अलपत्र योजनाहरु अघि बढाउन राजनीतिक दलले गराए सिडिओको ध्यानर्कषण

जुम्ला । जुम्लाका अलपत्र योजनाहरुलाई अघि बढाउन राजनीतिक दलहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानर्कषण गराएका छन् । खानेपानी,सडक,पूल,ढल व्यवस्थापन,करिडोर निर्माण,सिलेट बिछ्याउने लगायतका योजना निर्माणमा ढिला सूस्ती भएको र केही योजना अलपत्र समेत रहेकाले तत्काल अघि बढाउन दलहरुले प्रजिअको ध्यानर्कषण गराएका हुन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय जुम्लामा भएको छलफलमा नेपाली काँग्रेसका कार्यबाहक सभापति कार्मा बुढा,नेकपा एमालेका अध्यक्ष शान्तिलाल महत,नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपाने र रास्वपाका जिल्ला संयोजक मक्कर बहादुर भण्डारीले जिल्लामा थुप्रै आयोजना अलपत्र रहेको र प्रजिअले ती आयोजना अघि बढाउन गम्भीरता पूर्वक ध्यान दिनु पर्ने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष शान्तिलाल महतले जिल्लामा थुपै्र विकास निर्माण आयोजनाहरु अलपत्र पर्दा समेत प्रजिअले चासो नदिएको बताए । कार्यालय र ठेकेदारको मिलेमत्तोमै योजनाहरुमा ढिला सुस्ती भईरहेकोले सम्बन्धित कार्यालय र निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याई काम अघि बढाउन उनले अनुरोध गरे ।

रास्वपाका जिल्ला संयोजक मक्कर बहादुर भण्डारीले चन्दननाथ नगरपालिका वडा नंं १० मा सडक निर्माणका नाममा घर जग्गामा क्षति पुराउने र योजना अलपत्र पार्ने काम मात्रै भएको बताए । सिँचाई कुलोनै भत्काएर सडक खनेपछि अहिले रोपाईको सिजनमा किसानलाई सास्ती भएको छ ।

पटक पटक सघन सहरी तथा भवन निर्माण आयोजनालाई अनुरोध गरेपनि अलपत्र काम अघि नबढेको उनको भनाई छ ।
सिडिओ सावको ध्यानर्कषण पछि पनि आयोजना अघि नबढेमा जनता आन्दोलनमा आउने समेत उनले चेतावनी दिए ।

त्यसैगरी जुम्ला बसपार्क,नाग्म–गमगडी सडकका २ वटा पक्की पूल,जुगाड खोला करिडोर,रंगशाला,बीच बजारमा ढुंगा बिछ्याउने,सभाहल,बृहत्त धौलिगाड खानेपानी आयोजना निर्माणमा ढिला सुस्ती हुनुका साथै केही ठुला योजना अलपत्र अबस्थामा हुँदा प्रमुख जिल्ला अधिकारीले विशेष चासो दिएर काम अघि बढाउन अनुरोध गरिएको छ ।

वर्षातको समय नजिकीदै जाँदा समेत जुगाड खोला करिडोरको आधारभूत काम सकिएको छैन् । खोलाको बीच बीचमा ढुंगा थुपारिएको छ । थपारिएको ढुंगा नपन्छाएको खण्डमा बाढी घरघरमा बस्ने जोखिम भएकोले त्यसतर्फ पनि ध्यान दिननुपर्नेमा जोड दिएका छन् ।

करिब एक दशकदेखि अलपत्र सभाहलको पुर्ननिर्माणका लागि भने सिडिओदेखी राजनीति दल कसैले पनि चासो दिएका छैनन् । संघियता कार्यान्वयन संगै अलपत्र परेको उक्त सभाहल अहिले जीर्ण बन्दै गएको छ । भने एक अर्ब २६ करोड लागतको धौलिगाड खानेपानी आयोजना पनि अलत्रप परेको छ ।

सबै अलपत्र आयोजनाका ठेकेदार तथा सम्बन्धित कार्यालय प्रमुख र सरोकारवालाको सर्वपक्षिय बैठकको आह्वान समेत गरिदिन काँग्रेस कार्यबाहक सभापति कार्मा बुढाले अनुरोध गरेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही अलपत्र आयोजनाका बारेमा लिखित रुपमै दिएको भए याक्सनमा जान सहज हुने बताउँछन् । ढिलै भएपनि जिल्लाका विकास निर्माण बारे दलहरुले राखेको चासोलाई सकरात्मक रुपमा लिदै सबै आयोजनाबारे सम्बन्धित पक्षबाट जानकारी लिएर छलफलको वाताबरण बनाउने बताए ।

दलहरुका प्रतिनिधिले भनेनुसारनै कुनै योजना हचुवाका भरमा हात हाल्दा काम प्रभावित हुन सक्ने भएकाले विकासे कार्यालयका प्रमुख तथा निर्माण व्यवसायी संग बसेर आयोजनाहरु अघि बढाउने बारे छलफल गरिने प्रजिअ शाहीको भनाई छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस