जुम्ला । लेखक तथा साहित्यकार खडानन्द चौलागाईँले नेपाल पत्रकार महासंघ शाखा जुम्लालाई पुस्तक सहयोग गरेका छन् । पत्रकार महासंघकाे पुस्तकालयमा किताब संकलन अभियान अन्तर्गत महासंघ अध्यक्ष पूर्ण प्रसाद चाैलागाईकाे समन्वयमा लेखक चाैलागाँईले ११ थान किताब सहयाेग गरेका हुन्।
शनिवार एक कार्यक्रमका बीच लेखक चाैलागाईले अध्यक्ष चाैलागाईले पुस्तक हस्तान्तरण गरे । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थापना भएकाे महासंघ पुस्तकालयका लागि आफुले कर्णालीकाे आर्थिक,सामाजिक,सांस्कृतिक विषयमा लेखेका ११ थान पुस्तक सहयाेग गर्न पाउँदा खुसी व्यक्त गरे।

कर्णालीको कला, साहित्य तथा रीतिरिवाजको विकासको लागि लामो समयदेखि चौलागाईले विभिन्न पुस्तकहरू लेख्दै आएका छन्। कर्णालीको परिचय, मझेरीबाट हेर्दा कर्णाली, कर्णालीका आन तथा उखान संग्रह लगायत दर्जन बढि पुस्तकहरु लेखिएको लेखक चौलागाईंको भनाई छ।
बहुप्रतिभाका धनी चौलागाईँ लेखक तथा साहित्यकार मात्र नभइ गायक पनि हुन् । अनुराेधलाई स्वीकार गरी पुस्तक सहयाेग गरेकामा लेखक चाैलागाईलाई अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले धन्यबाद दिए । पुस्तकालयमा किताब अभियानमा सहयाेग गर्न समेत अध्यक्ष चाैलागाँईले सबैमा अपिल समेत गरेका छन् ।



