जुम्ला- सरकारले नियमित चारपटक गर्भ जाँच र स्वास्थ्य संस्था तथा अस्पतालमा प्रसूति गराउने नीति लिए पनि दुर्गम क्षेत्रमा अझै घरमै प्रसूति गराउने गरिन्छ । घरमै जोखिमपूर्ण रूपमा प्रसूति गराउन खोज्ने र विकल्पविहीन अवस्थामा मात्र अस्पताल पुर्याउने गरिएको छ । जसकारण सुत्केरीले ज्यानसमेत गुमाउने गरेका छन् ।
पछिल्लो उदाहरण तिला गाउँपालिका– ३, कुडारी गाउँकी १८ वर्षीया अस्मिता नेपाली हुन् । बेथाले च्याप्दा उनलाई अस्पताल नलगी घरमै प्रसूति गराउन खोजियो, धामीझाँक्रीलाई देखाइयो । तैपनि लामो समयसम्म प्रसूति हुन नसकेपछि अस्मितालाई २५ फागुनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइयो । शिक्षण अस्पतालका चिकित्सकले सिजर गरेर प्रसूति गराए । तर, उच्च रक्तचापका कारण स्वास्थ्य अवस्था झन बिग्रिएपछि बिहीबार मात्र नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लगियो । त्यहाँ बिहीबार राति १ बजे उनको ज्यान गएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका डा. नवीनकुमार मण्डलका अनुसार अस्मितालाई अस्पताल ल्याउँदा स्वास्थ्य अवस्था गम्भीर थियो । ‘हामीले शल्यक्रिया गरेर शिशु निकाल्यौँ । तर, उच्च रक्तचापले कलेजो र पित्तथैलीमा असर गरिसकेको रहेछ, आइसियूमा राखेर उपचार गर्दा पनि सुधार नभएपछि सुर्खेत रेफर गरेका थियौँ,’ उनले भने, ‘सुर्खेतमा उपचारका क्रममा ज्यान गएको खबर छ ।’ शिशुको अवस्था भने सामान्य रहेको उनले बताए ।
डा. मण्डलका अनुसार अझै पनि घरमै प्रसूति गराउन खोज्ने र धामीझाँक्री वा झारफुकको सहारा लिने प्रवृत्ति गाउँघरमा छ । ‘गर्भवतीको नियमित स्वास्थ्य परीक्षण गराउनु र चिकित्सकको निगरानीमा रहनु सुरक्षित मातृत्वका लागि महत्वपूर्ण मानिन्छ,’ उनले भने, ‘स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका अगुवाले मिलेर जनचेतना फैलाउन सके परम्परागत विश्वासका कारण हुने उपचार ढिलाइ कम गर्न सकिन्छ ।’
गत वर्ष माघमा मात्र तातोपानी गाउँपालिका– १, बाँइराकाकी ३० वर्षीया सुत्केरी मुगा शाही र नवजात शिशुको मृत्यु भएको थियो । सुरुमा धामीझाँक्रीबाट झारफुक गराइएको थियो । तर, स्वास्थ्य अवस्था बिग्रेपछि मात्र शिक्षण अस्पताल लगिएको थियो ।
जनस्वास्थ्य कार्यालय जुम्लाकी नर्स टीका पुनमगरका अनुसार चालू आर्थिक वर्ष ०८२/८३ मा दुई सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिकाका दुईजना सुत्केरीको मृत्यु भएको हो । यस्तै गत आर्थिक वर्षमा तीन सुत्केरीको मृत्यु भएको थियो । पातारासीकी एक, सिँजाकी एक र तातोपानीकी एक गरी तीनजना सुत्केरीको मृत्यु भएको थियो ।
सन् २०३० सम्म मातृ मृत्युदर प्रतिलाख ७० मा झार्ने लक्ष्य
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा मातृ मृत्युदर प्रतिलाखमा १५१ छ । । दिगो विकासको लक्ष्यअनुरूप सन् २०३० सम्म मातृ मृत्युदरलाई प्रतिलाख ७० मा झार्ने लक्ष्य लिइएको छ ।
स्वास्थ्य मन्त्रालयको नेपाल मातृ मृत्यु अध्ययन प्रतिवेदन, २०७८ अनुसार सुत्केरी अवस्थामा हुने उच्च रक्तस्रावबाट २७ प्रतिशत, रिँगटा लाग्ने, काम्ने र बेहोस हुने समस्याले १२ प्रतिशत सुत्केरी तथा गर्भवती महिलाको मृत्यु भएको छ । त्यस्तै, उच्च रक्तचापले १२ प्रतिशत सुत्केरी तथा गर्भवतीले ज्यान गुमाउने गरेका छन् भने गर्भावस्थामा हुने विभिन्न संक्रमणबाट सात प्रतिशतको ज्यान जान्छ ।
राष्ट्रिय जनगणना, २०७८ का अनुसार सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउनेमध्ये ४३ प्रतिशतले अस्पताल ढिलो पुर्याएका कारण मृत्युवरण गर्नुपरेको छ । गर्भपतनदेखि बच्चा जन्माइसकेपछि हुने उच्च रक्तस्राव, संक्रमण, उच्च रक्तचाप, गर्भपतन आदिका कारण गर्भवती र सुत्केरीको ज्यान जाने गरेको छ ।



