अविरल वर्षापछि पहिरो आएर अबरुद्ध भएको गगनेखोला । तस्बिरः कर्णाली मिसन
जुम्ला । जुम्ला–सुर्खेत जोड्ने कर्णाली राजमार्ग अविरल वर्षापछि आएको पहिरै पहिरोले यात्रूले सास्ती पाएका छन् । अविरल वर्षापछि एक पहिरो पन्छाउन नपाउँदै अर्को पहिरो खस्ने र वर्षा निरन्तर जारी रहेकाले पहिरो पन्छाउन सकस हुँदा यात्रूले सास्ती पाएका हुन् ।
जुम्ला–सुर्खेत २३२ किमी मध्य सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने दैखोला देखी जुम्ला तर्फको १०४ किमी सडक खण्डभित्र अविरल वर्षाले पहिरै पहिरो आएको छ । जसले गर्दा दुबै तर्फको आवतजावतमा अबरुद्ध हुँदा यात्रू अलपत्र समेत परेका छन् । जुम्ला,मुगुबाट सुर्खेत नेपालगन्ज जाने सयौ सवारीका यात्रूहरु अलपत्र परेका हुन् ।
राजगर्माको कालिकोट खण्डमा भिरालो जमिन भएकाले पहिरो बढी आउने गरेको छ । सडक डिभिजनले पहिरो पन्छाउन मेसिन सहित जनशक्ति तयारी गरेपनि वर्षात निरन्तर भएकोले अबरुद्ध खुलाउन सकेको छैन् । विहानै देखी ठाउँ ठाउँमा सडक अबरुद्ध हुँदा सयौ यात्रू अलपत्र परेका छन् ।
सोमबारको पहिरो पन्छाएर सडक खुलाइए पनि मंगलबार पुनः लेदो सहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रुपमा बन्द भएको हो । कालिकोटको गगनेखोलामा खोलामा मंगलबार दिउँसो २ बजे आएको भिषण पहिरोले सडक पूर्ण रुपमा अबरुद्ध रहेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए ।
उनले भने,‘गगनेखोलामा आएको पहिरो पन्छाएर सडक सुचारु भएको केही बेरमा पुन पहिरो आएर अबरुद्ध भएको हो । वर्षात निरन्तर भईरहेको र पहिरो पनि झरी रहेकोले सडक सञ्चालन हुन सकेको छैन् । वर्षात पूर्ण रुपमा नरोकिए सम्म सडक संचालनका आउो स्थिती छैन् ।’
सोमबार बेलुकी गएको पहिरो मंगलबार बिहान सडक डिभिजन कार्यालय जुम्लाले दुई वटा मेसिन प्रयोग गरेर बिहान ९ बजे सुचारु गरेको थियो । फेरी पनि दिउँसो २ बजेदेखि लेदो सहितको अर्को पहिरो खस्दा पुनः अवरुद्ध भएको छ । जसले गर्दा दुबै तर्फको यात्रा पूर्ण रुपमा रोकिएको छ ।
उनका अनुसार सुर्खेततर्फबाट आएका गाडी दैखोला र दैलेखको खिडकीज्युलामा रोकिएका छन् भने जुम्लाबाट आएका मालवाहक गाडी हुल्ममा रोकिएका छन् । यात्रु वाहक सवारी गन्तव्यमा पुग्न नसक्दा यात्रुको विचल्ली भएको छ ।
कर्णाली राजमार्गको गगने खोलामा हरेक वर्ष वर्खाको सिजनमा पहिरो जाने गरेको छ। दुई वर्षअघि त्यही ठाउँमा पहिरो रोक्न सडक डिभिजन कार्यालय जुम्लाले ३ करोड रुपैयाँको ठेक्का मार्फत ग्याविन जाली लगाएको थियो । तर, गत वर्ष आएको बाढीले उक्त संरचना पूरै बगाएको छ ।
कालिकोट खण्डको दैखोला,गगनेखोला,पिलि,विहान खोला,मोल्फा लगायतका क्षेत्रमा पहिरोको उच्च जोखिम हुने गरेको छ । हरेक वर्ष पहिरो रोकथामको पूर्वाधार निर्माण गरेपनि सडकमा पहिरै पहिरो आउने समस्याले यात्रा सास्ती पूर्ण हुने गरेको छ ।



