६ अर्बको बहुवर्षिय गुरुयोजनाः बजेट अभावले २३ भवन निर्माण भएनन्

गुरुयोजना अन्तरर्गत प्रतिष्ठानको चेरे चौरमा निर्माण भएको भवन र डिपिआरको दृष्य । तस्बिर कर्णाली मिसन

जुम्ला । पश्चिम नेपालकै भरोसा केन्द्रका रुपमा स्थापित जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षिय गुरुयोजना अन्तर्गतका दर्जनौ भवन निर्माण अलपत्र परेका छन् । चन्दननाथ–३ चेरे चौरको ५ सय रोपनी जग्गा निर्माण हुने गरी ६ अर्ब २९ करोड लागतको डिपिआर तयार गरेपनि स्रोत अभावले भवन निर्माण अघि बढन सकेका छैनन् ।

बहुवर्षिय गुरु योजना अनुसार प्रतिष्ठानको अध्ययन,अनुसन्धान तथा सेवा क्षेत्रलाई विस्तारका लागि चेरेमा चौरमा २६ वटा विभिन्न फ्याकल्टीका भवन निर्माण गर्न ६ अर्ब २९ करोडको डिपिआर तयार गरिएको थियो । झण्डै ९ वर्षअघि तयार पारिएको डिपिआर बजेट अभावका कारण कार्यान्वयनमा आउन सकेको छैन् ।

चेरेमा १३ जना जग्गा दाताले ५ सय रोपनी जग्गा निःशुल्क दिएपछि बहुवर्षिय गुरुयोजना अन्तर्गत ६ अर्ब २९ करोडका भवन निर्माण गर्ने भनिएको थियो । तर बजेट अभावका कारण अहिले सम्म २३ वटा भवनहरु निर्माण हुने टुंगो छैन् ।यदपी ७६ करोड लगानीमा शैक्षिक प्रशासनिक तथा क्वाटर भवन र चेरे चौरमा बेसिक साईन्सको एउटा भवन निर्माण भएका छन् । शैक्षिक प्रशासनिक भवन संचालनमा आएपनि चेरेको भवन अन्तिम चरणमा रहेको छ । ७६ करो लागतका भवन रसुवा लामा क्षमा देवी जेभी कम्पन्नीले निर्माण गरिरहेको छ ।

सदरमुकामदेखि झण्डै ८ किलोमिटर दुरीमा रहेको चेरेचौरमा निर्माण हुने बहुवर्षिय गुरुयोजना अन्तर्गतका पूर्वाधारले जुम्लालाई ’हेल्थ टुरिजमझको केन्द्र बनाउने लक्ष्य लिईएको थियो । कर्णालीका १० सहित सुदुरपश्चिमका ३ जिल्ला गरी १३ जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा दिदै आएको प्रतिष्ठान भवन अभावले भाडाकै घरमा पठनपाठन गर्दै आएको छ । बहुमुखी क्याम्पसका भवन देखि अन्य ठाउँमा निकै सकसपूर्ण हिसावले शैक्षिक कार्यक्रम संचालन हुदैँ आएका छन् ।

डिपिआर अनुसार स्रोत जुटाई भवन निर्माणलाई अघि बढाउन प्रतिष्ठानका पदाधिकारी पहल गरेपनि सरकारले प्रथामिकता नदिँदा ६ अर्बको डिपिआर कागजमै सिमित भएको छ । कठिन भूगोल र सिमित स्रोत साधनका बीच गुणस्तरीय सेवा दिईरहेको प्रतिष्ठानलाई विशेष प्रथामिकता दिएर बजेट विनियोजन गर्नु पर्नेमा हरेक वर्ष सरकारले बजेटमा कर्णाली प्रतिष्ठानलाई उपेक्षा गर्दै आएको छ ।जसका कारण भवन निर्माण मात्रै अलपत्र परेका छैनन् । राज्यकै असयोगले प्रतिष्ठानले स्थापनाको डेढ दशकमा अपेक्षित फड्को मार्न सकेको छैन् ।

माघ २९ गते जुम्ला पुगेकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले कर्णाली प्रतिष्ठानका बहुवर्षिय गुरुयोजना अनुसारका पूर्वाधार बनाउन बजेट अभाव हुन नदिने बताईन् । साथै चेरे चौर पुग्ने सडक निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालय अनुरोध गर्ने उल्लेख गरिन् ।

बजेट अभावले कर्णाली प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधार नरोकिने भन्दै आगामी बजेट विशेष प्रथामिकता दिने आश्वासन दिईन् । यदपी वर्षौदेखि अलपत्र भवन निर्माण कार्यले छिट्टै बन्ने संभावना भने न्युन छ । फागुन २१ गतेपछि बन्ने सरकारले कर्णालीलाई कसरी हेर्छ, प्रथामिकता दिन्छ दिदैन् भन्ने कुराले निर्धारण गर्ने छ ।

डिपिआरमा ३ वटा शैक्षिक भवन, खेल मैदान, सुविधायुक्त पुस्तकालय भवन, मेस भवन, सेमिननार हल, प्रशासनिक भवन लगायतका २३ वटा भवन चेरेमा निर्माण हुने डिपिआर रहेको प्रतिष्ठानका रजिष्टार लक्ष्मीचन्द्र महतले बताए । जुम्ला मन्त्री आउँदा भवन बनाउने प्रतिबद्वता गरेपनि भौतिक मन्त्रालयले कोटेसाँघुदेखि चेरे पुग्ने ६ किमी सडक निर्माण तत्कालै अघि बढाउने प्रक्रिया सुरु भएको उल्लेख गरे ।

‘मन्त्रीले आश्वासन दिएपनि भवन निर्माणका लागि अहिलेनै बजेट आउने स्थिती छैन्,’उनले भने,‘अब फागुन २१ गतेपछि बन्ने सरकारले कर्णालीको आबश्यकता महसुश गरेमा बन्न सक्छ । त्यसमा हाम्रो पहल निरन्तर रहन्छ । भवनको आबश्यकता र महत्वबारे औचित्य सहितको कार्ययोजना पेश गरी डिपिआर अनुसारको बजेट माग गर्छौ ।’

प्रतिष्ठानमा अहिले एमबीबीएस, एमडी,बी फार्मा,विएनएस लगायतका एक दर्जन बढी शैक्षिक कार्यक्रम संचालित छन् भने, करिब ५ सय बढी शिक्षक,कर्मचारी कार्यरत छन् । पूर्वाधार अभावले शिक्षकहरुलाई भाडाका घरका बस्न बाध्य छन् । देशभका विभिन्न जिल्लाबाट आएका विद्र्याथी पनि भाडाकै घरमा बसिरहेका छन् ।

यता फागुन २१ गतेको निर्वाचन नजिकीदै गर्दा चेरेको भवन निर्माणदेखी प्रतिष्ठानको स्तरोन्नतिको विषयमा कुनै दलले चासो दिएका छैनन् । कर्णालीकै गौरवको विषय बनेको प्रतिष्ठानका समस्या समधानमा दलहरुको चासो नजानु, राज्यले सधै उपेक्षा गर्नु लगायतका कारणले प्रतिष्ठानले अपेक्षित फड्को मार्न सकेको छैन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस