सात समुन्द्र पारिबाट बुवालाई पत्र

प्रिय बुवा,

हजुरको लागि केही शब्द लेख्न खोज्दा पनि मन भारी हुन्छ,

आँखा रसाउँछन्।धेरै माया, सम्मान र सम्झना  परदेशको कठिनाइ सजिलो छैन, तर हजुरले सिकाउनु भएको धैर्यले हामीलाई अघि बढाइरहेछ।

आज उम्मेदवारी दर्ताको दिन छ, बुवा
मन भारी छ, किनकि हामी शारीरिक रूपमा तपाईं नजिक छैनौं।
तर तपाईंलाई थाहा छ!
हाम्रो सम्बन्ध दूरीले मापन हुँदैन।
मनदेखि मनसम्म हामी सधैं जोडिएका छौं।

यो हाम्रो परदेशी पीडा हो।

बुवा, तपाईंले आफ्नो जीवनको सबैभन्दा उर्जाशील, मूल्यवान र उत्पादनशील समय राजनीति र सामाजिक सेवामा समर्पण गर्नुभयो। आज तपाईं यही लामो संघर्ष र समर्पणको एउटा महत्वपूर्ण मोडमा उभिनु भएको छ।
मलाई पूर्ण विश्वास छ।
तपाईंको काम, इमानदारी र जमिनबाट उठेको नेतृत्व चिन्ने स्थानीय जनताले तपाईंलाई माया, विश्वास र साथ अवश्य दिनेछन्।

बुवा,
स्थायी र सुरक्षित जागिर त्यागेर
सानै उमेरदेखि राजनीति र सामाजिक सेवाको बाटो रोज्नु
सामान्य निर्णय थियन।
सहज जीवन छोडेर
विचार, सिद्धान्त र जनताको पक्षमा उभिनु
सबैले गर्न सक्दैनन्।
कुनै स्वार्थ बिना,
केवल विचारका लागि जीवन समर्पण गर्ने तपाईं
साँच्चै एक जीवित  (Legend) हुनुहुन्छ।

राजनीति यस्तो क्षेत्र हो, बुवा
जहाँ मान्छेले तपाईंका कमजोरी खोज्छन्,
तर तपाईंका त्याग, इमानदारी र संघर्षको कदर गर्न हिच्किचाउँछन्। तर तपाईं कहिल्यै विचलित हुनुभएन।
बाल्यकालदेखि नै तपाईं
कडा अनुशासनमा बाँधिनु भएको,
कसैबाट अपेक्षा नगर्ने, तर पार्टी र समुदायलाई जब–जब नेतृत्वको खाँचो पर्यो, त्यहीँ उभिने व्यक्ति हुनुहुन्थ्यो।
जब अरू कोही जिम्मेवारी लिन तयार थिएनन्।

बुवा , एक असल नेता त्यो हुँदैन
जसको दृष्टि केवल कल्पनामा सीमित हुन्छ।
असल नेता त्यो हो, जसले जमिन चिन्छ गाउँदेखि केन्द्रसम्म।
तपाईं त्यही नेता हुनुहुन्छ
जसले नीति कागजमा होइन,
जनताको दुःख, पसिना र संघर्षमा पढ्नुभयो।

म तपाईंलाई विचारमा अडिग,
सिद्धान्तमा स्पष्ट , र कहिल्यै हार नमान्ने नेता भनेर चिन्छु।
यस्तो नेता पाउन हामी गर्व गर्छौं।

हाम्रो बाल्यकाल सम्झिँदा
आज पनि मन भारी हुन्छ।
सँगै खाना खाने समय कमै थियो,
सँगै बस्ने क्षणहरू थोरै थिए।
तपाईं गाउँ–गाउँ, बस्ती–बस्ती
जनताको लागि दौडिरहनुहुन्थ्यो।
हाम्रो कोठाको भित्ताभरि कार्ल मार्क्स र मदन भण्डारीका तस्वीरहरू सम्झनामा अझै जीवितै छन।
त्यही वातावरण, त्यही विचारधारामा हामी हुर्कियौं।

मेरो स्वर्गीय uncle श्यामलाल महत
हामीलाई कम्युनिस्ट विचार र साम्यवाद बुझाउने व्यक्ति हुनुहुन्थ्यो। आज पनि उहाँको कोठा र ती दिनहरू
मनमा ताजै छन्।

२०५८ सालको घाउ समयसँगै पनि भरिन सकेन, बुवा
जुम्ला खलंगामा माओवादी द्वन्द्वको सबैभन्दा कठिन समय।
सबै नेताहरू सुरक्षित स्थानतिर लागिरहथे
तपाईंलाई पनि सुरक्षित ठाउँ जान हामी परिवार बाट दबाब दिइन्थ्यो, तपाईंको कठिन निर्णयको अगाडि हाम्रो केही चलेन।

त्यो दिनदेखि नै हजुरको निष्ठा र आत्मबलप्रतिको गहिरो छाप

आज पनि उस्तै ताजै छ, बुवा। म रुदा, तपाईंले भन्नुभएको त्यो वाक्यले अहिलेसम्म पनि मलाई आत्मबल दिन्छ।
“मैले केही गलत गरेको छैन।”
बुवा, त्यो क्षण तपाईंको साहस, आत्मबल र इमानदारीलाई
म शिर झुकाएर सलाम गर्छु।

आज हामी जहाँ छौं,
त्यो बाध्यता हो, सपना होइन।
तर यो यात्राको अन्त्य नेपालमै छ।
यहाँ सिकेको हरेक कुरा,
भोलि आफ्नै माटोमा योगदान गर्ने वाचा हो।

बुवा, यो समयको यथार्थ हो।

तर म विश्वस्त छु
तपाईं र mummy ले हामीलाई देखेर गर्व गर्नुहुन्छ।

बुवा, तपाईंको ऊर्जा युवावस्थादेखि आजसम्म उस्तै छ।
तपाईंको दृढ सोच, सधैं केही न केही गर्नुपर्छ भन्ने भावना,
र जिम्मेवारीबाट कहिल्यै नभाग्ने स्वभाव अत्यन्तै मूल्यवान छन्।

तपाईं यो उम्मेदवारीका लागि पूर्ण रूपमा योग्य हुनुहुन्छ।
यो केवल चुनाव होइन,  यो तपाईंको जीवन यात्राको स्वाभाविक निरन्तरता हो।

यस पत्रमार्फत
म मेरा प्रिय, सचेत र सभ्य जनतासँग
नम्र अपिल गर्न चाहन्छु
कृपया विवेकपूर्ण मतदान गर्नुहोस्।
सही मानिसलाई सही ठाउँमा पुर्‍याउने
यही ऐतिहासिक अवसर हो।

नयाँ अनुहारहरूले फरक प्रभाव पार्न सक्छन्,
तर जमिनसँग जोडिएको अनुभव र इमानदार नेतृत्व
समयको माग हो।
यसपटक फरक गरौं,
जुम्ला र कर्णालीको भविष्यका लागि।

अन्त्यमा,
म तपाईंका सबै प्रतिस्पर्धीहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु।
सबै आ–आफ्नो क्षेत्रका लागि योग्य हुनुहुन्छ।
जो जित्नुहुनेछ, जुम्ला र कर्णालीको भलो हुनेछ भन्नेमा
म पूर्ण विश्वस्त छु।

यो समय जित–हारको मात्र होइन,
यो समय हो, आफ्नो माटो, आफ्नो समाज
र भविष्यलाई अझ गहिरो रूपमा बुझ्ने समय हो।

सात समुद्र पारिबाट,
सधैं तपाईंको साथमा
तपाईंको छोरी 

निलम

प्रकाशित मिति : २०८२ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस