जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले पूर्वाधार विकास देखी सुशासनमा जोड दिएको छ । उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै नागरिकका आबश्यकता र भौगोलिक अबस्थालाई मध्यरनजर गर्दै गुठिचौरले पूर्वाधार विकासलाई बढी जोड दिएको हो ।
साथै पछिल्लो समय सुशासन कायम, सेवा प्रवाह लगायतका विषयमा समेत जोड दिएको पाइएको छ । साथै यसैबीच गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा एक वर्षमा १ सय ६५ वटा योजना निर्माण गरेको छ । गाउँ बस्ती स्तरबाट माग भई आएका आबश्यकतामा आधारित १ सय ६५ वटा योजना निर्माण गरेको हो ।
आईतबार आयोजित गुठिचौरको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार पालिकाका ५ वटा वडाका सबै बस्तीमा १६५ वटा योजना एक वर्षमा निर्माण गरेको गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माया लक्ष्मी बुढाले बताइन् ।
उनका अनुसार एक लाखभन्दा कम लागतका १५ वटा, एक लाख देखी ३ लाख सम्मका ७१ वटा, तीन लाख देखी ५ लाख सम्मका २६ वटा योजना निर्माण भएका छन् । त्यस्तै, ५ लाख देखी १० लाख सम्मका १८ वटा, १० लाख देखी २५ लाख सम्मका १५ वटा र २५ लाख भन्दा माथिका २० वटा योजना गरी गत आर्थिक वर्षमा १ सय ६५ वटा योजना निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिईन् ।
गुठिचौरमा गत आ.वमा चालु र पुँजीगत गरी कूल ४१ करोड ८२ लाख बढी बजेट विनियोजन गरिएको थियो । जसमा चालु तर्फ विनियोजित २४ करोड ३५ लाख ८६ हजार मध्य २१ करोड ४६ लाख ७९ हजार ९४४ रुपैयाँ खर्च भएको थियो । त्यस्तै पूँजिगत तर्फ विनियोजित १७ करोड ४६ लाख १८ हजार मध्य खर्च १५ करोड ६१ लख ८ हजार ३७१ रुपैयाँ भएको प्रगती प्रतिवेदनमा उल्लेख छ ।
पुँजिगत तर्फको विनियोजित बजेट मध्य झण्डै २ करोडबढी रकम खर्च हुन नसकेर फिर्ता भएको देखिन्छ । अन्य पूर्वाधार विकास तर्फ सार्वजनिक शौचालय ५ वटा, विद्यालय भवन १, मन्दिर तथा थान निर्माण २० वटा, प्रतिक्षालय ५ वटा, सामुदायिक भवन, स्वास्थ्य भवन तथा वडा कार्यालय निर्माण तथा मर्मत ९ वटा, गाउँपालिकाको तला थप र जलविद्युत मर्मत ४ वटा निर्माण भएको प्राविधिक शाखा प्रमुख दिपेन्द्र भण्डारीले बताए । पालिकाले वियोजन गरेका पुँजीगत बजेटलाई सिमित जनशक्ति, भौगोलिक कठिनाईका बीच कार्यान्वय गर्दै आएको उनको भनाई छ ।

राजश्व संकलनमा बृद्धि
गुठिचौर गाउँपालिकाले विभिन्न शिर्षकबाट राजश्व संकलन गर्दै आएको छ । विषयगत शाखा तथा वडाबाट राजश्व संकलन गर्दै आएको हो । गुठिचौर ५ वटा वडाबाट गत आर्थिक वर्षमा ८ लाख ७६ हजार ३१३ रुपैयाँ राजश्व संकलन भएको छ ।
जसमा वडा नं. १ मा ८२ हजार ७३०, वडा नंं. २ मा १ लाख १२ हजार ६०५, वडा नं. ३ मा १ लाख ५३ हजार ६८५, वडा नं. ४ मा २ लाख ६८ हजार ७६२ र वडा नं. ५ मा २ लाख ५८ हजार ५३१ रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यसैगरी मालपोत कार्यालयबाट रजिष्ट्ेसन बापत प्राप्त ३ लाख १३ हजार ९८१, प्याराग्लाईडिङ महोत्सव संचालन बापत ८ लाख ४४ हजार, डोजर प्रयोगबाट ५ लाख ५९ हजार ५ सय, एम्बुलेन्स संचालनबाट ८१ हजार ३ सय रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यसैगरी पशु शाखाबाट ७ लाख ८४ हजार ८६१ गरी गत आर्थिक वर्षमा कूल ३३ लाख ३९ हजार ४९० रुपैयाँ राजश्व उठेको गाउँपालिकाको प्रगती प्रतिवेदनमा उल्लेख छ । चालु आवको कार्तिक १४ गतेसम्म ९ लाख ९७ हजार ७३३ रुपैयाँ राजश्व संकलन भएको छ ।
गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले सिमित स्रोत साधन र भौगोलिक कठिनाईका बीच पनि पूर्वाधार विकासलाई प्रथामिकता दिएको बताए । जिल्लाकै पहिलो पालिकाका रुपमा सुशासन अभियान र सुरक्षित पालिका अभियान संचालन गरेका छौ ।
उनले भने,‘पर्यटन प्रर्बद्धन, १० लाख भन्दा तलका योजना कार्यान्वयन गर्ने, वास प्लान बनाउने, प्रशासनिक भवनलाई पूर्णता दिने हाम्रो भावी योजना छन् । नुमना गुठिचौर बनाउन संस्थागत तथा नीति गत विकासमा समेत जोड दिदै आएका छौ ।’
आफ्नो कार्यकालमा उत्कृष्ट कामका रुपमा आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण, प्याराग्लाईडिङ महोत्सव र पर्यटन प्रर्बद्धनमा काम गरेको अध्यक्ष बुढाले जानकारी दिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयहरुले जेष्ठ नागरिकको बजेट घट्दै गएको, विकास निर्माणमा ढिला सुस्ती भएको र अपेक्षाकृत रुपमा पालिकाले काम गर्न नसेको गुनासो पोखे ।
टुक्रे योजना अन्त्य गर्नुपर्ने, सेवा प्रवाहलाई छिटो छरितो बनाउनु पर्ने, वडा स्तरमा सार्वजनिक सुनुवाई गर्नुपर्ने, असारे विकासलाई अन्त्य गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।
गुठिचौर गाउँपालिकाको आयोजना, रेडियो कर्णाली र दूवो खबरको समन्वय तथा साझेदारी तथा ठाकुरज्यू मिडिया प्रा.लीको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।



