रारा तालः ६ वर्षमा ९१ हजार पर्यटक, २ करोड ८० लाख राजश्व संकलन

जुम्ला । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य कर्णाली प्रदेशको मुगु स्थित रारा तालमा पर्यटक आगमन बढ्दै गएको छ । असहज सडक तथा बसाई व्यवस्थापन,कठिन भूगोल र पर्यटन पूर्वाधारको अभावका बीचपनि रारा ताल भ्रमण अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक संख्या उल्लेखीय रुपमा बृद्धि भएको हो ।

नेपालकै सबैभन्दा ठुलो तथा पर्यटनको प्रचुर सम्भावना बोकेको रारा तालको प्राकृतिक सुन्दरता हेर्न देश तथा विदेशबाट पुग्ने गरेका छन् । चैत बैशाख तथा दशैँ तिहारको सिजनमा रारामा अत्यधिक मात्रामा पर्यटक पुग्ने गर्छन् । साउन भदौमा हरियाली वाताबरण भएपनि सडक पूर्वाधार भरपर्दो नहुँदा न्यून मात्रा पर्यटक रारामा पुग्ने गरेका हुन् ।

रारा राष्ट्रिय निकुञ्ज मुगुको तथ्यांकनुसार रारा तालमा चालू आर्थिक वर्षको १० महिनामा १३ हजार बढी पर्यटकले अवलोकन गरेका छन् । निकुञ्जले प्रत्येक दिन कति पर्यटक आएर भनेर रेकर्ड राख्ने गरेको छ । वर्षा हुने बित्तिकै सडक अवरुद्ध हुने,हिलो हुने, भनेको जस्तो होटल बास नपाउने जस्ता समस्या अहिले पनि कायमै छन् । जसका कारण पर्यटकको बसाई लम्बाउन सकिएको छैन । पर्यटकको बसाई लम्बाउने पूर्वाधार निर्माण हुन नसकेपनि समस्याकै बीच रारामा उल्लेखीय मात्रामा पर्यटक आएका छन् ।

६ वर्षमा ९१ हजार पर्यटक पुगे रारा
रारा तालमा विगत पाँच वर्ष यताको तथ्यांकलाई हेर्दा पर्यटक आगमन हरेक वर्ष बढेको देखिन्छ । जसमा गत आर्थिक वर्ष २०८१÷०८२ मा भने विगत वर्ष वर्षयताकै सबैभन्दा बढी पर्यटक रारा ताल पुगेका छन् । आर्थिक वर्ष २०७५÷०७६ देखी २०८१÷०८२ सम्म ६ वर्षको अवधिमा रारामा ९१ हजार ९०१ जना पर्यटकले रारा भ्रमण गरेका छन् ।

जसमा गत आ.व. २०८१÷०८२ मा हालसम्मकै धेरै १९ हजार ४४७ जना पर्यटक रारा पुगेका हुन् । जसमा नेपाली पर्यटक १९ हजार ९४,सार्क राष्टका ७७ जना र विदेशका २७६ जना गरी १९ हजार बढी पर्यटक रारा पुगेको रारा राष्ट्यि निकुञ्जका प्रमुख महेश न्यौपानेले बताए । उनका अनुसार पर्यटक भ्रमण संख्या पाँच वर्ष यताकै बढी हो ।

त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा ११ हजार ७७१ जना, आ.व.२०७६÷०७७ मा ९ हजार ८७१ जना, आ.व. २०७७÷०७८ मा १० हजार ३१७ जना, आ.व. २०७८÷०७९ मा ११ हजार ५५० जना आन्तरिक तथा बाह्य पर्यटकले रारा भ्रमण गरेका हुन् ।
साथै आ.व.२०७९÷०८० मा ११ हजार ६४८ र आ.व.२०८०÷०८१ मा १७ हजार २९७ जना पर्यटक रारा ताल भ्रमण गर्न पुगेका छन् । ६ वर्षको तथ्यांकलाई हेर्दा राराको प्राकृतिक सुन्दरतालाई नियाल्न आउने पर्यटकको उल्लेखीय बृद्धि भएको देखीन्छ ।

यद्यपि रारा राष्ट्रिय निकुञ्जले भने कर्णालीका अन्य पर्यटकीय गन्तव्य भन्दा आम्दानी बढाएको छ । नयाँ निकुञ्ज प्रमुखका रुपमा महेश न्यौपानले आएपछि निकुञ्जको चोरी शिकारी नियन्त्रण,व्यवस्थापन,वन पैदावार संरक्षण,वन्य जन्तुको संरक्षण लगायतका पक्षमा उल्लेखीय काम संगै पर्यटक आमगन बृद्धि तथा राजश्व संकलनका समेत उल्लेखीय सुधार भएको छ ।

२ करोड ८० लाख राजश्व संकलन
रारा राष्ट्रिय निकुञ्जले ६ वर्ष यता कूल २ करोड ८० लाख बढी राजश्व संकलन गरेको छ । जसमा गत आर्थिक वर्ष २०८१÷०८२ मा निकुञ्ज कार्यालय स्थापना भए यताकै सबैभन्दा बढी राजश्व संकलन भएको निकुञ्ज प्रमुख न्यौपानेले जानकारी दिए । उनका अनुसार गत आ.व. २०८१÷०८२ मा मात्रै ६२ करोड ७२ लाख २२० रुपैया राजश्व संकलन भएको छ । यो राजश्व निकुञ्ज स्थापना यताकै सबैभन्दा बढी हो ।

प्रमुख न्यौपानेले भने,‘जडिबुटि निकासी,वन पैदावार विक्री वितरण,काठ दाउरा संकलन,पर्यापर्यटन,गैरकाष्ठ वन पैदावार,दण्ड सजाय लगायतका शिर्षकबाट राजश्व उठाउने गरिन्छ । रारामा आउने प्रति नेपालीबाट एक सय रुपैयाँ उठाउने गरिएको छ । भने सार्क राष्टका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँ शुल्क उठाउने गरिएको छ । नियमन तथा अनुगमनलाई कडाई गरेपछि राजश्व बढेको हो ।’

त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा ३८ लाख ३४ हजार २९४,आ.व २०७६÷०७७ मा ३४ लाख ६७ हजार ४९२, आ.व. २०७७÷०७८ मा ३० लाख ९ हजार ३४१, आ.व. २०७८÷०७९ मा ३० लाख ९७ हजार ५५४ रुपैयाँ राजश्व संकलन भएको निकुञ्ज प्रमुख न्यौपानेले जानकारी दिए ।

साथै आर्थिक वर्ष २०७९÷०८० मा ३६ लाख ४४ हजार ७५ रुपैयाँ र आ.व. २०८०÷०८१ मा ४७ लाख ५७ हजार ५९६ रुपैयाँ राजश्व संकलन भएको छ । यसरी वितेको ६ वर्षमा रारा राष्ट्यि निकञ्जले कूल २ करोड ८० लाख ८२ हजार ५७२ रुपैयाँ राजश्व असुली भएको छ ।

रारामा तुलनात्मक रुपमा नेपाली भन्दा विदेशी पर्यटकको आगमन न्यून देखिएको छ । विगतमा उल्लेखीय रुपमा नेपाली पर्यटक भित्रिएपनि राजश्व न्यून असुली हुने गरेकोमा गत आवमा हालसम्मकै सबैभन्दा राजश्व संकलन गरेर रारा राष्ट्यि निकुञ्जले उल्लेखीय प्रगती हासिल गरेको छ । पर्यटन प्रर्बद्धन,राजश्व बृद्धिको प्रचुर सम्भावना भएकाले आबश्यक पूर्वाधार निर्माण संघ तथा प्रदेश सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस