कर्णाली प्रदेशको सङ्‍गठन संरचना अध्ययन प्रतिवेदनमा मैले जे देखेँ

प्रतिवेदन भित्र मैले जे देखेँ:
म सरकारको मान्छे हुँ। झट्ट हेर्दा सरकारको बिरोध जस्तो देखिएला, तर यो अभिप्राय बिलकुल होइन। र अर्को, दिग्गज विज्ञहरूले लामो अध्ययन पश्चात कर्णाली प्रदेश सरकारले स्वीकारेको प्रतिवेदनमाथि मेरो टिप्पणीको स्तर पक्कैपनि नपुग्ला। तर यो प्रतिवेदन पढ्दा केहि नलेखी बस्न सकिन।

केहि संबैधानिक प्रावधान, केहि कानुनी प्रावधान, अदालतको निर्देशानात्मक आदेश र केही मेरा बिचार प्रस्तुत गर्ने जमर्को गरेको छु, जसले कर्णाली प्रदेश सरकारलाई थप सहयोग पुगोस भन्ने मेरो विश्वास हो तथापि,राय ग्रहण गर्ने नगर्ने सरकारको विषय भयो।

प्रतिवेदनमा मुख्यतया,८ मन्त्रालयलाई ६ वटामा झार्ने, स्वास्थ्य सेवा निर्देशनालय बाहेक अन्य सबै निर्देशनालयहरू र अधिकांश जिल्ला कार्यालय खारेज गर्ने, एक जिल्लामा ४ वटा मात्रै प्रदेश कार्यालय राख्ने,कर्मचारीको दरबन्दी ब्यापक कटौती गर्ने, प्रदेश योजना आयोग लगायत अनावश्यक निकायहरु खारेज गरी मुख्यमन्त्री कार्यालय भित्र ल्याउने आदिद्वारा वित्तीय अनुशासनमा कडाइ गर्न खोजिएको जस्तो देखिन्छ।

प्रतिवेदनमा दुईवटा विकल्पहरू दिईएको छ। त्यसमा पनि तत्काल कार्यन्वयन र केही पछि कार्यान्वयन गर्ने गरी सुझाइएको छ। समग्रमा २ वटा मन्त्रालय, १ वटा आयोग, १ वटा न्यायाधिवक्ता कार्यालय, ७ वटा निर्देशनालय, ५८ वटा जिल्ला कार्यालय तथा केन्द्रहरू गरी जम्मा ६९ वटा संरचनाहरू खारेज गर्ने क्रान्तिकारी सिफारिस गरेको देखिन्छ।
यसरी हेर्दा, प्रतिवेदनमा मुलत: सैद्धान्तिक र व्यवहारिक पक्षलाई ओझेलमा पारी, मितव्ययीताको पक्षलाई मात्र भावनात्मक रूपमा ब्याख्या गरी अध्ययन तथा विश्लेषण गरिएको देखिन्छ।

सन्निकटताको सिद्धान्तलाई सुझावको महत्त्वपूर्ण आधार बनाइएको भनिए तापनि प्रस्तावमा त्यसको बिपरित, भएका संरचनाहरु खारेज गरिएको छ, सेवा प्रवाह जटिल बनाइएको छ। उपलब्ध स्रोत र साधनहरूलाई प्रभावकारी र मितव्ययी तरिकाले कार्यान्वयन गर्न नसकिएमा कर्मचारी व्यवस्थापन, सेवा-सुविधा र प्रदेश सरकारका सेवा प्रवाहमा सङ्कट आउन सक्ने चिन्ता ब्यक्त गरिएको छ।

तर यसमा नै सन्निकटताको सिद्धान्तमा द्वन्द सृजना गरिएको देखिन्छ। सुशासनलाई धुरी मान्दै संगठन संरचना तयार गर्दा सामर्थ्यको सिद्धान्त, जवाफदेहिताको सिद्धान्त, मितव्ययिताको सिद्धान्त र सहकार्यताको सिद्धान्त अर्थात् चार खम्बे सिद्धान्तलाइ आधारस्तम्भको रूपमा लिइएको उल्लेख छ तर प्रतिवेदनमा सुशासन, जवाफदेहिता र सहकार्यतालाई टाढा राखिएको पाइयो।

त्यसैले, अधिकांश प्रस्तावहरूमा कानुनी आधारभन्दा पनि भावनात्मक तथा निर्देशात्मक विचारहरूको साङ्गोपाङ्गो प्रस्तुति मात्र झल्किन्छ।

नेपालको संविधानले संघीय शासन प्रणालीलाई अङ्गिकार गरी संघ, प्रदेश र स्थानीय तहमा अधिकारको स्पष्ट बाँडफाँट गरेको छ।संविधानको धारा २८५ मा प्रदेश सरकारलाई आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बनाउने र विभिन्न सरकारी सेवाको गठन र सञ्चालन गर्न सक्ने प्रावधान छ। यसै अनुरूप, कर्णाली प्रदेश सरकारले आफ्नो प्रशासनिक र संगठनात्मक संरचना प्रभावकारी बनाउन एक उच्चस्तरीय समिति गठन गर्यो।

सो समितिले यहि असार १५ गते आफ्नो प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको थियो।सो अध्ययनमा सरोकारवाला निकायहरुसँग व्यापक छलफल गर्नुपर्थ्यो, राय सुझाव माग गर्नुपर्थ्यो। तर त्यसो नभएको कुरा हाम्रो तालुक मन्त्रालयका सचिवज्यूको कुराबाट बुझियो। अझ हामी जस्ता सरोकारवाला कर्मचारीहरूले त सुइँकोसम्म पाउन सकेनौँ।हस्तान्तरण पश्चात पनि सुरूका केहिदिन प्रतिवेदन गुमनाम थियो। जब मन्त्रीपरिषदले प्रतिवेदन कार्यान्वयन समिति गठन गर्यो त्यसपछि विभिन्न छापा, मिडिया वा सञ्जालहरूमा प्रतिवेदन छ्यापछ्याप्ती भयो।

सञ्जालहरूमा गरमागरम बहस सुरू हुन थाल्यो। यसले बहसलाई कर्णाली प्रदेशमा मात्र सीमित राखेन। अन्य प्रदेशका कर्मचारीहरूलाइ पनि चासो राख्न बाध्य बनायो। सम्बन्धित सेवा समूहसँग चासो र चिन्ता त हुने नै भयो। किनकि प्रतिवेदन भित्रका प्रस्तावहरु अप्रत्यासित थिए। अर्थात् प्रतिवेदन नै अप्रत्यासित प्रावधानहरूको प्रस्ताव थियो भन्दा पनि फरक नपर्ला।

यसले अन्य प्रदेशका कर्मचारीहरूलाइ पनि सशंकित पार्यो, अचम्मित पार्यो।प्रतिवेदनले विभिन्न मन्त्रालय, निकाय र कार्यालयहरूको पुनर्संरचना मात्र नभई केही मन्त्रालय, थुप्रै निकाय र कार्यालयहरू खारेजी, दरबन्दी कटौती र सेवा समूह/उपसमूह खारेजीको प्रस्ताव गरेको छ। यद्यपि, यो प्रतिवेदनले संवैधानिक मार्गदर्शन, निजामती सेवा ऐन २०४९, कर्मचारी समायोजन ऐन २०७५ ले निर्दिष्ट गरेका कानुनी प्रावधानलाइ नजरअन्दाज गरेको भान भएको छ।साथै,यसै संगठन संरचना सम्बन्धमा उच्च अदालत सुर्खेतको निर्देशनात्मक आदेशलाइ पनि अन्देखा गरेको जस्तो देखियो। पुनश्च: संविधानको धारा २८५ को उपधारा ३ मा कानुन बमोजिम गठन र संचालन भनिएको कुरालाई ध्यान दिनु जरुरी छ।

उदाहरणको लागि, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सन्दर्भमा यो प्रतिवेदनले साविकका उपसमूहको खारेजी गरी नयाँ उपसमूहको जन्म गरेको छ – पूर्वाधार र जलश्रोत। यस्तै,कर्मचारी दरबन्दी कटौती र संगठन संरचनाको खारेज र एकीकरण जस्ता प्रस्तावहरू प्रस्तुत गरेको छ,जुन कानुनी र व्यावहारिक दृष्टिकोणले असम्भव प्राय: देखिन्छ।

किनभने निजामती सेवा ऐन, २०४९ को दफा ७५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले नेपाल इन्जिनियरिङ्ग सेवा (गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ मा सेवा विशिष्टीकरणर उपसमुह हुने विशिष्ट व्यवस्था गरेको छ र त्यसैमा सेवा समूह, उपसमूहको विस्तृत परिभाषा सहित विभाजन गरेको छ।

सोही अनुसार लोकसेवा आयोगले विज्ञापन गर्दै पदपूर्ति गर्दै आइरहेको छ। साथै प्रस्तावित संघीय निजामती बिधेयकमा अन्तर-प्रदेश सरुवाको व्यवस्था राखेको छ। यसरी अर्को कुनैपनि प्रदेशले उल्लेखित नयाँ उपसमूह कानुनत चिन्न सक्दैन।

त्यो सम्भावना पनि शून्य हुने नै भयो। यस्तो जटिल, संवेदनशील र विशिष्ट विज्ञता आवश्यकताको प्राविधिक सेवामा एकीकृत‍ पूर्वाधार विकास कार्यालयको अवधारणामा उपसमूह नै खारेज गरेको वा अपरिभाषित र आधारहिन नयाँ उपसमूह जन्माएको कुराले इन्जिनियरिंङ् सेवाजस्तो जटिल विधालाइ कति हल्का रूपले हेरिएको रहेछ भन्ने कुरा प्रष्ट हुन्छ।

मन्त्रालय मर्ज गर्ने, कार्यालयहरु खारेज तथा स्थापना गर्ने आदि कुरा सरकारको तजबिजको कुरा होलान्। तर प्रदेश स्थापना पश्चात् तीन पटक संगठन संरचना परिवर्तन हुदाको सास्ती हामीले भोगिरहेकै छौँ। यसो हुदैगर्दा पनि सो संरचनामा भएका विशिष्टीकृत दरबन्दी कटौती गर्न कानुनत: मिल्दै नमिल्ने कुरा हुन्।

फेरि पनि उदाहरणको लागि, प्रतिवेदन अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाइ खारेज गरी भौतिक पूर्वाधार विकास मन्त्रालय बनाउने, निर्देशनालय खारेज गर्ने, कार्यालयहरू खारेज गर्ने वा एकीकृत गर्ने कुरा राजनीतिक मुद्दा होलान, सरकारको विषय होला।तर त्यहाँ रहेका दरवन्दी समेत नदेखिनु वा कटौती गर्नु कानुन सम्मत हुनै नसक्ने विषय हुन्।

मिल्दै नमिल्ने कुरा हो। जस्तो पूर्वाधार विकास निर्देशनालयमा भएको एघारौँ तहको दरवन्दी यो प्रतिवेदनमा कतै देखिदैन। यस्तै एकीकृत पूर्वाधार कार्यालयको दरवन्दी तेरिजमा कार्यालय प्रमुख सिभिल/पूर्वाधारको ९/१० तहको सि.डि.ई. हुने भनिएको छ। हाल प्रदेशमा कार्यरत सबैभन्दा सिनियर स्यानिटरी उपसमुह, १० औँ तहका सिनियर डिभिजनल इन्जिनियर र इरिगेसन उपसमुहका ५ जना हाल कार्यरत सिनियर डिभिजनल इन्जिनियर कता जाने हुन ? उनीहरुको स्थान कहाँ हो ? ती पदनाम कतै देखिदैनन्। अझ प्रदेशको आफ्नै सचिव अर्थात १२ औँ तह रहने अधिकारको त कल्पना सम्म गरिएको देखिदैन। अर्थात प्रदेशले आफ्नै अधिकार समेत सुम्पिन खोजेको जस्तो देखिन्छ।

यसरी नै प्रदेशका अन्य मन्त्रालय, निकाय, कार्यालय आदिको संरचना खारेज, एकीकरण र त्यससँग सम्बन्धित सेवा समूह/उपसमूहहरूको खारेजी, व्यापक दरवन्दी कटौती आदि प्रतिवेदनमा प्रस्ताव गरिएको छ। यसबाट यो प्रतिवेदन हचुवामा आधारित तथा विशेषगरी ईन्जिनियरिङ् प्राविधिकहरूको मानमर्दनमा केन्द्रित देखिन्छ ।

अझ गज्जब कुरो, “एकीकृत पूर्वाधार जिल्ला कार्यालयमा जुनसुकै विषयक्षेत्रको भए तापनि सिनियर ९ औँ तहको प्राविधिक कार्यालय प्रमुख हुन सक्ने छ” भनिएको छ। यसरी यहाँ १० औँ तहको समेतको दरवन्दी कहाँ रहने भन्ने थप अन्योल सिर्जना गरेको छ। तर फेरी दरवन्दी तेरिजमा कार्यालय प्रमुख सिभिल/पूर्वाधारको ९/१० तहको सि.डि.ई हुने भनिएको छ। फेरी अर्को बुदामा, “पूर्वाधार विकास कार्यालय र आर्थिक विकास कार्यालयमा एघारौं तहको प्रमुख अन्तर्गत विषयगत शाखा राखी खर्चको अख्तियारी विषयगत शाखालाई प्रदान गर्नु उचित हुनेछ”, भनिएको छ।

यसरी प्रतिवेदनको ब्याख्या, प्रस्ताव सुझाव र दरवन्दी तेरिज आफैमा बाझिएको छ। कार्य प्रकृति र कार्य संवेदनशीलताको आधारमा यसै पनि हालको दरवन्दी अनुसार नै प्राविधिक जनशक्ति कम महसुस भएकोमा साविकका प्राविधिक दरवन्दी समेत कटौती गर्न सिफारिस गरिएको देखिन्छ।

यस्तै अन्य सेवा समूह संचालन गर्ने संरचनाहरुको अवस्था पनि फरक छैन। मन्त्रालय, संरचना खारेजी, मर्ज र दरबन्दीमा व्यापक कटौती लगायत सेवा समूह समेतमा ब्यापक परिवर्तन गर्न खोजिएको देखिन्छ।यसले कर्मचारीको विषयगत पहिचान, दक्षता र पदोन्नतिको मार्ग बन्द हुने अवस्था देखिन्छ।

जस्तो, “केन्द्रबाट समायोजन भएर आएका र प्रदेश सरकारले यसअघि सिर्जना गरेका पदहरू जस्तै: वनरक्षक, कार्यालय सहयोगी, हलुका सवारी चालक, कम्प्युटर अपरेटर, र खरिदार जस्ता पदहरू कर्मचारी अवकाश भएपश्चात् स्वतः खारेज हुनेछन्”।

प्रतिवेदनमा भनिएको छ। यस्तै हालका जिल्लास्थित प्रदेश लेखा इकाई कार्यालय, कृषि विकास कार्यालय, समाजिक विकास कार्यालय, उपभोक्ता हित संरक्षण कार्यालय, पशु अस्पताल आदि खारेजको सिफारिस गरिएको छ।समाजिक विकास कार्यालयलाई जिल्ला अस्पतालको शाखा र अन्यलाई एक आर्थिक विकास कार्यालय राख्ने सिफारिस गरिएको छ।

यस्तो अवस्थामा जिल्ला अस्पताल नभएका सुर्खेत र जुम्ला जिल्लाको लागि समाजिक विकास कार्यालयको बारेमा भने सोचिएको छैन, लेखिएको छैन।प्रदेश लेखा इकाईले गर्ने भुक्नीको काम संघीय कोलेनिकाले गराउने भनिएको छ। यस्तै साविकका वन डिभिजन कार्यालय ५० प्रतिशतले कटौती गर्ने कुरा उल्लेख छ ।

हाल प्रदेशहरुको संरचनागत अवस्था:
संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री सहित प्रदेशसभाका कुल सदस्य संख्याको बीस प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ। यस प्रावधानलाई टेकी कर्णाली प्रदेश सरकारले प्रदेश सभाका कुल ४० सदस्यका २० प्रतिशतले हुने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ८ वटा मन्त्रालय गठन गरेको छ।

कर्णाली प्रदेशकोलागि यो नै अधिकतम हो।तर प्रदेशपिच्छे प्रदेशसभा सदस्य फरक छन्। र यसै अनुसार मन्त्रालय संख्याहरू पनि फरक फरक छन्। उदाहरणका लागि, सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको बाग्मती प्रदेशमा हाल१४ वटा मन्त्रालयहरू छन। प्रदेशसभा कूल सदस्य संख्या ११० को २० प्रतिशतले बढीमा २२ जनाको मन्त्रिपरिषद बन्न सक्छ। अर्थात् राज्यमन्त्री, सहायकमन्त्री नभएको खण्डमा २२ वटा मन्त्रालय खडा गर्न सकिने संवैधानिक प्रावधान नै भयो।

मन्त्रालयको प्रकृति अनुसार कार्यालयहरू पनि फरक हुने नै भए। अर्थात् अहिले मन्त्रालयको प्रकृति अनुसार र जिल्ला अनुसार लगभग १० वटा कार्यालयहरू छन् भन्ने अनुमान हो। हो, कुनै प्रदेशको आफ्नो आन्तरिक आयश्रोत बढी होला, तर के यो हुदैमा राजनीतिक भागबन्डाका लागि प्रशासनिक संरचना थपिरहने हो? प्रशासनिक खर्च बढाई नै रहने हो ?

यसर्थ, कानुनको सुविधाको दुरुपयोग गर्दै सांसद संख्याको २० प्रतिशत नै मन्त्रालय बनाउनु भनेको राजनीतिक भाग मिलाउनु मात्र हो भन्ने कुरामा त दुईमत हुदै भएन। किनकि संविधानले प्रदेशलाइ दिएको एकल र साझा अधिकार सूची त एउटै हुन्, कार्य र प्रकृति उही र उस्तै हुन्। अनि संविधानमा किन यस्तो विभेदकारी प्रावधान राखियो होला? मेरो मनको प्रश्न हो।

कानुनी प्रावधान र जारी निर्देशन
उच्च स्तरीय समितिको नै प्रतिवेदन भइसके पछि कार्यन्वयन योग्य हुनुपर्छ। सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता गरेको पनि सुनियो। तर प्रतिवेदनमा कानुनी पाटो भन्दा पनि भावनात्मक पाटो बलियो देखिन्छ। प्रतिवेदनको मूल ध्येय प्रशासनिक खर्च कटौतीतिर बढी केन्द्रित देखिन्छ। तर विज्ञहरूबाट निर्मित उक्त प्रतिवेदन देहायका कानुनी प्रावधानहरुबाट बिमुख रहेको देखिन्छ।

नेपालको संविधानको अनुसूची ६, ७ र ९ ले संघ, प्रदेश र स्थानीय तहबिच अधिकारको बाँडफाँट स्पष्ट रूपमा गरेको छ। प्रदेश तहलाई पनि विशिष्ट सेवा र कर्मचारी संरचना कायम गर्ने अधिकार दिइए पनि, त्यो अधिकार संघीय ऐन र मापदण्ड विपरीत प्रयोग गर्न पाइँदैन।

यस प्रतिवेदनले संघीय संरचना अन्तर्गत प्रदेशमा समायोजन भएका कर्मचारीका सेवा, समूह, उपसमूह, पद संरचना समेत खारेज वा कटौती गर्न सिफारिस गरी संविधानकै मूल मर्मलाई नै भुलेको देखियो।संघीयता कार्यान्वयनको मूल मर्म भनेकै तीन तहबिचको अधिकार, जिम्मेवारी र समन्वय हो।

समूह/उपसमूह खारेज गर्दा संघीयता कार्यान्वयनमा अवरोध, प्रदेशको प्रशासनिक स्वायत्तता कमजोरर कर्मचारीको पेशागत पहिचान मेटिन्छ।संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सेवा प्रवाह र प्रतिस्पर्धा कमजोर हुन्छ।

यस प्रतिवेदनको प्रस्ताव अनुसारको सङ्गठन संरचना निजामती सेवा ऐन, २०४९ दफा ६ र दफा ७ को पदपूर्ति व्यवस्थासँग मेल नखाने भएकोले कर्मचारीको पदपूर्ति गर्न सकिने अवस्था देखिदैन।किनभने, ऐनले सेवा, समूह, उपसमूहको व्यवस्थालाई मूल आधार मानेर पदपूर्ति, बढुवा, सरुवा, तालिम र सेवा शर्त निर्धारण गरिएको छ। सेवा,समूह/उपसमूह खारेजले ऐनको मूलभूत व्यवस्थामै प्रहार भएको अनुभूति भयो।

यसैगरी, कर्मचारी समायोजन ऐन २०७५ को दफा ३ अनुसार सङ्गठन तथा कर्मचारी दरबन्दी स्वीकृत गर्ने प्रावधान विभिन्न ११ वटा उपदफामा उल्लेख छन। ऐनको दफा १५अनुसार समायोजन भएका कर्मचारीलाई समायोजनको समयमा रहेको सेवा, समूह, उपसमूह र पद कायम राख्नुपर्ने स्पष्ट व्यवस्था छ।

यसै दफा १५ (सेवाका शर्त र सुरक्षा सम्बन्धी मापदण्ड) को उपदफा १ को (ग) मा “प्रदेश वा स्थानीय तहको सेवामा समायोजन भएका कर्मचारी अवकाश नभएसम्म त्यसरी समायोजन हुँदाको पद कायम रहने गरी सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने,” भन्ने प्रष्ट उल्लेख छ ।

यसका साथै सोही दफाको उपदफा १ को (ङ) मा “प्रदेशको सेवामा समायोजन भएका कर्मचारीलाई सम्बन्धित प्रदेश र अन्तर्गतका कार्यालयमा सम्बन्धित सेवा, समूह, उपसमूहको पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने कुरा सुनिश्चित गर्ने” उल्लेख भए अनुसार प्रस्तावित सङ्गठन संरचनाको प्रतिवेदन कर्मचारी समायोजन ऐन २०७५ सँग प्रष्ट बाझिएको देखिन्छ।दरबन्दी कटौती गर्दा ऐनको मर्ममाथि चोटिलो प्रहार हुन्छ।

यस्तै, उच्च अदालत सुर्खेतबाट मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सुर्खेत समेत विपक्ष भएको उत्प्रेषण परमादेश (मुद्दा नं. :- ०७८-WO-०००४) मा मिति २०७८/०८/२२ गतेको फैसलाबाट “….यस्तो स्थितिमा आगामी दिनमा ऐन निर्माण भइ कर्मचारीहरूको संगठन, संरचना र दरबन्दी निर्धारण गर्दा कर्मचारीहरूको पेशागत क्षमता, विषय विज्ञता, सेवा समूह उपसमूह, सेवा शर्त सुविधा तथा वृत्ति विकासमा प्रतिकूल असर नपर्ने गरी तथा कर्मचारी समायोजन ऐन २०७५ को दफा १५ ले निर्धारण गरेको आधार एवम् मापदण्डलाइ समेत मध्यनजर राखी कार्य गर्नू गराउनू…” भनी विपक्षीहरूका नाममा निर्देशनात्मक आदेश जारी भएको छ। तर यस प्रतिवेदनले सो आदेशको पालना गरेको देखिदैन।

अब के गर्ने त?
यो प्रतिवेदनमा सुधार्नुपर्ने कुराहरूमा, सर्वप्रथम उच्चस्तरीय समितिको प्रतिवेदनको परिच्छेद -६, प्रतिवेदन कार्यन्वयनको बाँकी कामको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखा हेर्ने सचिवको संयोजकत्वमा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवको समिति बनाई प्रतिवेदनका बाँकी काम गर्ने भन्ने उल्लेख छ। तर असार २४ गते मंगलबार बसेको कर्णाली प्रदेशको मन्त्रीपरिषदको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा चार सदस्यीय”प्रतिवेदन कार्यान्वयन तथा सहजीकरण समिति”छुट्टै समिति गठन गरेको छ। तर प्रतिवेदनको राय विपरित यसमा अन्य मन्त्रालयका सचिव, विशेषगरी प्राविधिक सचिवहरू जो अनिवार्य हुनुपर्थ्यो, राखिएको छैन।

सरकारलाई सुझाव स्वरूप प्रतिवेदनको बाँकी काम सम्पन्न गर्न प्रतिवेदनको राय अनुसारको समिति पूनर्गठन गरी सबैको अपनत्व लिनु अत्यन्त जरुरी देखिन्छ ।

प्रतिवेदनमा उल्लिखित संरचनागत प्रस्तावहरूलाई संविधान, ऐन र आदेशको मर्म अनुसार परिमार्जन गर्नुपर्छ। प्रदेश निजामति सेवामा सेवा, समूह, उपसमूह यथावत् राखी, संघबाट स्वीकृत दरबन्दी कायम राखी, कर्मचारीको पेशागत हैसियत, सेवा शर्त, पदोन्नति र दक्षता सुरक्षित गर्ने व्यवस्था गर्नुपर्छ।

यस्तै, समग्रमा यसको पहिलो शर्त, संविधान संशोधन गर्ने।सातै वटा प्रदेशमा संरचनागत एकरूपता प्रदान गर्ने नै हो। अर्थात हालको प्रदेश सभा सदस्य संख्याको बढीमा २० प्रतिशतसम्म मन्त्रिपरिषद संख्या रहन सक्ने प्रावधानलाइ संशोधन गरी अधिकतम मन्त्रालय संख्या नै तोकिनु पर्छ। हाल सम्मको अनुभव र अवस्था हेर्दा प्रदेशमा बढीमा ७ वटा मन्त्रालय भन्दा बढी आवश्यकता देखिदैन। त्यसकारण,कम्तिमा सातैवटा प्रदेशमा प्रशासनिक संरचनाहरुको एकरूपता महत्त्वम जरुरी छ।

अत: प्रदेशको संगठन संरचना प्रतिवेदनले संविधान, निजामति कर्मचारी ऐन, कर्मचारी समायोजन ऐन र उच्च अदालतको आदेशको मर्मलाई गम्भीर रूपमा वास्ता नगरिएको देखिन्छ। यसरी,सेवा समूह/उपसमूह खारेज, दरबन्दी कटौती र कानुनी प्रावधानसँगको बेमेलले प्रदेशको प्रशासनिक दक्षता, कर्मचारीको मनोबलर सेवा प्रवाहमा गम्भीर असर पार्ने हुन्छ।

लेखक ई. रुपक रावल “जिज्ञासु” भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय,सुर्खेतमा सिनियर डिभिजनल इन्जिनियर, (उप सचिव) पदमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस