्रै बचत फिर्ता निवेदन दिएको र ९ महिना सम्म सुनुवाई नहुँदा आन्दोलन गरेको धितालले उल्लेख गरे । यदपी अन्य बचत कर्ता पनि आन्दोलनमा सहभागी हुने तयारीमा छन् । बचत फिर्ता गर्छु भन्दा भन्दै महिनौ बितेका अब आन्दोलन र मुद्धा प्रक्रियामा जानुको विकल्प नरहेको पिडितको तर्क छ । भने बचत फिर्ताकै क्रममा कार्यालयमा पुग्दा उल्टै धम्क्याउने गरेको उनिहरुको आरोप छ ।
कति महिलाले श्रीमानको असहमतीमै सहकारीमा बचत गरेको,कतिले ज्याला मजदुरी गरेको पैसा बचत राखेकोले सहकारीले बिना ढिलासुस्ती बचत कर्ताको बचत फिर्ता गर्नुमा नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाईको जोड छ । बचत फिर्ताका लागि पहल गरिदिन महासंघमै बचतकर्ता आएकोले सहकारी प्रबन्धकसंग बार्ताका लागि सहजीकरण गरिएको बताए ।
चैतसम्म सबै बचत फिर्ता गर्छौ: प्रबन्धक शाह
दियालो बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्धक दिपक शाहले सहकारीका सबै बचतकर्ताको बचत आगामी चैत सम्म फिर्ता गर्ने तयारी रहेको बताए । सहकारीमा हाल ४५ सय जत्ती बचत कर्ता रहेका छन् । हामी सबै बचत कर्ताको बचत फिर्ता गर्छौ ।
उनले भने,‘म केहिदिन व्यक्तिगत कामले काठमान्डौ गएको थिए । अध्यक्ष पनि देशबाहिर छन् । हामीले कसैलाई धम्क्याएका छैनौ । बचत फिर्ता गर्ने हाम्रो मुख्य लक्ष्य छ । आन्दोलन गरेर मुद्धा गरेर ऋण असुली प्रभावित भएमा बचत फिर्तामा पनि समस्या हुने देखिन्छ ।’
बचत फिर्ता नगर्ने हाम्रो नियतक कदापी होईन् । ऋण असुली खराब हुदैँ जादा हामीलाई समस्या निम्तीएको हो । प्रबन्धक शाह भन्छन,‘सहकारी मार्फत जिल्लामा करिब ३६ करोड ऋण लगानी भएको छ । जसमा ऋण असुली ६÷७ करोड मात्रै भएको देखिन्छ । अझै २८ करोडबढी ऋण असुली हुनै बाँकी छ । भने करिब १७ देखि १८ करोड सम्म बचत फिर्ता गर्न बाँकी छ ।’
हामी कतै भागेका छैनौ । हरेक बचत कर्ता संग नम्र रुपमा कुराकानी छलफल गरिरहेका छौ । सबैको सहयोगले ऋण असली जत्तीनै छिटो हुन्छ त्यतिनै छिटो बचत फिर्ताको प्रक्रिया सुरु हुने समेत प्रबन्धक शाहले उल्लेख गरे ।
हाल सहकारी सञ्चालक समितिका अध्यक्ष टेकबहादुर शाही कामको शीलशाीलामा भारतको कोलकत्तामा छन । प्रबन्ध शाहले ऋण असुलीलाई कडाइ गर्न आन्तरिक तयारी थालेको र बचत फिर्ता हुने कुरामा ढुक्क रहन समेत आग्रह गरेका छन् । ऋण असुली नभएपनि विभिन्न ठाउँमा रहेका जग्गा विक्री गरेर भएपनि बचत फिर्ता गरेरै छोड्ने सहकारीको दाबी छ ।



