मुगुका सडकमा बेवास्ता, मुख्यमन्त्री–मन्त्री मौन; सडक डिभिजनमाथि ‘सौतेनी व्यवहार

मुगु जिल्लाका दुई महत्त्वपूर्ण सडक खण्ड झ्यारी–गमगढी र गमगढी–छाइल अवरुद्ध भएको महिना दिन पुग्न लाग्दासमेत सडक खुलाउनेतर्फ प्रभावकारी पहल हुन नसकेको स्थानीयले गुनासो गरेका छन्।


वर्षातका कारण विभिन्न स्थानमा सडक भत्किएपछि यातायात सेवा ठप्प हुँदा स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामीलाई अस्पतालसम्म पुर्‍याउनसमेत समस्या भएको स्थानीयको भनाइ छ।


लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानीयले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाही, सामाजिक विकास मन्त्री जित बहादुर मल्ल र सङ्घीय सांसद खडक बहादुर शाहीप्रति आक्रोश व्यक्त गरेका छन्।


स्थानीयले प्रश्न गर्दै भनेका छन्, “हजुरहरूले सुन्नुभएन कि? देख्नुभएन कि? कि चासो नै दिनुभएन?” लामो समयदेखि सडक अवरुद्ध हुँदा पनि जनप्रतिनिधि र सरकार मौन बसेको उनीहरूको आरोप छ।


स्थानीयले सडक डिभिजन कार्यालय जुम्लाले मुगुप्रति सौतेनी व्यवहार गरेको आरोपसमेत लगाएका छन्। अन्य जिल्लाका सडकमा सामान्य अवरोध हुँदा समेत तत्काल डोजर तथा स्काभेटर परिचालन गरी सडक सञ्चालनमा ल्याउने गरिएको भए पनि मुगुका मुख्य सडक लामो समयदेखि अवरुद्ध हुँदा सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयको गुनासो छ।
“कि त सडक डिभिजन जुम्लाले मुगु जिल्ला आफ्नो कार्यक्षेत्रमा पर्दैन भनेर घोषणा गर्नुपर्‍यो, होइन भने मुगुवासीमाथिको यो चरम उपेक्षा कहिलेसम्म?” भन्दै स्थानीयले प्रश्न गरेका छन्।


मुख्य सडक नै लामो समयदेखि बन्द हुँदा जिल्लाको यातायात व्यवस्था प्रभावित हुनुका साथै सर्वसाधारण, बिरामी, विद्यार्थी तथा व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन्।


स्थानीयले वर्षातका कारण भत्किएका सडक खण्डमा तत्काल आवश्यक मेसिन तथा जनशक्ति परिचालन गरी सडक मर्मत गरेर यातायात सेवा सुचारु गर्न र सडक डिभिजन तथा सम्बन्धित निकायलाई जवाफदेही बनाउन सरकारसँग जोडदार माग गरेका छन्।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस