सांसद नदो¥याउने जुम्लाको इतिहास ब्रेक, दोस्रो पटक निर्वाचित भए ज्ञानेन्द्र शाही

जुम्ला – प्रतिनिधि सभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही दोस्रो पटक निर्वाचित भएका छन् । उनले १४ हजार ८१६ मत प्राप्त गरी दोस्रो पटक निर्वाचित भएका हुन् । संगठन विहीन राप्रपा उम्मेदवार शाही दोस्रो पटक पनि विजयी भएका छन् । खास गरी अघिल्लो पटक निर्वाचित हुदा राप्रपाको जुम्लामा ५५० मत संगठनको रहेको भन्ने गरिन्थ्यो । उनले ३ हजार १८१ मतान्तर गरेका छन् । उनका प्रतिद्धोन्दी नेकपाका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरी पराजित भएका छन् ।


यस्तै काग्रेसका उम्मेदवार दिपबहादुर शाहीले ७ हजार १४३ मत र एमाले उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८ मत प्राप्त गरेका छन् । देशभरबाट निर्वाचित हुर्दै गरेको रास्वापाका उम्मेदवार विनिता कठायतले भने जुम्लामा ४२१ मत प्राप्त गरेकी छन् । उनले आफ्नो धरौटी पनि फिर्ता ल्याउन सकिनन् । नेमकिपाका उम्मेदवार विर्खबहादुर रावतले ४ सय मत प्राप्त गरेका छन् । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो । तर, यहाँ ७१ हजार ७३९ जना मतदाता रहेका छन् । ३० हजार ८४१ मत खसेन ।
जुम्लाको २०४८ सालदेखि यताको इतिहास हेर्ने भने संसदिय निर्वाचनमा दोहोरिएर निर्वाचित भएको कुनै राजनितिज्ञ छैनन् । शाहीले भने जुम्लाबाट दोस्रो पटक निर्वाचित भएर इतिहासको क्रमभंगता गरेका छन् । यसअघि २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा २२ हजार ८१९ मत प्राप्त गरी विजयी भएका थिए ।


०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत निर्वाचित भए । ०५१ सालमा नेमकिपाले नै उम्मेदवार फेर्दै भक्तबहादुर रोकायालाई अघि सा¥यो । रोकाया निर्वाचित हुँदा एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा सीमित रहेको थियो ।
०५६ सालमा एमालेका देवीलाल थापा निर्वाचित भए । त्यसपछिका निर्वाचनमा माओवादी प्रमुख राजनीतिक शक्तिका रूपमा आयो । ०६४ सालको संविधान सभा निर्वाचनमा माओवादीका नरेश भण्डारी निर्वाचित भए । ०७० को निर्वाचनमा कांग्रेसका ललितजंग शाही निर्वाचित हुँदा प्रतिस्पर्धी माओवादीका गजेन्द्र महत पराजित भए । ०७४ को निर्वाचनमा भने माओवादीका महत निर्वाचित भए । उक्त चुनावमा एमाले माओवादीबिच गठबन्धन थियो ।
०७९ को प्रतिनिधि सभा चुनावमा भने कांग्रेस माओवादीबिच गठबन्धन हुँदा पनि राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले चुनाव जितेका थिए । यसरी हेर्दा जुम्ला अहिलेसम्म प्रतिनिधि सभातर्फ कुनै पनि सांसदलाई दोहो¥याएर निर्वाचित गराएको देखिदैन ।
नेकपाबाट उम्मेदवार बनेका भण्डारी ०६४ मा निर्वाचित भएका थिए । उनकै पहलमा ‘विकासको जुम्ला मोडल’ स्थापना भएको चर्चा हुने गरेको छ । कर्णालीलाई ‘चाँदीको घेरा’ नामक पुस्तकमा चर्चा गरेका भण्डारी यसअघि गुमेको माओवादीको साख जोगाउने उद्देश्यसहित चुनावी मैदानमा होमिए पनि पराजित व्योहोर्नु प¥यो । ०७४ मा कर्णाली प्रदेशमा निर्वाचित भएका भण्डारी कर्णालीको कानुनमन्त्री समेत बने । भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चुकेनी जलविद्युत् जस्ता ठुला परियोजना आफ्नै परिकल्पनामा बनेको भन्दै जनताले त्यसको श्रेयसहित आफूलाई जिताउने दाबी गरेपनि पराजित भए ।

यहाँ सांगठनिक रूपमा सबैभन्दा बलियो राजनीतिक दल माओवादी (हाल नेकपा) हो, तर ०७९ को जनमत हेर्दा एमाले पहिलो दल हो । ०७९ मा समानुपातिकतर्फ एमालेले १० हजार ५४८ मत ल्याउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले १० हजार ४५८ र माओवादीले ८ हजार ९६० मत पाएको छ ।
प्रत्यक्षमा राप्रपाका ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मत पाउँदा समानुपातिक तर्फ उनको पार्टी राप्रपाले ५ हजार ७९६ मात्र पायो । हाल नेकपामा समाहित दल एकीकृत समाजवादीले २ हजार ६४८, नेमकिपाले २ हजार ७३ र रास्वपाले झन्डै ९ सय मत पाएको थियो । प्रत्यक्षतर्फ राप्रपा पहिलो हुँदा दोस्रोमा माओवादीका गोमा गौतम कुवँरले ११ हजार ९५९ र एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाएका थिए ।
निर्वाचित शाहीको राजनीतिक यात्रा
सिंजा गाउँपालिका – ३ पिंगी गाउँमा जन्मिएका ज्ञानेन्द्र शाही युवा राजनीतिज्ञ हुन् । उनी सानैदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय थिए । विशेष गरी भ्रष्टाचारविरुद्ध आवाज उठाउने अभियानका कारण उनी सामाजिक सञ्जाल र सार्वजनिक बहसमा चर्चित बने । सन् २०२२ मा उनले राप्रपामा प्रवेश गरेका थिए । सोही वर्ष पार्टीको केन्द्रीय सदस्य तथा प्रवक्ता बने । २०७९ सालको प्रतिनिधि सभामा जुम्लाबाट २२ हजार ८१९ मत ल्याएर प्रतिद्वन्द्वी उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै संसदमा निर्वाचित भए ।

भ्रष्टाचारविरुद्ध कडा अभियान, स्थानीय उत्पादन (जस्तै जुम्लाको स्याउ) प्रवद्र्धन, हिन्दु राष्ट्रको बहस, संघीयताको पुनरावलोकन गर्नुपर्ने धारणा शाहीका मुख्य विचार र राजनितिक मुद्दा हुन् । शाही कर्णाली प्रदेशबाट उदाएका युवा राजनीतिज्ञ हुन् । जसले भ्रष्टाचारविरुद्ध अभियान र आक्रामक राजनीतिक अभिव्यक्तिका कारण लोकप्रियता हासिल गरेका छन् ।


कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा जन्मिएका शाही पिछडिएको क्षेत्रमध्ये एक भएकाले उनले बाल्यकालदेखि नै विकासको अभाव, गरिबी, बेरोजगारी र सरकारी बेवास्ता नजिकबाट देखेका थिए । यिनै अनुभवहरूले उनलाई पछि सामाजिक र राजनीतिक अभियानमा सक्रिय हुन प्रेरित गरेको मानिन्छ । उनको परिवार सामान्य आर्थिक पृष्ठभूमिको रहेको पाईन्छ ।
उनले आफ्नो प्रारम्भिक शिक्षा जुम्लामा नै प्राप्त गरेका थिए । पछि उच्च शिक्षा अध्ययनका लागि उनी राजधानी काठमाडौं गएका थिए । यद्यपि उनको शैक्षिक विवरण सार्वजनिक रूपमा धेरै विस्तृत रूपमा उपलब्ध छैन । तर विद्यार्थी अवस्थादेखि नै उनी सामाजिक गतिविधि र सार्वजनिक बहसमा सक्रिय थिए । उनी राजनीतिमा औपचारिक रूपमा प्रवेश गर्नु अघि सामाजिक अभियन्ताका रूपमा चर्चित भएका थिए ।

अभियानका क्रममा “नेपालका भ्रष्टाचार विरुद्ध” अभियानमा सक्रिय थिए । सरकारी निकाय, ठेकेदार र प्रशासनमा हुने भ्रष्टाचारविरुद्ध उनले सार्वजनिक रूपमा आवाज उठाउने गरेका थिए । उनले धेरै पटक सार्वजनिक स्थानमा सरकारी कार्यालयको लापरवाहीबारे भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका थिए ।
जनसमस्याको आवाज, कर्णालीको विकास, सडक र स्वास्थ्य सेवा, स्थानीय उत्पादनको बजार जस्ता यी विषयलाई उनले लगातार उठाउँदै आएका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस