जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले भूउपयोग योजना तर्जुमाज गर्न थालेको छ । जुम्लाको एकमात्र सदरमुकाम खलंगामा रहेको चन्दननाथ नगरपालिकाले बढ्दो अव्यस्थित सहरीकरणलाई मध्यनजर गर्दै जोखिम संवेदनशील भूउपयोग योजना बनाउन थालेको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत विरेन्द्रनगर पछि दोस्रो ठुलो शहरका रुपमा रहेको चन्दननाथ नगरपालिकामा पने खलंगा बजारलाई सफा सुन्दर र पर्यटकीय शहरका रुपमा विकास गर्न भूपयोग योजना बनाउन थालिएको छ । जुन जुम्लाका आठ स्थानीय तहमध्य पहिलो कार्य हो ।
खेतीयोग्य जमिनमा बढ्दै गएको कंक्रीट संरचना निर्माण,बजार क्षेत्रका साँघुरा बाटा,बाझिदै गएको खेती योग्य जमिन, यूवा पलायन,बढ्दो प्राकृतिक प्रकोप तथा क्षतिका साथै बढीरहेको अव्यवस्थित शहरीलाई मध्यनजर गरी जुम्लामै पहिलो चन्दननाथ नगरपालिकाले जोखिम संवेदनशील भूउपयोग योजना तर्जुमाको प्रक्रिया थालेको छ ।
योजना तर्जुका लागि बुधबार जिल्लामा बहृत्त कार्यशालाको आयोजना गरिएको थियो । भूउपयोग योजनाका लागि नागरिक समाज,राजनीतिक दल,नापी तथा मालपोत,अर्थ विज्ञ,पर्यटन व्यवसायी लगायतबाट सुझाव संकलन समेत गरिएको छ ।
जसमा नागरिक समाजका अध्यक्ष राज बहादुर महतले जुम्लाकै एतिहासिक शहरका रुपमा खलंगालाई विकास गर्न चन्दननाथले दिर्घकालीन भूउपयोग नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले भने,‘अव्यवस्थित शहरीकरण खलंगा कुरुप बन्दै छ । खेतीयोग्य जमिन मासिदै छ । उत्पादन घट्दै छ । बल्ल अहिले भूउपयोग योजना बनाउने सुरसार हुदैँ छ । हामी धेरै ढिला भएका छौ । अब पनि ढिला गर्नु हुन्न । अब योजना निर्माण गरी कार्यान्वयनमा जोड दिनुपर्छ ।’
नक्सा पास बिना नीजि तथा सरकारी संरचना निर्माण रोक,मनमर्जी रुपमा पूर्वाधार बनाउनेलाई सरकारी सुविधाबाट बन्चित, जस्ता कुरा योजनामा प्रथामिकताका साथ उठाउनु पर्ने नेकपा एमालेका नेता गोरर्ख पछाईले बताए । चन्दननाथ नगरपालिका वडा नं. १,२,३,५,६ मा मार्सीधान उत्पादन हुने खेतमा धमाधम घर निर्माण भईरहेका छन् । भूउपयोग नीति बन्ने तर कार्यान्वयन नहुने हो भने,नगरपालिका क्षेत्रका सबै मार्सी फाँटमा अबको १० वर्षभित्र घरैघरले भरिने कुरा स्मरण गराउँदैँ नीति कार्यान्वयनमा गम्भीर हुन नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले सचेत गराए ।

चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले खलंगालाई व्यवस्थित र सुन्दर शहर बनाउन यूउपयोग योजनाको आबश्यकता खड्कीएकोले निर्माण गर्न जुटेको बताए । पूर्वाधार विकास,औधोगिक विकास लगायतको विकासलाई वातावरण मैत्री बनाई, जन,जमिन,जंगल,जडिबुटिलाई संरक्षण गर्ने गरी भूउपयोग योजना निर्माण गरिने उल्लेख गरे ।
उपमेयर रामदेवी खड्काले नगरपालिकाको मुख्य चुनौतीनै फोहोर व्यवस्थापन,अव्यवस्थित सहरीकरणनै रहेको बताईन् । कतै आगलागी हुँदा दमकल जाने बाटो छैन् । तर नागरिक आफ्नो कर्तव्यबाट विमुख छन् । उनले भनिन,‘भूउपयोग योजना अनुरुप बजारका भित्री बाटा अनिवार्य रुपमा ४ देखी ६ मिटर हुनु पर्ने हो । तर विकास चाहिने,आबश्यक पर्दा एक भित्ता जग्गा नदिने नागरिकका कारण बाटा साँघुरा छन् । धान,जौ गहुँ फल्ने खेतमा घर ठडीएका छन् । नक्सा पास बिनाका संरचना बनिरहेका छन् । यसले गर्दा जोखिम बढ्दै छ । अब बन्ने संरचना सबै भूउपयोग योजना अनुरुप मात्रै बनाउने गरी गम्भीर रुपमा नगरपालिका अघि बढेको छ ।’
जमिनको प्रयो वैज्ञानिक तवरबाट भन्दा पनि मनमर्जी रुपमा प्रयोग भएको छ । घर भवन बनाउने नाममा खेतीयोग्य जमिन मासिएको । जुम्लाका आठै पालिकाले भूउपभोग नभई दोहन र विनास गरिरहेका छन् । विपद पनि ननिम्तीने,उत्पादन पनि बढ्ने जग्गा बाँझो पनि नरहने गरि जग्गाको उपभोग गर्न नगरपालिकाले ध्यान केन्द्रित गरेको छ ।यूएनडीपि,रेरास परियोजनाको प्राविधिक सहयोगमा ललितको परामर्श दाता मार्फत भूउपयोग योजना तर्जुमाको काम भईरहेको चन्दननाथ गनरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताए ।
उनका अनुसार दोस्रो चरणमा सुझाव संकलन भएसंगै अब परामर्श दाताहरु वडा वडामा पुगेर छलफल गरी वस्तु स्थिती बुझेर प्रतिवेदन तयार गर्ने छन् । भने परामर्शदाताको प्रतिवेदनलाई अन्तिम रुप दिन फेरी बृहत्त अन्तरक्रिया गरेर मात्रै भूउपयोग योजना कार्यान्वयनमा ल्याईने छ । चन्दननाथको उपयोग नीति कार्यान्वयनमा आएपछि अन्य पालिकाले पनि अनुसरण गर्ने अपेक्षा गरिएको छ ।



