नौ वर्षमा चन्दननाथको साढे सात करोड राजश्व संकलन

जुम्ला । संघियता कार्यान्वयनपछि स्रोत र सम्भावना भएर पनि स्थानीयतहको आन्तरिक आम्दानी अपेक्षाकृत छैन् । संघ र प्रदेशको अनुदानका भरमा संचालित स्थानीय सरकारले आन्तरिक आय बृद्धीमा खासै ध्यान दिएको पनि पाईदैन् । जुम्लामा आठ स्थानीयतह मध्य एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाले भने आन्तरिक आय बृद्धिको उकालो यात्रा तय गरेको छ ।

चन्दननाथ नगरपालिका जिल्ला सदरमुकाममा अबस्थित नगरपालिका हो । नगरपालिकाले भने वार्षिक लक्ष्यनुसार राजश्व संकलन गर्न सकेको छैन् । तर अन्य सात स्थानीयतहको तुलनामा भने नगरपालिकाको राजश्व संकलन वर्षेनी बढ्दै गएको छ ।
चन्दननाथ नगरपालिकाको राजश्व शाखाको प्रक्षेपणनुसार नगरपालिकामा वार्षिक १० देखी ११ करोड राजश्व संकलनको सम्भावना छ ।

सोही अनुसार नियमित अनुगमन,निरिक्षण,प्रयाप्त जनशक्ति व्यवस्थापन अभाव लगायतका चुनौतीले वार्षिक राजश्व संकलनको लक्ष्य भेटाउने मुस्किल हुने गरेको छ । यदपी वर्षगत रुपमा तुलना गर्दा हरेक वर्ष राजश्व संकलनमा बृद्धि हुदै आएको नगरपालिकाको राजश्व शाखाको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार चन्दननाथ नगरपालिकाले स्थानीय सरकार संचालन भएयता आठ वर्षको अवधिमा साढे सात करोड बढी राजश्व संकलन गरेको देखिन्छ । आर्थिक वर्ष २०७३÷७४ देखी आर्थिक वर्ष २०८१÷८२ सम्म नौ वर्षको तथ्यांकलाई हेर्दा चन्दननाथ नगरपालिकाले सात करोड ४६ लाख ८७ हजार राजश्व संकलन गरेको चन्दननाथ नगरपालिका राजश्व उपशाखा प्रमुख कमल भण्डारीले बताए ।

नगरपालिकाले भूमि तथा सम्पत्ति कर,स्थानीय कर,व्यवसाय शुल्क,सेवा शुल्क कर,जडिबुडि,कवाडी,र जीवजन्तु कर,सवारी साधन कर,पार्किङ शुल्क, मनोरञ्जन,पर्यटक शुल्क,ठुला सवारी साधन भाडा,सम्पत्ति मुल्यांकन कर,नक्सा पास दस्तुर,रजिष्टेशन दस्तुर र सेवा शुल्क तथा विक्री कर लगायतका शिर्षकबाट राजश्व संकलन गर्ने गरेको छ ।

कूल राजश्व साढे ७ करोड,कुन वर्षमा कति ?
जिल्लाको एक मात्र नगरपालिका भएकोले यसको आम्दानी खर्च विकास निर्माण तथा सेवा प्रवाह बारे सबैको चासो हुने गरेको छ । त्यसैले चन्दननाथ नगरपालिकामा विशेष गरी संघियता कार्यान्वयनपछि राजश्व संकलनको अबस्था बारे बुझ्दा वर्षेनी बढेपनि लक्ष्यनुसार राजश्व असुलीमा नगरपालिका चुक्दै आएको छ ।

नौ वर्षमा कूल सात करोड ४६ लाख ८७ हजार राजश्व संकलन भएकोमा जसमा पछिल्ला तीन वर्षमा करोडमा असुली भएपनि बाँकी पाँच वर्षमा लाखमा राजश्व उठेको देखिन्छ । आर्थिक वर्ष २०८१÷८२ मा कूल १ करोड ४१ लाख ८० हजार १२८ रुपैया राजश्व संकलन भएको छ । भने त्योभन्दा अघिल्लो वर्ष आ.व.२०८०÷८१ मा १ करोड ३६ लाख ७० हजार ५०३ रुपैया राजश्व उठेको देखिन्छ । भने, आ.व. २०७९÷८० मा १ करोड ५४ हजार राजश्व उठेको छ ।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा क्रमिक रुपमा राजश्व संकलन बृद्धि हुदैँ गएको छ । यदपी वार्षिक एक करोड ५० लाख असुली गर्ने लक्ष्य भेटाउन मुस्किल रहेको रहेको राजश्व उपशाखा प्रमुख कमल भण्डारीले बताए । त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा चन्दननाथ नगरपालिकाले कूल ४१ लख ३१ हजार, आ.व.२०७४÷७५ मा १६ लाखले बढेर कूल ५७ लाख १६ हजार, आ.व.२०७५÷७६ मा ५३ लाख ९७ हजार, आ.व.२०७६÷७७ मा ५० लाख ७५ हजार ५२४ रुपैया राजश्व संकलन भएको थियो । यो बीचका दुई आवमा राजश्व संकलन घटेको देखिन्छ ।

साथै आ.व.२०७७÷७८ मा झण्डै ३० लाखले बढेर ८० लाख ४३ हजार २११ रुपैयाँ, आ.व.२०७८÷७९ मा फेरी एक लाखले घटेर ७९ लाख ७२ हजार ३३९ र आव आ.व.२०७९÷८० मा ठ्याक्कै एक करोड राजश्व उठेको तथ्यांकले देखाएको छ । यसरी वितेका नौ वर्षमा चन्दननाथ नगरपालिकाले समग्रमा साढे सात करोड बढीको राजश्व सकंलन गरेको देखिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले पछिल्लो वर्षमा उद्योग नविकरण तथा दर्ता पालिकाबाटै हुने,नियमित अनुगमन तथा निरिक्षण हुने भएपछि राजश्व संकलनमा बृद्धि भएको बताए । उनले भने,‘आन्तरिक आय बृद्धि बीना पालिका संचालनमा मुस्किल छ । राजश्व संकलनका क्षेत्र धेरै भएपनि नागरिक करको दायरामा आउन मान्दैनन् । तथापी हामीले जनचेतना मुलक कार्यक्रम संचालनदेखी नीतिगत कुरा सिकाएर पनि राजश्व बृद्धिमा जोड दिएका छौ ।’

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस