जुम्ला । जुम्लाका ग्रामिण महिलाहरु कृषि पेशबाट आत्मनिर्भर हुन थालेका छन् । समयनुकुल खेतीपाति गरेर उत्पादन बढाउनुका साथै ग्रामिण महिला आर्थिक रुपमा समेत सक्षम बन्दै गएका हुन् । जुम्लाको अन्न भण्डार भनेर चिनिने पातारासी क्षेत्रका अधिकांश महिला कृषि पेशामै आबद्ध रहेका छन् ।
पातारासी क्षेत्रमा श्रीमान धन कमाउन वैदेशिक मुलुक तथा कालापहाड जाने र गाउँको कृषि महिलाहरुकै काँधमा पर्ने गरेको छ । विगतमा परम्परागत खेतीपाती गर्दा श्रमनुसारको प्रतिफल नपाएका ग्रामिण महिलाहरु आजभोली सिप र प्रविधि सहितको खेतीपातीले आम्दानी दिन थालेपछि आत्मनिर्भर बन्दै गएका छन् ।
पातारासी गाउँपालिका वडा नं. ५ की हिरा बुढाको दैनिकी खेतबारीमा गोडमेल गरेर, उत्पादन भएको वस्तु बजारमा विक्री गर्दै वित्छ । नत घर चलाउने चिन्ता छ । नत रोग किराले तरकारीमा संक्रमण होला भन्ने डर ।
वल्र्डभिजनको आर्थिक सहयोगमा किर्डाक नेपालद्धारा संचालित एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाबाट आधुनिक खेती प्रणालीबारे आबश्यक ज्ञान,सिप र प्रविधि समेत पाएपछि हिरा बुढा जस्तै जुम्लाका दर्जनौ महिला कृषिमा आर्कषित भएकी छन् ।
अर्गानिक गोल्भेडा, काउली, खुर्सानी, ज्याज, आलु लगायतका तरकारी उत्पादन गरेर गाउँपालिकाको केन्द्र लासी बजारदेखी जुम्ला सदरमुकाम खलंगा बजारमा पुराएर विक्री गर्दै आएको किसान हिरा बुढाले बताईन् ।

उनले भनिन,‘हामीले विगतमा परम्परागत रुपमा खेती गर्दा मेहनत बढी, आम्दानी कम हुने समस्या थियो । रोग किरा लागेपछि कसरी न्युनिकरण गर्ने थाहा थिएन् । घरको सामान्य लेखाजोखा समेत आउन्थेन् । तर अहिले झोल मल बनाउने, बजारीकरण गर्ने,लेखाजोखा राख्ने आम्दानीको केही हिस्सा बचत गर्ने जस्ता सकरात्मक पक्षको विकास भएको छ । जसले गर्दा हामी महिला आत्मनिर्भर हुन थालेका छौ ।’
त्यस्तै पातारासी–५ कै किसान सितली बुढाले विगतमा सामान्य घर खर्च गर्न, लत्ता कपडा किन्नका लागि श्रीमानको मुख ताक्नु पर्ने स्थितीको अन्त्य भएको बताईन् । उनले गर्वका साथ भनिन,‘पहिला श्रीमानबाट पैसा माग्थेउ । अहिले श्रीमान बजार जाँदा केही सामान ल्याउँदा हामीबाट पैसा माग्छन् । तरकारी बेचेको पैसा कति खर्च गर्ने कति बचत गर्ने सबै लेखाजोखा समेत राख्छौ । यसले महिलाहरुमा आर्थिक रुपमा समेत सक्षम बनाउदैँ लिएको छ ।’
उत्पादित वस्तुको अपेक्षाकृत रुपमा मुल्य नपाएपछि सस्तोर्म भएपनि विक्री बाध्य भएको सिताले गुनासो सुनाईन् । अझै उपयुक्त मुल्य पाएको खण्डमा पातारासीका महिलाले कृषिबाट राम्रो लाभ लिन उनको अपेक्षा छ ।

झण्डै एकसय बढी घरधुरी रहेको पातारासी–५ को तलीलोर्पा गाउँ कृषिमै निर्भर रहेको छ । उक्त गाउँका महिलाहरु मिलन तरकारी उत्पादन समुहमा आबद्ध भएर एकिकृत रुपमा कृषि पाठशाला समेत संचालन गरी समयनुसारको उत्पादनमा समेत अग्रसर छन् ।
किर्डाक नेपालले उक्त उत्पादन समुह मार्फत विभिन्न क्षामता विकास तथा जीविकोपार्जनका कार्यक्रमहरु दिदै आएको किर्डाक नेपालका श्री बहादुर भण्डारीले बताए ।
साथै आइतबार जिल्ला समनव्य समितिका प्रमुख गौरीनन्द आर्चाय,तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकाया,पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकाया लगायतको उपस्थितीमा तलिलोर्पा,गुठिचौर र चन्दननाथका महिलाले गरेको नमुना कृषि कर्मको अनुगमन गरिएको छ ।
मन्वय प्रमुख आर्चायले कृषिमा आत्मनिर्भर पातारासी क्षेत्रका महिला कृषिबाटै आर्थिक रुपमा आत्मनिर्भर भएर सुखद सन्देश दिएको बताए ।

किर्डाकको परियोजना संचालनपछि भएको क्षामता विकास,वित्तिय चेतना विस्तार तथा कृषि क्षेत्रमा बढ्दै आएको महिलाको आर्कषणले समृद्ध पातारासीको मार्ग तय गरेको उल्लेख गरे ।
घरधन्दा मेलापातमा सिमित हुने ग्रामिण महिलाको सक्षमताले अन्य पालिकाका महिलालाई समेत प्रेरणा मिल्नेमा तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जोड दिए ।
पातारासी गाउँपालिका उपाध्यक्ष जनमााया रोकायाले विगतमा श्रीमानमा परनिर्भर पातारासीका महिला अहिले आत्मनिर्भर भएर उल्टै श्रीमानलाइ पैसा दिने भएपछि खुसी लागेको बताईन् । महिला उद्यमशीलता विकासका लागि पालिकाले थप लगानी गर्दै जाने समेत उल्लेख गरिन् ।



