४ दिनपछि खुल्यो कर्णाली राजमार्ग, गन्तव्यतर्फ लागे स्याउका ट्रक

जुम्ला । अविरल वर्षापछि आएको भिषण ढुंगा सहितको पहिरोले अबरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षापछि कर्णाली राजमार्गको गगने खोलामा आएको पहिरोले भदौ १४ गते विहान ९ बजेदेखी अबरुद्ध भएको राजमार्ग मंगलबारदिउँसो १२ः४५ बजेदेखी संचालनमा आएको हो ।

अबरुद्ध भएको चारदिनपछि सडक सुचारु भएपछि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेत नेपालगन्ज तर्फ गएका छन् । चार दिनदेखी सकड अबरुद्ध भएपछि २३ वटा ट्रक सडकमै अलपत्र परेका थिए । झण्डै १३ करोड बढीको १८४ मेट्रिकटन स्याउ बोकेका २३ वटा ट्रक चार दिनसम्म बाटोमै रोकिँदा स्याउ कुहिने चिन्ता बढेको छ ।

कर्णाली राजमार्गको गगने खोलामा भदौ १४ गते विहान ढुंगा सहितको भिषण पहिरो आएपछि राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको थियो । बे्रकर लगाएर ढुंगा फोड्ने प्रयास गरेपनि सम्भव नभएपछि ब्लाष्ट गरिएको थियो । मंगलबार नेपाली सेनाले चार पटक सम्म ब्लाष्ट गर्दा समेत ढुंगा नफुटेको र वर्षात जारी रहेकाले लेदो पहिरो आउने सक्ने जोखिमलाई मध्यनजर गरी काम रोकिएको थियो ।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले कालिकोट प्रहरी प्रशासन तथा नेपाली सेनाको सहयोगमा सडकका सबै जनशक्ति परिचालन गरेर सडक संचालनमा आएको बताए । हर सम्भव प्रयास गर्दा पनि मौसम प्रतिकुलता,भौगोलिक कठिनाई, स्रोत साधनको अभाव लगायतका कारणले सडक चाडो खुलाउन नसकिएको उनको भनाई छ ।

चार दिन देखी सडकमै अलपत्र परेका स्याउका गाडी गन्तव्य तर्फ गएपछि व्यापारी खुसी भएका छन् । स्याउकै सिजनमा हरेक वर्ष राजमार्ग अबरुद्ध हुने समस्या रहेकाले यसको दिर्घकालिन समधान तथा ढुवानीमा सहुलियत दिनु पर्ने किसान तथा व्यापारीले माग राख्दै आएका छन् ।

वर्षात अझै जारी रहेको र कर्णाली राजमार्गमा पहिरोको जोखिम कायम रहेको हुँदा अत्याआश्यक काममा सडकको अबस्था बुझेर मात्रै यात्रा गर्न समेत सडक डिभिजन जुम्लाले अनुरोध गरेको छ । सडक खुलाउन सहयोग गर्ने सबै निकायलाई सडक डिभिजन जुम्लाका प्रमख दिपेन्द्र चौधरीले धन्यबाद दिएका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस