जुम्ला । हिमपातले अबरुद्ध रारा ताल जाने पर्यटकीय माग नाग्म–गमगडी सडक संचालनमा आएको छ । कर्णालीमा शुक्रबार राती देखी भएको हिमपातले अबरुद्ध भएको नाग्म–गमगडी सडक चार दिनपछि संचालनमा आएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर नाग्म गमगडी सडक खुलाएको छ । नाग्म गमगडी सडक खण्डको सातमाड क्षेत्रमा डेढ फिट भन्दा धेरै हिउँ जमेको थियो । जसले साना ठूला सवारीसाधन आवतजावतमा कठिनाइ थियो । मुगु हुदैँ सुर्खेत नेपालगन्ज जाने यात्रु तथा पर्यटकहरु रोकिएका थिए ।
सडक डिभिजन जुम्लाले डोजर प्रयोग गरेर हिँउ पन्छाएपछि सडक निर्वाध रुपमा संचालनमा आएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताए । भारी हिमपातले नाग्म–गमगडी सडकको झण्डै ३ किलोमिटर सडक ठप्प भएको थियो । उनले भने,‘सडक अबरुद्ध हुँदा दैनिक उपभोग्य सामानको पनि आयात रोकिएको थियो । भने दैनिक आवतजावत पनि ठप्प थियो । मौसममा सुधार आएपछि डोजरबाट हिउँ पन्छाएर अबरुद्ध खुलाइएको छ ।’

जिल्ला प्रशासन कार्यालय मुगुले जुम्लाबाट डोजर माग गरेर पहिरो पन्छाएको हो । पाटन क्षेत्रमा पर्ने उक्त सडक खण्डमा हरेक वर्ष हिमपात भएकी अबरुद्ध हुने गर्छ । सडक डिभिजन कार्यालयले माघ ११ गते आंशिक रुपमा सडक खुलेपछि १२ गतेदेखि पूर्ण रुपमा सडक खुलेको जानकारी दिएको छ । सडक यातायात खुलेसँगै सडक पूर्णरुपमा सुचारु भएको समेत सडक डिभिजन कार्यालयको भनाइ छ ।
यता यात्रुहरुले भने हिउँ पर्ने समय सम्मका लागि दुवै तर्फ डोजर तयारी अवस्थामा राख्न माग गरेका छन् । मौसमको अबस्थालाई मध्यनजर गरी नाग्म–गमगडी सडकमा जनशक्ति तथा डोजर अनिवार्य राख्न समेत अनुरोध गरेका छन् । यता सडक डिभिजनले यात्रुको मागलाई मध्यनजर गरी सम्भावित क्षेत्रमा आबश्यक तैथानी गरिएको बताएको छ ।



