हिमामा कर्णालीकै पहिलाे पढाइ मेला: विद्यालय सुधारदेखि प्रतिभा पहिचानमा काेशेढुंगा

जुम्ला । सरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनी करोडौँ लगानी गरेपनि अपेक्षित उपलब्धी हासिल हुन सकेको छैन । सरकारी लगानी उपलब्धी विहीन बन्दै छ । 

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ । शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्था कमजोर,अभिभावक,विद्यार्थी,शिक्षक र स्थानीय सरकारबीच भेला नहुनु,अन्वेषण तथा विद्यार्थीका प्रतिभा पहिचानका कार्यक्रममा नहुनुले सामुदायिक विद्यालय सुधारकाे विषय चुनाैतीपूर्ण बन्दै गएकाे छ ।

नीजि विद्यालय प्रतिको बढ्दो आकर्षणले सरकारी लगानीका सामुदायिक विद्यालयहरू रित्तिँदै छन् । अधिकांश स्थानीय तहमा सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन ठोस कार्यक्रम पनि छैनन् । नत विद्यालय प्राेत्साहनका कार्यक्रम छन् । नत राम्राे गर्नेलाइ सम्मान र नराम्राे गर्नेलाई दण्डित गर्ने नीति । जसले हाम्रा सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर खस्कीदै गएकाे अबस्था छ ।

सामुदायिक विद्यालयको व्यवस्थापनसँगै शिक्षा पनि कमजोर हुने, व्यवहारिक शिक्षाको अभाव र मूलतः शिक्षक, अभिभावक र विद्यार्थीहरू नै जिम्मेवार तथा कर्तव्यनिष्ठ नहुँदा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किँदै गएको छ ।  जसका कारण स्थानीयमा नीजि विद्यालय प्रतिको आर्कषण बढ्दै गएको छ । जसका कारण सामुदायिक विद्यालयमा लगानी बढेपनि अपेक्षित रुपमा उपलब्धी हासिल हुन सकेको छैन ।

सामुदायिक विद्यालय सुधार शैक्षिक गुणस्तर कायम गर्न विद्यमान रहेका तमाम चुनाैती र कठिनाईका बीच जुम्लाकाे हिमा गाउँपालिकाले कर्णालीमै पहिलाे ‘पालिका स्तरीय पढाइ मेला’ काे शुभारम्भ गर्याे । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तह मध्यमै पहिलाे पालिकाका रुपमा हिमा गाउँपालिकाले २०८० सालबाट पढाइ मेलाकाे सुरु गरेकाे हाे ।

२०७९ काे स्थानीय तहकाे निर्वाचनबाट हिमा गाउँपालिकाकाे अध्यक्षमा लक्ष्मण बहादुर शाही निर्वाचित भएर आएपछि हिमाले सामाजिक विकासका क्षेत्रमा जिल्लामै अब्बलता प्रस्तुत गर्याे ।

विशेषगरी शिक्षा सुधार सुधारका निनिम्ती सामुदायिक विद्यालयको शिक्षालाई व्यवहारिक एवम् जीवन उपयोगी बनाउन,विद्यालय सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउन र बालबालिकाकाे अन्तरनिहित प्रतिभा पहिचान गर्ने उद्देश्यले कर्णालीकै पहिलो बृहत् पालिका स्तरीय पढाई मेलाको आयोजना गर्याे ।

पहिलाे दुई दिने पढाइ मेला २०८० जेठ १५ गते गणतन्त्र दिवसका अबसरमा गरियाे । मेलामा पालिकाका सात वडाका सात विद्यालयले विभिन्न शैक्षिक स्टल प्रदर्शन गरेका छन् ।

जसमा स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका कृषि तथा उद्यमशीलता सामाग्री, विषयगत पठन सामाग्री निर्माण, विद्यार्थीहरूले आफै निर्माण गरेका सृजनात्मक सामाग्रीहरू –कथा कविता, निबन्ध, गीत, त्यस्तै, चित्रकला, हस्तकला सम्बन्धी सामाग्री, विद्यालय स्तरमा बनेका शैक्षिक सामाग्रीलगायत विभिन्न स्टलहरू प्रदर्शनीमा राखियाे ।

पढाइ मेलाले बालबालिकामा लुकेकाे अन्वेषण क्षामता तथा प्रतिभाकाे प्रस्पाेटन भएकाे देखियाे । मेला भन्ने बित्तिकै गित गाउने र रमाउने साेचेका नागरिककाे साेचाईनै हिमाकाे पढाइ मेलाले परिवर्तन गरि दियाे ।

मेलामा उत्कृष्ट हुने विद्यालयले ५ लाख पुरस्कार पाउने,उत्कृष्ट विद्यार्थीले वर्षभरी पुग्ने शैक्षिक सामाग्री पाउने कुरामा अन्तर विद्यालय र विद्यार्थीबीच प्रतिस्र्धाकाे भावना विकास भयाे । जसकाे उपलब्धी स्वरुप हिमाका सामुदायिक विद्यालय सुधारकाे बाटाेमा छन् ।

मेलामा शिक्षा केन्द्रित देउडा गीत प्रतियाेगिता, निवन्ध वक्तृत्वकला, हाजिरी जवाफ, नृत्य र कम्प्युटर टाइपिङ,स्मरण शक्ति जाँच लगायत प्रतियोगिताले विद्यार्थीमा पढ्ने र मेहेनत गर्ने बानीकाे विकास मात्रै भएन् । उत्कृष्ट विद्यालय लाखाै पुरस्कार पाउने भएपछि शिक्षक विद्यार्थीहरु स्थानीय स्राेत साधनमा आधारित शैक्षिक सामाग्री बनाउन समेत अब्बल भए ।

पहिलाे वर्षकाे पढाइ मेलामा बाह्य हिसाबमा केही टिप्पणी भएपनि शैक्षिक सुधारका लागि मेला काेशेढुंगा सावित भएकाे हिमाबासीले महसुश गरेपछि दाेस्राे वर्षकाे पढाइ मेलामा निकै उत्साहजनक सहभागिता रह्याे ।

धेरै पालिकाका त्यस्ता कार्यक्रम छन । जुन पहिलाे वर्ष भएपछि दाेस्राे वर्षदेखि बन्द हुन्छन् । तर हिमाले सामुदायिक शिक्षा सुुधारकाे दिर्घकालिन साेच बाेक्दै पढाइ मेलालाई निरन्तरता दियाे ।

फलस्वरुप २०८१ असार ५ र ६ गते रुपाकाेट आधारभूत विद्यालयमा दाेस्राे पढाइ मेला आयाेजना भयाे । दाेस्राे पढाइ मेलामा नेत्र ज्याेति मावी ओदीले प्रतियाेगिता निर्धारित ८ वटा विद्यामा उत्कृष्ट पालिकामै उत्कृष्ट घाेषित भयाे । उक्त विद्यालयले प्राेत्साहन बापत ५ लाख पुरस्कार पाउने पालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले घाेषणा गरे ।

त्यसपछि हिमामा झनै शैक्षिक गतिविधिहरु बढ्न थाले । जिल्ला स्तरीय हाजिरि जवाफ,बालविवाह मुक्त पालिका,जल सम्मेलन,वास सम्मेलन,खानेपानी विकासमा अग्रसरता जस्ता गतिविधिले हिमा सामाजिक विकासमा अग्रसर रहेकाे कुरा पृष्टि हुन्छ ।

विद्यार्थीमा बढ्दै गएकाे प्रतिस्पर्धा,विद्यालय सुधारमा तम्सीएका शिक्षक, सक्रिय बन्दै गएका अभिभावक र उत्सवका रुपमा मनाउन तयार शिक्षा शाखा,अन्य कर्मचारीकाे भावनालाई मध्यरनगर गर्दै हिमा गाउँपालिकाले तेस्राे वर्षपनि पालिका स्तरीय पढाई मेलालाई निरन्तरता दियाे ।

२०८२ असार१३ र १४ गते हिमा गाउँपालिका वडा नं १ देवारगाउँ स्थित कालिका आधारभूत विद्यालयमा तेस्राे पढाइ मेला आयाेजना गरियाे । मेलामा सहभागी विद्यालय मध्य ८ वटा सूचककमा अब्बल सावित हुँदै लगातार दाेस्राे पनि नेत्र ज्याेति मावि ओदी उत्कृष्ट बन्याे ।

गाउँपालिका अध्यक्ष शाहीले उत्कृष्ट हुने विद्यालय नेत्रज्याेती मावि ओदीलाई प्राेत्साहन स्वरुप १० लाख दिने घाेषणा गरे । आधारभूत तहमध्य उत्कृष्ट कार्य गर्ने रुपाकाेट आविलाई २५ लाख र विद्यालयकाे भाैतिक,शैक्षिक तथा प्रशासनिक सुधारका लागि मेला आयाेजना भएकाे कालिका आवि देवारगाउँलाई २५ लाख दिने घाेषणा गरे ।

भने उत्कृष्ट हुने विद्यार्थीले बाेक्नै नसक्ने शैक्षिक सामाग्री भारी पाएका छन् । हिमा गाउँपालिकाकाे अदृत्तिय प्राेत्साहन र हाैसलाले पढाइ मेला प्रति हिमाबासी संगै जिल्लाबासीनै आर्कषित बन्दै गएका छन् । हिमा गाउँपालिका स्तरीय चाैथाै पढाइ मेला अझै बाक्लाे सहभागितासंगै आकर्षक शैक्षिक सामाग्री प्रर्दशन हुने अनुमान गरिएकाे छ ।

सामाजिक विकासमा हिमाकाे अग्रसरता
हिमा गाउँपालिकाले भाैतिक विकाससंगै सामाजिक विकासमा विशेष प्रथामिकता दिएकाे छ । दिगाे विकास लक्ष्य र राष्टि्य रणनीतिनुसार बालविवाह मुक्त पालिका,खानेपानी विकास,शैक्षिक सुधार लगायतका क्षेत्रमा हिमाले उल्लेखीय रुपमा काम गर्दै आएकाे छ ।

शनिवार तेस्राे पढाई मेलाकाे समापन गर्दै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले भाैतिक विकासले मात्रै समाज रुपान्तरण नहुने भएकाेले सामाजिक विकासमा जाेड दिएकाे बताए ।

भाैतिक विकासले बाटाे बन्छ । स्वरुप फेरिन्छ । तर मानव चेतनाकाे विकास नभए सम्म विकासकाे अर्थ छैन् भन्ने तथ्यमा हामी गम्भीर छाै । अध्यक्ष शाहीले भने,’ सामुदायिक विद्यालयको शैक्षिक, प्रशासनिक र भौतिक संरचनाको विकासमा सुरुवाती देखिनै जोड दिएका छाै ।

हिमाले सामुदायिक विद्यालयमा डिजिटल हाजिरीदेखि फ्रि वाई फाई जडान गर्ने, सरकारी विद्यालयमा बालबालिकाको पहुँच वृद्धि गर्ने, व्यवहारिक शिक्षामा हाम्रा प्रथामिकता हुन् ।’ पढाई मेला सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने एक अस्त्र हो ।’

विद्यार्थी शिक्षक अभिभावक बीचका ज्ञान सिप अनुभव आदान प्रदान गर्ने, स्थानीय स्रोत साधनबाट विभिन्न सामाग्री बनाउन विद्यार्थीलाई प्रेरित गर्ने, पठन सिपको विकास, सिकाई उपलब्धी हासिल गर्न तथा सामुदायिक विद्यालयको शिक्षा सुधारका निम्ति पढाइ मेला काेशेढुंगा बनेकाे छ ।

आगामी वर्ष पढाइ मेला संगै जिल्लाकेै बृहत्त शैक्षिक बहस आयाेजना गर्ने तयारी भईरहेकाे अध्यक्ष शाहीकाे भनाई छ ।
मेलालाई सामुदायिक विद्यालयको शिक्षा सुधार गर्ने नयाँ अभ्यासका रुपमा हेरिएकाे छ ।यस्ता कार्यक्रमले सामुदायिक विद्यालयप्रति नागरिकको सकारात्मक धारणा विकास हुने समेत अपेक्षा छ । भने अन्य पालिकाले पनि यस्ता कार्यक्रम अघि बढाउन जरुरी रहेकाे छ ।

पालिकाभर रहेका २३ वटा सामुदायिक विद्यालयकै शैक्षिक अवस्था सुधार गर्न, बालबालिकाको पहुँच वृद्धिका लागि शिक्षा नीति काशेढुंगा सावित हुने अपेक्षा गरिएको अध्यक्ष शाहीको भनाई छ । 

पाठ्यपुस्तकको ज्ञानसँगै विद्यार्थीलाई बाहिरी ज्ञानमा पनि पोख्त बनाई भविष्यमा दक्ष जनशक्ति बनाउन रचनात्मक, प्रयोगात्मक कार्यक्रममामा पालिकाले जोड दिने हिमाकी उपाध्यक्ष सुर्पना शाहीले बताईन् । । 

सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक शिक्षा अवस्था सुधार गर्न तथा बालबालिकाको पहुँच वृद्धिका लागि नीति निर्माण र लगानी वृद्धिमा स्थानीय सरकारले ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले बताए । उनका अनुसार हिमा सरकारले शिक्षा क्षेत्रमा गरेको काम प्रशंसा योग्य छ ।  

हिमा गाउँपालिकाको आयोजनामा पढाई मेलाको आयोजना गरिएको हो । हिमामा विद्यालयहरूले गरेका नमुना अभ्यासहरू पनि एक आपसमा आदान प्रदान हुने छन् । हिमा गाउँपालिकाको रुपाकोट आधारभूत विद्यालयले मेलाको आयोजना गर्ने छ ।

हिमा गाउँपालिका शिक्षा शाखा प्रमुख दन्त बहादुर शाहीले शिक्षा क्षेत्रको विकासमा पढाई मेलाले इँटा थपेको बताए । उनका अनुसार पढाई मेलामा शिक्षक र बिद्यार्थीहरुको भेला सँगै शिक्षण सिकाइका क्रियाकलाप र विभिन्न प्रतियोगिता हुने गरेकाे छ । पढाई मेलाले सामुदायिक विद्यालय तथा शिक्षण विधि सुधारमा सबैको ध्यानाकर्षण समेत गराउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताए ।
शैक्षिक मेलाकाे जिल्लामा सराना
हिमा गाउँपालिकाले थालेकाे शैक्षिक अभियान अन्तर्गत पढाइ मेलाकाे जिल्लाबासीले सराना गरेका छन् । शिक्षा क्षेत्र सुधारकाे विषय चुनाैतीपूर्ण बन्दै गएकाे बेला बालबालिकाकाे बृद्वि विकास,सिकाई उपलब्धी हासिल संगै समग्र सामुदायिक विद्यालय सुधारकाे लागि हरेक वर्ष हिमाले गरिरहेकाे पढाइ मेला एक उत्कृष्ट कार्य रहेकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले बताए ।

शिक्षा क्षेत्रमा नविनतम काम गर्नेमा हिमा कर्णालीकै पहिलाे हाे । प्रमुख आर्चायले भने,’ सामुदायिक विद्यालयको सुधारका लागि हिमा गाउँपालिकाले गरेको काम अनुसरणयोग्य छ। भौतिक विकासले मात्र समाज रूपान्तरण सम्भव नहुने तथ्यलाई आत्मसाथ गर्दै हिमा गाउँपालिकाले शैक्षिक क्षेत्रमा गरेको अनुकरणीय कामलाई जिल्लाभर लागु गर्न जरुरी छ ।’

लगातार दाेस्राे पटक उत्कृष्ट बनेकाे नेत्रज्याेति मावि ओदीका प्रधानाध्यापक रंग बहादुर राेकायाले हिमा गाउँपालिकाले सुरु गरेकाे पढाइ मेलाले हिमामा शैक्षिक क्रान्ति सुरु भएकाे बताए ।

उनले भने,’हिमामा विगतमा शैक्षिक गतिविधि न्यून हुुन्थे । विद्यालयहरु सुनसान जस्तै थिए । तर हिमामा लक्ष्मण बहादुर शाहीकाे नेतृत्वमा आएपछि शैक्षिक गतिविधिले प्रथामिकता पाए । निरन्तर तेस्राे वर्ष सम्म भईरहेकाे पढाइ मेलाले बालबालिकाकाे सिकाई बृद्वि,प्रतिभा पहिचान,स्थानीय स्राेत साधनकाे उपभाेग र अन्तरविद्यालय बीच बढी राम्राे कसले गर्ने भन्ने प्रतिष्प्रर्धा बढ्याे । जसले गर्दा हिमाका सामुदायिक विद्यालय सुधार हुँदै गएकाे महसुश भएकाे छ ।’

प्रकाशित मिति : २०८२ असार १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस