जुम्ला । जुम्लाको दियालो बहुउदेश्यीय सहकारी संंस्थाले विभिन्न प्रयोजनका लागि २९ करोडबढी ऋण लगानी गरेको पाइएको छ । सहकारीमा आबद्ध भएका सदस्यहरुलाई विभिन्न प्रयोजन बापत सहकारी हाल सम्म २९ करोड ७५ लाख ५४ हजार ६४३ रुपैया ऋण लगानी गरेको पाइएको हो ।
दियालो सहकारीले बचत फिर्ता नदिएको भन्दै केहि बचतकर्ता आन्दोलित भएपछि सहकारीले पटक पटक ताकेता गर्दा पनि अटेरी गर्ने ऋणीहरुको तीन पुस्ते विवरण सार्वजानिक गर्ने तयारी गरेको छ ।
बचत फिर्ताको माग गर्दै बचतकर्ताले दैनिक आन्दोलन र हड्ताल गरिरहेको अबस्थामा सहकारीले एक वर्षका भनेर लिएको ऋण ४/५ वर्ष बित्दा समेत नतिर्ने सबै ऋणीको नाम र फोटो संचार माध्यम संगै चोकचोक सार्वजानिक गर्ने तयारी गरेको दियालो बहुउदेश्यीय सहकारीका प्रबन्धक दिपक शाहले बताए ।
प्राप्त जानकारीनुसार सहकारीबाट हालसम्म ३ सय ८७ जनाले स्वीकृत ऋण ३२ करोड ४७ लाख ८० हजार ४९४ भएपनि ऋण लगानी भने २९ करोड ७५ लाख ५४ हजार ६४३ रुपैया भएको देखिन्छ ।
न्युनतम एक लाखदेखि ४० लाख सम्म ऋण लिएको प्राप्त विवरणमा उल्लेख छ । यदपी सहकारी ऐन २०७४ ले कुनै एक सदस्य वा व्यक्तिबाट २५ लाखभन्दा बढी बचत गर्न नपाईने एक व्यक्तिलाई १० लाख भन्दा बढी ऋण लगानी गर्न नपाईने प्रावधान रहेको छ ।
साथै आईतबार राष्ट्पतिले जारी गरेको सहकारी सम्बन्धी अध्यादेशले १० लाख भन्दा माथि बचत गर्ने सदस्यले स्रोत खुलाउनु पर्ने र उत्पादनमुलक क्षेत्रमा बाहेक अन्य क्षेत्रमा ऋण लगानी गर्न नपाईने व्यवस्था गरेको छ । तर जुम्लाका सहकारीले ऐन र अध्यादेश विपरित हचुवाका भरमा ऋण लगानी गर्दा समस्या निम्तीएको छ । जसका कारण ऋण असुली खराब मात्र भएको छैन् । बचतकर्ताको बचतनै डुब्ने स्थिती छ ।
ऋण लिनेमा जिल्लाका व्यापारी,होटल व्यवसायी,विभिन्न दलका नेता कार्यकर्ता रहेका छन् । शक्ति सत्ता र विभिन्न समयमा आएका अभियान्ताको आडमा ऋण नतिरेर बसेका ऋणीकै लापरबाहिले ऋण असुली खराब बन्दै जाँदा समस्या भएको दियालो सहकारीले जानकारी दिएको छ ।
आईतबार जिल्ला प्रशासनमा बचतकर्ता र सहकारीबीच चैत र असार सम्म समयवधि पुगेका बचतकर्ताको बचत फिर्ता गर्ने बारे लिखित गर्ने सहमती भएपनि ऋण असुलीमा सहकारीलाई निकै मुस्किल परेको छ ।
बचतकर्ताले बचत फिर्ता माग्दै आन्दोलन गर्न थालेपछि सहकारीले अटेरी गर्ने ऋणीको तीन पुस्ते सार्वजानिक गर्र्ने तयारी गरेको छ । यसअघि पटक पटक ताकेता गरेपनि विभिन्न अभियान्ताका आडमा ऋणीले ऋण तिर्न निकै अटेरी गरेका छन् ।
अहिले आएर एकातिर बचतकर्ताले आन्दोलन गर्ने र अर्कोिितर ऋणीले ऋण नबुझाउने समस्याले गर्दा बचत कर्ताको बचत जोखिममा पर्ने स्थिती सृजना भएपछि दियालो बहुउदेश्यीय सहकारी संस्थाले ऋणीको तीन पुस्ते विवरण सार्वजानिक गर्ने तयारी गरिरहेको छ ।
एक वर्ष भित्र बुझाई सक्नु पर्ने अधिकांश ऋण ४/५ वर्ष सम्म पनि नतिर्दा सहकारी ऋण असुली वर्षेनी खराब हुदैँ गएको थियो । दियालो बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्धक दिपक शाह बितेको डेढ वर्षमा मुस्किलले डेढ करोड मात्रै ऋण असुली गर्न सम्भव भएको बताउँछन् ।
हामीले बचत कर्ताको करिब ८/९ करोड बचत फिर्ता गर्नुपर्ने छ । उनी भन्छन,‘करिब ९ करोडसम्म बचत फिर्ता गर्नुपर्ने छ । भने ऋण असुली मात्रै साढे २९ करोड गर्नुपर्ने छ । सहकारी पुरै धरासयी भएको अबस्था पनि होईन् । केहि व्यक्तिको उस्काहटमा लागेर केहि बचत कर्ता आन्दोलनमा आए । त्यसले झनै ऋण असुलीमा समस्या ल्यायो । तर हामी निरन्तर ऋण असुलीमै जुटेका छौ ।’
ऋण असुली बिना बचत कर्ताको बचत फिर्ता सम्भव नरहेकोले पटक पटक ताकेता गर्दा पनि अटेरी गरेका सबै ऋणीको तीन पुस्ते सहित ऋणको विवरण मिडिया देखि बजारका चोक चोकमा सार्वजानिक गर्ने समेत सहकारीले तयारी गरेको छ ।



