जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री यामलाल कँडेलले कर्णाली राजमार्गमा यात्रीकालिन यात्रा संचालन गर्नुपर्ने बताउनु भएको छ । यात्रीकालिन यात्रा संचालन नहुँदा कर्णालीका नागरिक र यातायात व्यवसायीले सास्ती पाएको भन्दै अब तत्काल रातीको समयमा पनि यात्रु बाहक गाडी संचालन हुनु पर्ने बताउनु भएको हो ।
बुधबार आयोजित कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई संबोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली राजमार्गको यात्रालाई सहज बनाउन रात्रीकालिन यात्रा यथाशिघ्र संचालन हुनु पर्ने उल्लेख गर्नुभयो।
कर्णाली राजमार्ग कर्णालीका नागरिकको प्रत्यक्ष जनजीवन संग जोडिएको छ । एकदिनमा पुग्ने दुरीमा पनि प्रहरीले साँझ ६ बजेदेखि गाडी गुड्न दिएको छैन् । मुख्यमन्त्री कँडेलले भन्नुभयो,´रात्री गाडी संचालन नहुने कुरा यातायात व्यवसायीको हितमा छैन् । हिजोको निर्णय कतै छ भनेपनि तत्काल सच्याएर समयअनुकुल बनाउनुपर्छ । यही सुरक्षा गोष्ठीबाट कर्णाली राजमार्गको यात्रा रात्री संचालन संगै ठाउँठाउँका चेकिङलाई पनि व्यवस्थित बनाउन जरूरी छ ।`
सुरक्षा गोष्ठिमा गृहमन्त्री, सुरक्षा निकाय प्रमुखहरुको सहभागिता छ ।कर्णाली राजमार्ग साघुरो र स्तरोन्नति नभएपछि दुर्घटनाको जोखिम बढेपछि कर्णालीमा रातीको समयमा सवारी संचालनमा रोक लगाईएको थियो । अहिले कर्णाली राजमार्गको साघुरा मोडहरु पनि सुधार भईसकेकाले रातीको समयमा सवारी संचालन हुनु पर्ने यातायात व्यवसायीहरुको माग छ ।
जुम्लाका यातायात व्यवसायी ईन्द्र थापाले कर्णाली राजमार्गमा अब रात्रीमा गाडी चलाउन पाउनु पर्ने बताउनुभयो । ६ बजेपछि गाडी गुड्न नपाउने निर्णयले यात्रुहरु पनि गन्तव्यमा पुग्न नपाएर दोहोरो मारमा परेको उहाँको भनाई छ ।
मुख्यमन्त्री कँडेलले फागुण २१ गते तोकिएको निर्वाचन यहि अवस्थाको सुरक्षा र प्रमुख दललाई वाहिर राखेर गरिने विषयले सम्भव छैन। सुरक्षाको भरपर्दो र विश्वास योग्य वातावरण बनाउने काम सरकारको भएको बताए ।

उनले भने,´भदौ २३ गते जेन्जी युवाहरूले उठाएका मागहरूप्रति सलाम छ। तर जेन्जी युवा पुस्ताको भावना माथि खेलवाड गरेर भदौ २४ गते गरिएका आगजनी र लुटपाटका लगायतका घटनामा सरकारले छानविन गरि कारवाही गर्न गरेको ढिलाईले दण्डहिनता मौलाउने र सुरक्षा चुनौती थपिने निश्चित छ। सबै घटनामा संलग्नमाथी ढाकछोप होइन छानविन गरि सरकारले कारवाही गरोस।`
साथै कर्णाली राजमार्गमा बढदो सवारी दुर्घटना, अनावश्यक चेक पोष्टबाट हुने हैरानी र रात्रीकालीन यातायात बन्द जस्ता विषयले नागरिकले सास्ती भोग्नु परेको छ। यस विषयमा सहज बनाउने काममा सुरक्षा प्रमुखले ध्यान दिन सुझाव दिए ।
कर्णालीका हिमाली तथा दुर्गम भेगमा सुरक्षाकर्मीका लागि न्यूनतम पनि पूर्वाधार छैन। आफै असुरक्षित हुदा सुरक्षाकर्मीले नागरिकको सुरक्षा कसरी गर्लान भन्दै प्रश्न गरे ।
कर्णालीमा लागू पर्दाथ दुर्वयसनको अवस्था दिनप्रतिदिन बढ्दो छ। लागू औषध नियन्त्रणमा सुरक्षाकर्मीले योजनासहित आफनो भूमिकालाई प्रभावकारी बनाउन अनुरोध गरे ।
सरकारी सेवा प्रवाह प्रति नागरिकको असन्तुष्टी बढदो छ। प्रमुख जिल्ला अधिकारीले जिल्लामा हुने सेवा प्रवाह, सुशासन र विकास निर्माणमा कागजी मात्र होइन व्यवहारिक रूपमा विशेष ध्यान दिन समेत आग्रह गरे ।



