कर्णाली प्रदेशलाई प्रथामिकतामा राखी बजेट ल्याउन सांसद कठायतको माग

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्रथामिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउन माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद कठायतले कर्णालीलाई प्रथामिकतामा राखेर आगामी आर्थिक वर्ष २०८२÷८३ को वर्षको बजेट ल्याउन माग गरेकी हुन् ।

सांसद कठायतले सरकारको कूल पूँजीगत बजेटको १५ प्रतिशत बजेट कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य,पर्यटन,कृषि प्रर्बद्धन तथा रोजगारी सृजनाका लागि विनियोजन गरिनु पर्नेमा जोड दिईन् । कर्णाली पुगेर नेताहरुले कर्णालीमा सम्भावना भएको,विकास नभए,विकास प्रेमी नेतानै नभएको भन्ने जस्ता अभिव्यक्ति दिने तर केन्द्रमा आएर कर्णालीमा बजेट दिन कन्जुसाई गर्ने दोहोरो चरित्रले कर्णाली पछि परेको उल्लेख गरिन् ।

उनले भनिन्,‘राज्यबाटै कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ । राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ ? कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ ।’

कर्णाली घुम्न आएका बेला सम्भावना देख्ने नेताहरुले ती सम्भावनालाई अबसरमा रुपान्तरण गर्न बजेट विनियोजनका लागि किन बोल्दैनन् ? समग्र कर्णालीमा जाने बजेट भन्दा मन्त्रीको जिल्लामा जाने बजेट बढी हुने प्रबृत्ती हामीले देखीसकेकोले अबको बजेटमा कर्णालीलाई उपेक्षा गरिए शसक्त प्रतिवाद हुने समेत चेतावनी दिईन् ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस