हिमाको कालिकाखेतु स्वास्थ्य चौकीको सेवा सुदृढीकरण गर्न प्रदेशले एक करोड दिने निर्णय

जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा गाउँपालिका स्थित कालिकाखेतु प्रथामिक स्वास्थ्य चौकीको सेवा सुदृढीकरणका लागि एक करोड दिने निर्णय गरेको छ । विहिबार बसेको 

कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद बैठकले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा रहेका एक/एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

जस अन्तर्गत जुम्लाको हिमा गाउँपालिका स्थित कालिका खेतु प्रथामिक स्वास्थ्य चौकीको सेवा सुदृढीकरणका लागि एक करोड  बजेट पालिकामै अख्तियारी दिने निर्णय गरेको सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले बताए ।

उनका अनुसार सुर्खेतको सालकोट अस्पतालको लागि पंचपुरी नगरपालिकालाई एक करोड,दुल्लु अस्पतालको लागि  दुल्लु नगरपालिकालाई एक करोड अख्तियारी दिने निर्णय भएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि ६० लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गरिने छ 

भने प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेत र ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय गरिएको छ ।

कालिकाखेतु स्वास्थ्य चौकीको सेवा सुदृढीकरणका लागि एक करोड बजेट दिने निर्णय भएपछि हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले प्रदेश सरकारलाई धन्यबाद व्यक्त गरेका छन् । 

अध्यक्ष शाहीले स्वास्थ्य चौकीको सेवा सुधारका लागि बजेट व्यवस्थापन गरिदिन माग गरेका थिए ।  माग अनुसार बजेट विनियोजन हुने निर्णय भएपछि स्वास्थ्य सेवा उल्लेखीय रुपमा सुधार हुने अपेक्षा व्यक्त गरे । 

प्रकाशित मिति : २०८२ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस