दुई करोड ७८ लाखमा सभाहल सहित जिसस भवन बन्दै

जुम्ला । संघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले नयाँ सभाहल सहित जिल्ला समन्वय समितिको कार्यालय भवन निर्माण हुने भएको छ । पञ्चायत कालमा निर्माण भएको कार्यालय भवन जीर्ण हुदैँ गएको र जिल्लामा सभाहल नहुँदा नियमित हुने कार्यक्रम हरु समेत प्रभावित भएपछि नयाँ सभा सहितको भवन बनाउन थालिएको हो ।

दुई वर्ष भित्र निर्माण सम्पन्न हुने गरी सुविधायुक्त सभा हलको निर्माण कार्य सुरु भएको संघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी चन्द्र खड्काले बताए । उनका अनुसार जिल्ला समन्वय समितिका पुराना संरचनाहरु भत्काएर नयाँ पूर्वाधार निर्माण गरिने छ ।

अहिले निर्माण व्यवसायीले पुराना भवन भत्काउन थालेको छ । उनले भने,‘पाँच करोडको लागतमा ठेक्का आह्वान गरेपनि भ्याट बाहेक २ करोड ७८ लाख १० हजार ६६२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सभाहल सहित भवन निर्माणको ठेक्का कौसिक सन्ध्या जेभी नेपालगन्जले पाएको छ । चालु आवको जेठ १९ गते सम्झौता भई काम अघि बढेको छ । दुई वर्षभित्र सुविधायुक्त सभाहल सहित दुईतले कार्यालय भवन निर्माण हुने छ ।’

चालु आवको अन्तिम सम्ममा भवनको पहिलो तला निर्माण हुने छ । करिब चार सय जना अटाउने क्षामताको सुविधासम्पन्न सभाहल निर्माण हुने छ । बहुवर्षिय आयोजनाका रुपमा अहिले एक करोड ७८ लाख १० हजार लागतमा निर्माण भईरहेको छ ।

भने यस वर्ष पहिलो तला कार्यालय भवन बन्ने र अर्को वर्ष दोस्रो तला निर्माण हुने छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जिल्लामा नियमित कार्यक्रम गर्ने स्थल नहुँदाको समस्यालाई मध्यनजर गर्दै सुविधायुक्त सभाहल निर्माण गर्न लागिएको बताए ।

उनले भने,‘जिल्लाभरीका कार्यक्रम दैनिक रुपमा जिल्ला समन्वय समितिमा हुन्छन् । तर भवन पुरानो हुँदा निकै अव्यवस्थित थियो । सहभाहल नहुँदा कार्यक्रम संचालनमा समस्या हुने गरेको छ । हाम्रो अनुरोधलाई स्वीकार गरेर सभाहल सहित कार्यालय भवन बन्ने भएको छ । समयमै काम सम्पन्न गर्न नियमित निरिक्षण गरिने छ ।’

दशकदेखी अलपत्र पुरानो सभाहल निर्माण
अलपत्र सभाहल कुल ६ करोड १९ लाख ४९ हजार ६ सय ६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सभाहल निर्माणको काम अघि बढेको थियो । त्यसका लागि हालसम्म तीन करोड ५९ लाख २ सय ५६ रुपैयाँ खर्च भइसकेको छ । तर भवन निर्माणको काम ५८ प्रतिशत मात्र भएको छ ।

भने सरियामा खियामा समेत लागेर काम पुरा नहुँदै संरचना जीर्ण भएका छन् । जिल्ला विकास समितिले थालेको काम जिल्ला समन्वय समितिले भने अघि बढाउन सकेन ।

तत्कालीन जिल्ला विकास समिति जत्तिकै बजेट प्राप्त नहुने र विकासे कार्यालयहरु संघ, प्रदेश र स्थानीय तह केन्द्रीत भएकोले सभाहल निर्माण अलपत्र परेको हो ।

संघियतापछि उक्त आयोजनाले कसले जिम्मा लिने भन्ने अन्यौलताले निर्माण अघि बढ्न नसकेको हो । सभाहलको आधा संरचना निर्माणाधीन अवस्थामा छन् । सिमेन्ट झरिसकेको छ । सरीयामा खिया लागेको छ । अलपत्र सभाहल अहिले लागुऔषध प्रयोगको थलो बनेको छ ।

भने,अलपत्र भवन लागु औषध प्रयोगको अखडा बनेपछि जिल्ला समन्वय समितिका प्रमुखको पहलमा घेराबार गरिएको छ । अलपत्र संरचना घेराबार गरेपनि नागरिकले आलोचना समेत गरेका छन् ।

तत्कालीन शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय जुम्लामार्फत आर्थिक वर्ष २०७१/०७२ देखि आयोजना सम्झौता गरी निर्माण कार्य थालेको थियो ।

पूर्वनियोजित तालिका अनुसार सभाहल निर्माणको काम २०७४ भदौ ६ गते सकिनु पर्ने हो । २०७० सालमा जुम्लाबाट चार जना संविधानसभा सदस्य बनेका थिए । २०७९ को निर्वाचनपछि संघ प्रदेश गरी ६ जना सांसद जुम्लाकै छन् । तर कसैले पनि अलपत्र सभाहल अघि बढाउन चासो दिएका छैनन् । नत्र बजेट व्यवस्थापन हुन सकेको छ । नत रोकिएको काम अघि बढाउन प्रक्रिया बढेको छ ।

जिल्ला समन्वय समितिको पाँचौं सभाबाट भने अलपत्र सभाहल निर्माणको कामलाई निरन्तरता दिने निर्णय गरिएको छ । तर कहाँदेखि बजेट माग्ने र कहिले निर्माण कार्य सकाउने स्पष्ट खाका कोर्न सकेको छैन ।

पुरानो ठेक्कालाई निरन्तरता दिने वा अर्को कार्यालयलाई फाइल हस्तान्तरण गर्ने विषयमा जिल्ला समन्वय समिति लगायत सबैले निर्णय गर्नुपर्ने सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव इन्जिनियर चन्द्रबहादुर खड्काले बताए ।

सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयको आडमै १० वर्षदेखी अलपत्र सभाहलको विषय अख्तियारमा पुगेको र उक्त प्रक्रिया टुंग्याउनका लागि प्रक्रियागत जटिलताले समस्या भएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले उल्लेख गरे । नयाँ सभाहल निर्माणपछि जिल्लाका सबै कार्यक्रम,बैठक लगायतका कार्यक्रम संचालन गर्न सहज हुने समन्वय प्रमुख आर्चायले उल्लेख गरे ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस