सिंजा गाउँपालिकाका सबै स्वास्थ्य संस्था पाेषणमैत्री घाेषणा

जुम्ला । जुम्लाकाे सिंजा गाउँपालिकाका सम्पुर्ण स्वास्थ्य संस्थालाई पाेषण मैत्री घाेषणा गरिएकाे छ । पालिका भित्र रहेका स्वास्थ्य चाैकी,आधारभूत स्वास्थ्य केन्द्र लगायत सबै स्वास्थ्य संस्थाहरुलाई जुम्लाकै पहिलाे पालिकाका रुपमा पाेषण मैत्री घाेषणा गरिएकाे हाे ।

सिंजाका गाउँपालिकामा रहेका ३ वटा स्वास्थ्य चाैकी र ३ वटा आधारभूत स्वास्थ्य केन्द्र र पालिकाकाे स्वास्थ्य शाखालाई १६ वटा सूचक पूरागरी पूर्ण पाेषणमैत्री घाेषणा गरिएकाे हाे ।

दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालमा सबै प्रकारका कुपोषण अन्त्य गरी पाेषणमैत्री मुलुक घाेषणा गर्ने संकल्प गरिएको छ । साेही लक्ष्यनुसार सिंजा गाउँपालिका कर्णालीका ७९ वटा पालिका मध्य पाेषणमैत्री घाेषणा हुने पहिलाे पालिका बनेकाे हाे ।

साेमबार प्रतिनिधि सभा सदस्य विनिता कठायतले एक ओैपचारिक कार्यक्रमका बीच सिंजाका स्वास्थ्य संस्थालाई पाेषणमैत्री घाेषणा गरिन् ।

घाेषणा कार्यक्रमपछि बाेल्दै प्रतिनिधि सभा सदस्य विनिता कठायतले विनिता कठायतले पहिलाे पाेषणमैत्री पालिका घाेषणा गरेर सिंजाले कर्णालीमै नमुना उदाहरण पेश गरेकाे बताईन् ।

उनले भनिन,’अब विद्यालयमा पुर्ण रुपमा पाेषणयुक्त खाजा खुवाउने व्यवस्थापन गर्नु पर्छ । जुम्लाका आठै पालिका मध्य पहिलाे पालिकाका रुपमा पाेषण मैत्री घाेषणा हुनु सुखद पक्ष हाे । घाेेषणा कार्यान्वयन र उत्पादन बृद्विमा जाेड दिन जरुरी छ ।’

शारिरिक,मानसिक रुपमा आमा तथा बच्चालाई स्वास्थ राख्नका लागि पाेषणमा ध्यान दिन जरुरी रहेकाे छ । स्थानीय सरकारले नीति तथा कार्यक्रममै पाेषणका सवाललाई प्रथामिकता दिन सुझाव दिईन् ।

बालबालिका भविष्यका कर्णदार भएकाले उनिहरुकाे पाेषण अबस्था सुधार संगै शिक्षा स्वास्थ्यमा पनि ध्यान दिनु पर्ने उल्लेख गरिन् ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सिंजाले हाल सम्म गरेका महत्वपूर्ण काम मध्य पाेषणमैत्री स्वास्थ्य संस्था घाेषणा एक एतिहासिक काम भएकाे बताए । पालिकाले सुरुदेखिनै शिक्षा,स्वास्थ्य,पाेषण सुधारमा काम गर्दै आएकाे प्रतिफल देखिएकाे उल्लेख गरे ।

सिंजाकाे विकास तथा समृद्विका लागि प्लान ईन्टरनेश्नल नेपाल र पेश नेपालले गरेकाे याेगदान तथा सहयाेग समन्वय प्रसंया याेग्य रहेकाे उनकाे भनाई छ ।

पेश नेपालका कार्यकारी निर्देशक किशाेर न्याैपानेले सिंजा गाउँपालिकाले ताेकिएका सबै सूचक पूरा गरेर जुम्लाकै पहिलाे पाेषणमैत्री स्वास्थ्य घाेषणा गर्न सफल भएकाेमा बधाई दिए । घाेषणा गर्नु मात्रै महत्वपूर्ण नभई व्यवहारमा कार्यान्वयन गरि पाेषणमा सुधार ल्याउन जरुरी रहेकाले उत्पादन बढाउन तथा खानपानमा ध्यान दिन आग्रह गरे ।

सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित राेकायाले ताेकिएका १६ वटा सूचकहरुलाइ पूरा गरेर जुम्लाकै पहिलाे स्वास्थ्य संस्था पाेषण मैत्री घाेषणा गर्न सफल भएकाे बताए । उनका अनुसार पाेषणमैत्री स्वास्थ्य संस्था घाेषणा कार्यक्रम सम्म विभिन्न तवरबाट सहयाेग तथा याेगदान दिने सराेकारवालाई समेत सम्मान पत्र हस्तान्तरण गरिएकाे छ ।

उनले भने,’यसअघि सिंजा पाेषण प्रर्दशनी मेला आयाेजना गरेका थियाै । आज पाेषणमैत्री स्वास्थ्य संस्था घाेषणा गर्न सफल भयाै । रैथानेबालीको उपभोग बढाएर मातृशिशुमा हुने कूपोषणलाई शुन्यमा झार्ने र आम नागरिकलाई असल खानपानका विषयमा सिंजाले उल्लेखीय काम गरेकाे छ ।’

सिंजा गाउँपालिका,पेश नेपाल र प्लान ईन्टरनेश्नल नेपालकाे समन्वय सहकार्यमा सिंजाका स्वास्थ्य संस्थाहरु पाेषणमैत्री घाेषणा भएका हुन्।

सिंजा गाउँपालिका घरमा हुने सुत्केरी दरलाई शुन्यमा झार्ने र पूर्ण सरसफाईयुक्त वडा तथा पालिका घाेषणाकाे तयारीमा छ ।

प्रकाशित मिति : २०८२ असार १० गते सोमवार
प्रतिक्रिया दिनुहोस