जुम्ला । खाना पकाउने एलपी ग्यासको वितरण बजार क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै गाउँघरमा समेत सहज र समान रूपमा ग्यास उपलब्ध गराउन माग गरिएको छ।
गाउँमा बसोबास गर्ने नागरिकले पनि ग्यास प्रयोग गर्ने र त्यसको आवश्यकता उत्तिकै हुने भए पनि ग्यास आउँदा बजार केन्द्रित भएर मात्र वितरण हुने गरेको भन्दै स्थानीय केशव चौलागाईंले गुनासो गरेका छन्। गाउँघरमा ग्यासको पहुँच सहज नहुँदा नागरिक अझै पनि दाउरा र परम्परागत इन्धनमा निर्भर हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
चौलागाईंले गाउँमा वृद्धवृद्धा, अशक्त तथा दाउरा बोक्न नसक्ने आमाबुबा बस्ने भएकाले उनीहरूलाई समेत ध्यानमा राखेर ग्यास वितरणको व्यवस्था गर्नुपर्ने बताएका छन्। “के गाउँघरमा ग्यासको आवश्यकता पर्दैन? कि गाउँघरका मानिसले ग्यास प्रयोग गर्दैनन्? गाउँघरमा दाउरा बोक्न नसक्ने वृद्ध आमाबुबा बस्दैनन्? के गाउँघरका मानिसले खाना बनाएर खाँदैनन्?” भन्दै उनले प्रश्न गरेका छन्।
उनका अनुसार ग्यासको वितरण बजार क्षेत्रमा मात्र सीमित हुँदा गाउँका नागरिकले थप समस्या झेल्नुपरेको छ। बजारमा ग्यास सहज रूपमा उपलब्ध हुने तर गाउँमा पुग्न कठिन हुने अवस्थाले ग्रामीण क्षेत्रका नागरिकलाई विभेदमा परेको महसुस गराएको उनले बताएका छन्।
ग्यास वितरण प्रणालीलाई व्यवस्थित र समान बनाउन बजारसँगै ग्रामीण क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्ने चौलागाईंको माग छ। विशेषगरी ग्यासको आपूर्ति हुने समयमा स्थानीय तह तथा सम्बन्धित निकायले गाउँका उपभोक्तालाई समेत लक्षित गरी वितरणको व्यवस्था गर्नुपर्ने उनले बताएका छन्।
उनले ग्यास वितरणमा गाउँलाई समेत प्राथमिकता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सञ्चारमाध्यमले यस विषयलाई आवाजका रूपमा उठाउनुपर्ने बताएका छन्।




