जुम्ला । कृषि, पर्यटन, जलविद्युत, भाषा साहित्य र सभ्यतासँंगै कर्णाली जडिबुटीको पनि प्रचुर सम्भावना बोकेको प्रदेश हो । कर्णाली प्रदेशका जुम्ला, डोल्पा, हुम्ला, मुगु र जाजरकोट जिल्ला जडिबुटीमा आत्मनिर्भर जिल्ला हुन् । यी जिल्लामा पाइने विभिन्न ७९ प्रकारका जडिबुटी कर्णाली प्रदेशले कच्चा पर्दाथका रूपमा बाहिर निर्यात गर्दै आएको छ ।
जसमध्ये यार्सा गुम्बा,घुच्ची च्याउ लगायत २२ प्रकारका जडिबुटी जुम्लाबाट निर्यात भइरहेका छन् । कर्णालीमा प्रशोधन उद्योग नहुँदा कर्णालीबाट ठुलो मात्रामा बहुमुल्य जडिबुटी कौडीको भाउमा निर्यात हुने गरेको हो ।
कर्णाली प्रदेशमै प्रशोधन उद्योग नहुँदा ज्यानको दाउ लगाएर संकलन गरिएको बहुमूल्य जडिबुटी सस्तोमा विक्री गर्नुपर्नेमा कर्णालीबासीको बाध्यता छ । कर्णाली समृद्धिको आधार जडिबुटीलाई मानिए पनि प्रशोधन, लेबलिङ प्याकेजिङमा सरकारले ध्यान नदिँदा बहुमूल्य जडिबुटीबाट कर्णालीले अपेक्षित लाभ लिन सकेको छैन् ।
विगत ६ वर्ष यताको तथ्यांकलाई हेर्दा जुम्लाबाट मात्रै एक हजार दुई सय ७७ टन जडिबुटि निर्यात भएको देखिन्छ । यति ठुलो परिणामा जडिबुटि निर्यात हुँदा कर्णालीमा अर्बको हिसाबले राजश्व उठ्नु पर्नेमा करोडमै सिमित भएको स्थिती छ । आर्थिक वर्ष २०७६÷०७७ देखी २०८२÷८३ को हाल सम्म ६ वर्षको अवधिमा १२ सय ७७ टन भन्दा बढी जडिबुटि जुम्लाले निर्यात गरेको तथ्यांकले देखाएको छ ।
जसमा चालु आर्थिक वर्ष २०८२÷८३ को हाल सम्मको ६ वर्षको सर्बभन्दा बढी ४०७ टन ७६९ क्वीईन्टल जडिबुटि निर्यात भएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले बताए । उनका अनुसार कर्णालीको जीवनबुटी मानिने यार्सा गुम्बा भने २१ किलो निर्यात भएको छ ।
भने, अत्तिस ४५० केजी,अमलबेद २५० केजी,कालादाना २०७० किलो,कुटकी ३६४ केजी, चुत्रो २२ हजार केजी,जटामासी २१ हजार केजी, तितेपाती ४ हजार केजी, ढटेलो २ सय केजी, निर्यात भएको छ । सबैभन्दा बढी धुतिपान २६८ टन निर्यात भएको छ ।
भने सुनपाती ५७ हजार केजी,वन लसुन ४५० केजी,सिलाजित ११ सय केजी,पदमचाल १२१० केजी सहित विभिन्न २५ प्ररकारका जडिबुटि निर्यात भएको प्रमुख बुढ्थापाले जानकारी दिए । उनका अनुसार यस आवमा ४०७ टन जडिबुटि निर्यातबाट ३८ लाख ५५ हजार ५६५ रुपैयाँ राजश्व संकलन भएको ।

कर्णालीबाट उत्तरमा चीन र दक्षिणमा भारत लगायतका देशमा जडिबुटि निर्यात भईहेको छ । यदपी व्यापारीहरुले केही रुपमा फाईदा उठाए पनि ज्यान दाउँमा राखेर जडिबुटी संकलन गर्ने किसानले भने उपयुक्त मुल्य पाउन सकेका छैनन् ।
कर्णालीको बहूमुल्य जडिबुटि यार्सा गुम्बा लगायत अन्य जडिबुटीको बजार भाउ मेहनत अनुसार सस्तो हुने गरेको किसानको गुनासो छ । संघीयतापछि तीन तहका सरकारले स्जडिबुटीको प्रशोधनमा त्यति चासो दिएका छैनन् ।
जुम्लाकै पातारासीमा स्थापना भएको जडिबुटी प्रशोधन उद्योगमा समेत वर्षौदेखी ताला लागेको छ । कर्णालीमा प्रशोधन नहुँदा व्यापारीले थोरै फाईदा खाएर अन्तराष्ट्यि बजारमा पूराउने गरेका छन् । जडिबुटीको संरक्षण, व्यवस्थित संकलन, उपयुक्त मूल्य र बजारीकरणमा राज्यले नीति निर्माण गरेको खण्डमा कर्णालीको आर्थिक समृद्धि र जीविकोपार्जनको जडिबुटीबाटै सम्भव छ ।

६ वर्षमा १२ सय ७७ टन जडिबुटी निर्यात
उचित मुल्य र सरकारको प्रोत्साहन बिना पनि कर्णाली प्रदेशको जुम्लाबाट उत्साह जनक रुपमा जडिबुटी संकलन तथा निर्यात हुदैँ आएको छ । जुम्लाबाट बितेको ६ वर्षमा आव २०७६÷७७ देखि आव ०८२÷८३ को हालसम्म १२ सय ७७ टन जडिबुटि निर्यात भएको छ ।
यो बीचमा आव २०८०÷०८१ को तथ्यांक छैन् । त्यो वर्ष जुम्लामा जडिबुटी संकलनको अनुमति दिइएको थिएन् । जसमा आर्थिक वर्ष २०८२÷८३ को हाल सम्म ४०७ टन जडिबुटि निर्यात हुँदा गत आर्थिक वर्ष २०८१÷८२ मा मात्रै ६७.७५ टन मात्रै जडिबुटि संकलन तथा निर्यात भएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख प्रमुख भरत बहादुर बुढ्थापाले बताए ।
त्यसैगरी आर्थिक वर्ष २०७६÷७७ मा १ सय ८५ टन ३७ क्वीईन्टल जडिबुटि निर्यात भएको थियो । भने आ.व ०७७÷७८ मा २ सय २ टन, आ.व.२०७८÷७९ मा भने १ टनले घटेर मा २ सय १ टन जुम्लाबाट राष्ट्यि तथा अन्तराष्ट्यि बजारमा निर्यात भएको थियो ।
भने आ.व. २०७९÷८० मा २ सय ९ टन १९ क्वीईन्टल जडिबुटी निर्यात भएको थियो । मुल्य एक रुपता नभएको, विक्री पछि किसानले कति आम्दानी गरे भन्ने एकिन तथ्यांक कतै नभएका कारण ६ वर्षमा १२ सय टन जडिबुटिबाट कति आम्दानी भित्रियो भन्ने एकिन तथ्यांक छैन् ।

३ करोड ३२ लाख राजश्व संकलन
जडिबुटी निर्यात तथा काठ लिलाम लगायत शिर्षकबाट वितेको साढे ६ वर्षमा ३ करोड ३२ लाख बढी राजश्व संकलन भएको छ । जसमा गत आर्थिक वर्ष २०८२÷८३ हालसम्म ३८ लाख ५५ हजार, राजश्व संकलन भएको छ ।
भने गत आर्थिक वर्ष २०८१÷८२ मा एक करोड ५८ लाख ५४ हजार राजश्व संकलन भएको थियो । त्यसैगरी आ.व २०७६÷७७ मा ३२ लाख ५ हजार, आव ०७७÷७८ मा २९ लाख ७४ हजार ४ सय ४० रुपैया राजश्व संकलन भएको थियो ।
त्यस्तै, आव ०७८÷७९ मा ३५ लाख ५८ हजार ८ सय ५० र आर्थिक वर्ष २०७९÷८० मा २ सय ९ टन जडिबुटि निर्यात बापत ४६ लाख ९६ हजार ९ सय ४३ रुपैया राजश्व संकलन भएको थियो ।



