जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले खानेपानी विकासमा उल्लेखीय प्रगती गरेको छ । सुस्वा परियोजना र गाउँपालिकाको आफ्नो लगानीमा हिमाका बस्ती बस्तीमा खानेपानी विस्तार गरिएको छ ।
स्रोत हुँदा पनि लगानी अभावले आयोजना निर्माण नहुँदा खोलाको दुषित पानी पिउन बाध्य हिमाबासी खानेपानी अभावको समस्याबाट मुक्ति पाउन थालेका छन् । हिमा गाउँपालिकाले करिब तीन वर्षको अवधिमा १२ सयबढी घरधुरीमा एकघर, एकधारा निर्माण गरेको छ । पालिकाका ७ वटै वडाका सबै बस्तीहरुमा माग र आबश्यकताका आधारमा स्वच्छ खानेपानी धारा निर्माण गरेको हो ।
राष्ट्यि जनगणना २०७८ को तथ्यांक अनुसार हिमाको कुल जनसंख्या १२ हजार १९१ र जम्मा घरधुरी संख्या २ हजार १७६ रहेको छ । हाल सम्म हिमा गाउँपालिकाले एक हजार २ सय २३ घरधुरीमा एकघर, एकधाराको पहुँच पुगेको हिमा गाउँपालिका सुस्वा परियोजना संयोजक सुमिता शाहीले बताईन् ।
हिमाका आठ हजार ४१ जना नागरिक स्वच्छ खानेपानीको पहुँचमा पुगेका छन् । अब हिमाका ९५३ घरधुरीका ४ हजार १५० जना नागरिक खानेपानी पहुँचबाट टाढा रहेका छन् । कुल जनसंख्याको ठुलो हिस्सा स्वच्छ खानेपानी पहुँचमा पुगिसकेकाले बाँकि घरधुरीमा धारा निर्माण प्रक्रिया चलिरहेको वास संयोजक शाहीले बताईन् ।

उनका अनुसार हिमा चार करोड पाँच लाख ६६ हजार लगानीमा १४ वटा बृहत्त खानेपानी आयोजना निर्माण गरिएको छ । १४ वटा खानेपानी आयोजना निर्माणका लागि पाँच करोड ३५ लाख ४६ हजार विनियोजन गरिएको थियो । यदपी खर्च चार करोड पाँच मात्रै भएको थियो ।
पालिकाको प्रतिवेदन अनुसार हिमा–६ डाडाबाडामा ७६, वडा नं ५ बाजागाडमा १३६, वडा नं १ बड्कीमा १६६, वडा नं ७ धाँचुगाउँमा ६६, वडा नं ७ कै मर्ची गाउँमा ६६, वडा नं ५ बाजागाड खोलामा २१ वटा घरधुरीमा एकघर,एकधारा निर्माण गरिएको छ ।
त्यस्तै वडा नं ३ को चेमा गाउँमा ४५, वडा नं २ को ओदीमा १६०, वडा नं १ दियारगाउँ तल्लो बस्तीमा ७०, वडा नं ७ को माथि कुडुमा ७२, वडा नं ६ को खलढुंगामा ६८, वडा नं १ को आर्चायलिहिका ९९, वडा नं वडा नं २ को कोईरेलीमा ४४ र वडा नं ५ बाजागाडमा १३६ गरी १२ सय २५ घरधुरीमा एकघर,एकधारा निर्माण गरिएको हो ।
बादखोला खानेपानी आयोजनाबाट लाभान्वित १३६ र कोईरेलीका ४४ घरधुरीमा पानीको बहुउपयोग गरिएको छ । नियमित प्रयोग संगै सिँचाई समेत गरेर तरकारी उत्पादन गरी जीविकोपार्जनमा सुधार ल्याईएको छ ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले नागरिकको आधारभूत आबश्यकतामा पर्ने खानेपानी विकासमा प्रथामिकता दिएर काम गरिएको बताए ।
उनले भने,‘खानेपानी विकासमा पछिल्ला आउने जनप्रतिनिधिले कुनै काम गर्नै नपर्ने गरी लगानी गर्दै छौ । पालिकाका अधिकांश घरधुरीमा धारा पुराई सकेका छौ ।बाँकि घरमा पनि कार्यकाल भित्रै पुराएर पाँच वर्षामा खानेपानी क्षेत्रमा हिमालाई नमुना बनाउने लक्ष्य छ ।’
खानेपानी विकासमा जिल्लाकै अग्रपंतीमा रहेर काम गरिरहेको हिमाले चालु आर्थिक वर्षमा मात्रै करिब तीन सय घरधुरीमा एकघर एकधाराको निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष शाहीले जानकारी दिए । जनताको जनजीविका संग जोडिएको खानेपानी विकासमा सबैभन्दा बढी प्रथामिकता दिएर लगानी गरेनुसार गाउँ गाउँमा खानेपानी अभावका दुःख विस्तारै घट्दै गएका छन् ।
विगतमा खोलाको पानी पिउन बाध्य हिमाबासी घरघरमा धारा पुगेपछि उत्साहित छन् । बाजागाडकी छुमकली रोकाया विगतमा पानीका लागि खोलामा जानु पर्ने घण्टौ लाईन बस्नु पर्ने बाध्यता रहेकोमा अहिले निकै सुविस्ता भएको बताउँछन् । घरमै धारा पुगेपछि समयको बचत संगै तरकारीमा सिँचाई देखी सरसफाईमा समेत उल्लेखीय सुधार भएको उनको भनाई छ ।
नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुराएर खानेपानी अभावका दुःख अन्त्य गर्न पालिका अग्रसर छ । साथै हिमाका सामुदायिक विद्यालयको सुविधायुक्त शौचालय देखि खानेपानी निर्माण गरिएको हिमा गाउँपालिकाले जनाएको छ । खानेपानी क्षेत्रमा हिमाले गरेको काम जुम्लामै अनुसरणयोग्य रहेको छ ।



